बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रशासन

प्रमुख प्रशासकीय अधिकृत पठाउन सरकार आक्रामक, अटेर गर्ने कर्मचारी राजीनामा दिन थाले

मन्त्री रावल भन्छिन्, ‘जनताको सेवामा सम्झौता हुँदैन’
बिहीबार, १० वैशाख २०८३, ११ : ३०
बिहीबार, १० वैशाख २०८३

सारांश

  • सङ्घीय सरकारले देशभरका स्थानीय तहमा दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत खटाउने कार्यलाई तीव्रता दिएको छ।
  • सुगम क्षेत्र छाडेर दुर्गममा जान नमान्ने केही कर्मचारीले पदबाट राजीनामा दिन थालेका छन्।
  • सरकारले जनताको सेवा प्रवाहमा अवरोध नगर्न र खटाइएको ठाउँमा अनिवार्य जान कर्मचारीलाई कडा निर्देशन दिएको छ।

काठमाडौँ । सङ्घीय सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापनको विषयलाई आक्रामक रूपमा अघि बढाएको छ । लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चल्दै आएका स्थानीय तहहरूमा दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत खटाउने कार्यलाई सरकारले तीव्रता दिएसँगै प्रशासनिक वृत्तमा तरङ्ग उत्पन्न भएको छ ।

सरकारले सुगममा रमाइरहेका कर्मचारीलाई दुर्गम पठाउन थालेपछि कतिपयले पदबाटै राजीनामा दिन थालेको मन्त्रालयले जनाएको छ । वर्तमान सरकार गठन हुँदासम्म मुलुकको स्थानीय प्रशासनको अवस्था निकै दयनीय थियो । चैत १० गतेसम्मको तथ्याङ्क अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये झन्डै एक चौथाइ अर्थात् १७४ वटा पालिका प्रमुख प्रशासकीय अधिकृत विहीन थिए । निमित्तको भरमा चल्दा स्थानीय तहको नीतिगत निर्णय र ठुला आयोजनाहरूको कार्यान्वयन ठप्पजस्तै थियो ।

विशेष गरी ११ वटा उपमहानगरपालिकामध्ये ६ वटा प्रशासनिक नेतृत्वविहीन थिए भने २७६ नगरपालिकामध्ये ९० वटा (३३ प्रतिशत) मा उपसचिव तहका प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त थियो । त्यस्तै, ४६० गाउँपालिकामध्ये ७८ वटामा शाखा अधिकृतको दरबन्दी रिक्त रहेको अवस्था थियो ।

२७६ वटा नगरपालिकामध्ये हाल ११ वटामा मात्रै प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । ती स्थानमा यसै साताभित्र कर्मचारी पठाइसक्ने गरी मन्त्रालयले गृहकार्य गरिरहेको छ । ४६० वटा गाउँपालिकामध्ये बाजुराको गौमुल गाउँपालिकामा मात्र प्रशासकीय अधिकृत रिक्त देखिएको छ ।

कतिपय गाउँपालिकामा कर्मचारी नपुगेको गुनासो सुनिए पनि मन्त्रालयले निर्णय गरिसकेको र कर्मचारीहरू बाटोमा रहेको मन्त्रालयको भनाइ छ । कानुनले हाजिर हुनका लागि २१ दिनको समय दिने भएकाले कर्मचारी पुग्न केही ढिलाइ भएको हुनसक्ने मन्त्रालयले जनाएको छ । हाल १३ वटा पालिकामा मात्रै प्रशासकीय अधिकृत रिक्त छन् । मन्त्रालयले ७४० वटा पालिकामा दरबन्दी अनुसारकै कर्मचारी पुर्‍याएर ‘निमित्त’ प्रथा अन्त्य गर्ने अभियानलाई सफलताको नजिक पुर्‍याएको छ ।

  • सुगम मोहले राजीनामा

मन्त्रालयले लामो समयदेखि काठमाडौँ उपत्यका र सुगम क्षेत्रमा बसिरहेका तथा स्थानीय तहमा जान नमानेका कर्मचारीलाई प्राथमिकतामा राखेर सरुवा गर्न थालेपछि असन्तुष्टि चुलिएको छ । यही असन्तुष्टिका कारण केही उच्च तहका कर्मचारीले राजीनामा दिन थालेका छन् ।

राजीनामा दिनेहरूमा गृह मन्त्रालयले डोल्पाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बाट पाँचथरको सहायक प्रजिअमा सरुवा गरेका उपसचिव भीम कोइराला पनि छन् । उनले आफ्नो पदको गरिमा घटेको महसुस गर्दै राजीनामा दिएका हुन् ।

यस्तै सिंहदरबारको आरामदायी पोस्टिङ छाडेर अछामको मल्लेख गाउँपालिका जानुपर्ने भएपछि शाखा अधिकृत गणेश घिमिरेले पनि राजीनामा बुझाएको मन्त्रालय स्रोतले जनायो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत चुणामणि केसीलाई सल्यानको कुमाख गाउँपालिकामा सरुवा गरिएपछि राजीनामा दिएका छन् । यस्तै, दार्चुलाको व्यास गाउँपालिकामा सरुवा गरिएका हरि पौडेलले पनि व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका छन् । नुवाकोटको तारकेश्वर गाउँपालिकामा सरुवा गरिएका शाखा अधिकृत शेखरनिधि पौड्यालले पनि दुर्गममा सेवा गर्न जानुभन्दा पद त्याग गर्नु उचित ठानेका छन् । यद्यपि मन्त्रालयले यी राजीनामाबारे आधिकारिक जानकारी प्राप्त भइनसकेको तर अनौपचारिक जानकारी भएको जनाएको छ ।

  • वीरगन्ज महानगरपालिकाको खाता रोक्का

कर्मचारी खटाउने क्रममा वीरगन्ज महानगरपालिकामा भने अनौठो र जटिल समस्या देखिएको छ । मन्त्रालयले दरबन्दी अनुसार सहसचिव तहको प्रमुख प्रशासकीय अधिकृत पठाए पनि त्यहाँका मेयरले उनलाई हाजिर गराउन मानेका छैनन् । परिणमस्वरुप मन्त्रालयले वीरगन्ज महानगरपालिकाको खाता सञ्चालनमा रोक लगाएको छ । दरबन्दी अनुसारका कर्मचारीलाई हाजिर गराएर उनकै हस्ताक्षरबाट आर्थिक कारोबार अघि बढाउन मन्त्रालयले महानगरलाई पत्राचार गरेको छ ।

  • सरकारको नीतिः नयाँलाई अनिवार्य स्थानीय तह

मन्त्रालयले कर्मचारी व्यवस्थापनका लागि केही महत्त्वपूर्ण नीतिगत परिवर्तन समेत गरेको छ । अब नयाँ बढुवा भएर आउने कर्मचारीलाई पहिलो पोस्टिङ अनिवार्य रूपमा स्थानीय तहमै गर्ने नीति लिइएको छ । लामो समयदेखि काठमाडौँ उपत्यकाभित्र र सुगम स्थानमा मात्र बसिरहेका तथा स्थानीय तहमा जान नमानेका कर्मचारीलाई प्राथमिकतामा राखेर खटाउने मन्त्रालयको नीति छ ।

तर, मानवीय पक्षलाई ध्यान दिँदै अनिवार्य अवकाश हुन एक वर्षमात्र बाँकी रहेका कर्मचारीलाई भने उनीहरूको इच्छा विपरीत स्थानीय तहमा नखटाइने मन्त्रालयको भनाइ छ । मन्त्रालयले क्यान्सर, मिर्गौला जस्ता जटिल रोग लागेका वा विशेष अदालतमा मुद्दा खेपिरहेका बाहेक अन्य सबै सक्षम कर्मचारीलाई पालैपालो स्थानीय तहमा खटाउने ‘रोटेसन’ प्रणाली लागु गर्न खोजेको मन्त्रालयको एक सहसचिवले बताए ।

कतिपय अवस्थामा निमित्त कर्मचारीको ठाउँमा नयाँ कर्मचारी जाँदा आर्थिक र प्रशासनिक अधिकार हस्तान्तरणमा ५ देखि १० दिनको समय लाग्ने भएकाले केहीबेर काम प्रभावित भएको देखिए पनि दीर्घकालीन रूपमा यसले सुशासनमा मद्दत पुग्ने मन्त्रालयको विश्वास छ । ‘२१ दिनसम्म हाजिर हुन पाउने कानुनी प्रावधान छ । यसले गर्दा कहीँ न कहीँ खाली भइहेको देखिन्छ, तर यो लामो समय रहँदैन,’ मन्त्रालयका एक कर्मचारीले भने ।

  • मन्त्रीको चेतावनी : जनताको सेवामा सम्झौता हुँदैन

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरुवा र काजमा खटाइएको ठाउँमा जान आनाकानी गर्ने कर्मचारीप्रति शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पारेकी छन् । उनले सरकारले खटाएको ठाउँमा जान्न भन्ने छुट कसैलाई नभएको बताउँदै त्यस्ता कर्मचारीलाई ‘मार्ग प्रशस्त’ गर्न चेतावनी दिएकी छन् ।

‘जनतालाई सहज सेवा दिन सरकार जुनसुकै चुनौती सामना गर्न तयार छ,’ मन्त्री रावलले भनिन्, ‘कर्मचारी राज्यको सेवक हो, त्यसैले सरकारले जहाँ आवश्यक देख्छ, त्यहाँ जानुपर्छ । यदि कसैलाई जान मन छैन भने उहाँहरूले मार्ग प्रशस्त गर्नुपर्छ, उहाँको ठाउँमा अर्को योग्य व्यक्ति आउँछ ।’

मन्त्रालयका एक सहसचिवका अनुसार मन्त्रीको कडा निर्देशन र मन्त्रालयको सक्रियताले अबको केही समयभित्रै ७५३ वटै स्थानीय तहले दरबन्दी अनुसारका नेतृत्व पाउने छन् । यसबाट स्थानीय सरकारको कार्यसम्पादनमा सुधार आउने विश्वास लिइएको उनको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत धमाधम खटाइएको विषयमा स्थानीय तह भने उत्साहित देखिन्छन् । लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत खाली हुँदा स्थानीय तहले आर्थिक र प्रशासनिक समस्या भोग्दै आएका थिए । सरकारले यसलाई प्राथमिकता दिएकोमा गाउँपालिका राष्ट्रिय महासङ्घ र नेपाल नगरपालिका सङ्घले प्रशंसा गरेका छन् । स्थानीय तहमा अब लेखा अधिकृतको विषयमा पनि यसैगरी सङ्घले ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप