डोजर चल्ने खबरले खुसी छन् वास्तविक सुकुमबासी
सारांश
- थापाथली सुकुमबासी बस्ती खाली गर्ने सरकारी निर्णयपछि त्यहाँका वास्तविक बासिन्दाहरूमा उचित व्यवस्थापन हुने आशा पलाएको छ।
- बस्तीमा भइरहेको आन्दोलनमा सुकुमबासी भन्दा पनि बाहिरी अभियन्ताहरूको भिड बढी देखिएको छ।
- बस्तीका स्थानीयहरूले सरकारले वास्तविक सुकुमबासी र हुकुमबासीको पहिचान गरेर उचित व्यवस्थापन गर्नुपर्ने माग राखेका छन्।
काठमाडौँ । शुक्रबार मध्याह्न थापाथली सुकुमबासी बस्ती पुग्दा दृश्य अर्कै देखिन्थ्यो । विभिन्न समूहहरूले चर्को घाममा चर्को नाराबाजी गरे । बालेन शाह सरकारविरूद्ध नारा लगाउनेहरू कोही जेनजीका समूह, कोही विभिन्न सङ्घ संस्थामा आबद्ध व्यक्तिहरू थिए । हातमा प्ले कार्ड बोकेर सरकारविरुद्ध लामै समय नाराबाजी गर्ने समूहलाई क्यामेराको हुलले घेरिहाल्यो।
तर, नारा लगाउने त्यो भीडमा खास सुकुमबासीहरू भने थिएनन् । आफूलाई ‘अभियन्ता’ भनेर चिनाउनेहरू बढी देखिन्थे । बरु थापाथली सुकुमबासी बस्तीमा लामो समयदेखि बस्दै आएका व्यक्तिहरूमा खासै बोल्ने, अन्तरवार्ता दिने जाँगर थिएन । कुराकानीका लागि प्रस्ताव राख्दा उल्टै तर्केर हिँड्थे।
मध्याह्न केही जेनजी, भाइरल अभियन्ता, राजनीतिकर्मीहरूको भिड बढ्दै गयो । थापाथली सुकुमबासी बस्तीमा उनीहरू सुकुमबासीहरूको समस्या समाधान भन्दा बढी मिडियामा छाउन र भाइरल बन्न आए जस्ता देखिन्थे । हातमा प्ले कार्ड बोकेका, हरेक आन्दोलनमा गइरहने, विरोध गरिरहने अनुहारहरू यता पनि देखिए । राजधानी केन्द्रित युट्युबरहरूले ती व्यक्तिहरूलाई निकै बेर पछ्याए । जो सुकुमबासी थिएनन्, उनीहरूकै आवाज लामो समय क्यामेरामा कैद गरिए।
सुकुमबासी बस्तीमा बस्दै आएका केही अगुवाहरू राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय घेर्न हिँडे । कतिले टहराबाट धमाधम सामान निकाल्दै निजी गाडीमा लोड गरे । बिहीबार साँझ प्रहरीले बस्ती खाली गर्न माइकिङ गरेपछि सुकुमबासी बस्तीमा एक प्रकारको अन्यौलता र त्रास छाएको थियो।
शुक्रबार बिहानैदेखि टहराको सामान निजी गाडीमा लोड गरेर कतिपयले अन्यत्रै सारिसकेका थिए । ११ बजेपछि सामान लोड गरिएका गाडीहरू यत्रतत्र देखिन्थे । फेरी टहरामै बस्न पाइन्छ कि भन्ने आशले लोड गरिसकेका गाडीहरूलाई सुकुमबासी अगुवाहरूले बाहिर जानै दिएनन् । निजी गाडीका सवारी चालकहरू टहरा बाहिर बस्नु पर्दा दिक्क मुडमा थिए । ‘गाडीमा सामान लोड गरेको तीन घण्टा भइसक्यो । बाहिर जानै दिएनन् ।’ चालक मनोज साहले भने, ‘आज त व्यापार नै भएन । अब गाडी खाली गरेर निस्किन्छु।’

सरकारले बस्ती खाली गर्ने आदेश दिएपछि सुकुमबासीहरूमा आक्रोश, अन्यौलता, निराशा र छट्पटी देखिन्थ्यो । सबैभन्दा पीडामा थिए, अपाङ्ग, गर्भवती महिला, बिरामी व्यक्तिहरू । २४ वर्षदेखि थापाथली बस्दै आएकी सरिता राई खिन्न देखिन्थिन् । ‘हिजोदेखि खाना खाएको छैन, सुतेको छैन । आमा प्यारालाइसिसको बिरामी हुनुहुन्छ ।’ राईले भनिन्, ‘कोठा खोज्न जाँदा सुकुमबासी भनेपछि दिएनन् ।’ सुकुमबासीले मोबाइल बोक्दा, सुन लगाउँदा, राम्रो लुगा लगाउँदा आलोचित हुनु परेकोमा उनले गुनासो गरिन्।
सरकारको सही सूचना समयमै नपुग्दा सिङ्गो सुकुमबासी बस्तीमा अन्यौलता छाएको थियो । भीडमा पसेर सुन्दा को सक्कली, को नक्कली सुकुमबासी छुट्ट्याउन गाह्राे थियो । बरु घर–घर चहारेर कोट्याउँदा यथार्थ थाहा हुन्थ्यो । जस्तो कि सुनिल माझीलाई सुनौँ । सुरुमा ‘म बोल्न जान्दिनँ’ भन्दै तर्किएका उनी बस्ती खाली गर्ने सरकारको आदेश सुनेपछि खुसी छन् । सरकारले नदी किनारबाट बस्ती खाली गरेको निर्णयलाई उनले स्वागतयोग्य टिप्पणी भएको बताए।
सधैँ नदी किनारमा बस्दा पटक पटक बाढीको दुःख सम्झेर उनी दिक्क छन् । सरकारले वास्तविक सुकुमबासीको उचित व्यवस्थापन गरोस् भन्ने चाहना छ । १० वर्षदेखि सुजुकीमा सवारी चालकको काम गर्दै आएका सुनिलले टहराको सामान साहुको घरमा राखेका छन्।
सुनिलकी आमा माया पनि उनको कुरामा सहमत देखिन्छिन्। थापाथलीबाट बस्ती खाली गर्ने सरकारले निर्णयलाई उनले सकारात्मक रूपमा स्विकारिन् । पुर्ख्यौली सम्पत्ति नभएपछि झापाको गरामनीबाट २०५५ मा यो परिवार काठमाडौँ आएको थियो । २५ वर्षदेखि थापाथली सुकुमबासी बस्तीमा अनेक आरोह–अवरोह पार गरेकी गरेकी माया ५५ वर्षको उकालोमा छिन् । अरुकै घरमा काम गरेर उनले गुजारा चलाइन्, छोरा, नाति पडाइन् । २८ वर्षदेखि अरूको घरमा सरसफाइको काम गर्दै आएकी मायाले मासिक १५ हजार रुपैयाँ कमाउँछिन् । थापाथलीबाट बस्ती खाली गर्ने सरकारको निर्णयपछि आफूलाई राम्रो व्यवस्था हुन्छ कि भन्ने उनलाई आशा छ।
‘सरकारले राम्रो काम गरेको छ । हामी खुसी छौँ ।’ बानेश्वर क्याम्पसमा स्नातक दोस्रो तहमा अध्ययनरत युनीसा माझीले भनिन्, ‘सरकारले वास्तविक सुकुमबासी र हुकुमबासीको पहिचान गरोस् । वास्तविक सुकुमबासीलाई सुरक्षित ठाउँमा सारोस् ।’ उनले सरकारको कदमलाई खुलेरै स्वागत गरिन्।

वास्तविक सुकुमबासीहरू आफ्नो उचित व्यवस्थापन हुन्छ कि भन्ने आशमा देखिन्थे । जग्गा, जमिन, सम्पत्ति जोडिसकेका सुकुमबासी भने कमाएको सम्पत्ति नै खोसिन्छ कि भन्ने त्रासमा देखिन्थे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ वर्षपछि रियल मड्रिडमा मरिन्होको पुनरागमन
-
ट्रेड युनियनहरू खारेज विरुद्धको रिटमा सुनुवाइ सुरु
-
नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य छनोट प्रक्रियाविरुद्धको रिट न्यायाधीश ढुङ्गाना र थापाको इजलासमा
-
डेटा सङ्कलन मात्र होइन, निर्णय लिन सिकाउने नेपाली प्रविधि ‘गिगा ईआरपी’
-
चेक रिपब्लिकमाथि दक्षिण कोरिया हाबी, यस्तो छ खेलको तथ्याङ्क
-
रेड कार्डको वर्षासँगै विश्वकप २०२६ को सुरुवात : के हामी पुराना दिनतर्फ फर्किँदैछौँ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण