सुनसरी घटनाबारे बोल्यो प्रधानमन्त्री कार्यालय
सारांश
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न अपिल गरेको छ ।
- सरकारले कुनै पनि समस्याको समाधान हिंसाबाट नहुने स्पष्ट पार्दै उत्तेजना वा भ्रामक सूचना नफैलाउन आग्रह गरेको छ ।
- घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ र मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको निःशुल्क उपचार तथा पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कारबाहीको प्रतिबद्धता जनाएको छ ।
काठमाडाैँ। नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामाजिक सद्भावर धार्मिक सहिष्णुताका लागि अपिल गरेको छ ।
सुनसरीको देवानगञ्जमा दुई समूहबिच भएको विवादपछि उत्पन्न हिंसात्मक घटनाहरू उग्र बनिरहँदा प्रधानमन्त्री कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै सामाजिक सद्भावकायम गर्न अपिल गरेको हो ।
नेपाली समाज सदियौँदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावमा रहँदै आएको स्मरण गराउँदै सरकारले कुनै पनि समस्या वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने स्पष्ट पारेको छ । ‘धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन र त्यस्ता सूचनाबाट प्रभावित नभई उच्च संयमता अपनाउन सम्बद्ध पक्षहरूमा नेपाल सरकार हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
सरकारले मुलुकमा शान्ति सुव्यवस्था र सामाजिक–धार्मिक सद्भावकायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक सङ्घ–संस्था, सञ्चार माध्यम र सम्पूर्ण जनसमुदायमा हार्दिक आह्वान समेत गरेको छ । सहसचिव एवं प्रवक्ता हेमराज अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्तो परिस्थितिमा सबैलाई जिम्मेवार बन्न आग्रह गरिएको छ ।
विज्ञप्तिमा देवानगञ्ज गाउँपालिका वडा नं. ३, कप्तानगञ्जमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले एक छानबिन समिति गठन गरेको उल्लेख छ । उक्त समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ भने समितिले आफ्नो काम सुरु गरिसकेको विज्ञप्तिमा उल्लेख छ । समितिले घटनाको कारण र आगामी दिनमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने उपायसहितको प्रतिवेदन बुझाउनेछ ।
सरकारले उक्त घटनामा मृत्यु भएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाइसकेको सरकारले जनाएको छ ।साथै, पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र दोषीमाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता समेत सरकारले व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
पुलमुनि बेवारिसे शव फेला
-
पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती प्रतीक्षा
-
मान्चिनी दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
-
सुनसरीको देवानगञ्ज बजारमा दुई समूहबिच ढुङ्गा हानाहान
-
मान्चिनी दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण