कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
सारांश
- कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मंगलबहादुर शाही पाँचौँ मुख्यमन्त्री नियुक्त भएका छन् ।
- मुख्यमन्त्री नियुक्त भए पनि नेकपा र नेकपा एमालेबीच मन्त्रालय बाँडफाँड (पावर सेयरिङ) को विषयमा भने सहमति जुट्न बाँकी छ ।
- मन्त्रालयको संख्या सात कायम रहेपछि नेकपाले मुख्यमन्त्रीसहित तीन मन्त्रालय र एमालेले चार मन्त्रालय पाउनुपर्ने माग गरेको छ ।
सुर्खेत । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् ।
उनको शपथ ग्रहण कार्यक्रम भने बुधबार राखिएको छ । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच भएको सहमतिअनुसार एमालेको समर्थनमा शाही मुख्यमन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री नियुक्त भए पनि ‘पावर सेयरिङ’ को विषयमा भने टुङ्गो लागेको छैन ।
दुवै दलका स्रोतका अनुसार ‘पावर सेयरिङ’मा कुरा मिलेका खण्डमा बुधबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिइने छ । यद्यपि ‘पावर सेयरिङ’मा भने केही जटिलता पैदा भएको छ । सत्ताको नेतृत्व पाएको नेकपाले मुख्यमन्त्री र अन्य तीन मन्त्रालय पाउनुपर्ने गरी छलफल चलाएको छ । मंगलबार दिउँसो बसेको नेकपा संसदीय दलको बैठकमा उक्त विषयमा छलफल चलेको हो । ‘सिट क्षमताका हिसाबले नेकपाको १४ हो, एमालेको १० हुँदा नेकपाले मुख्यमन्त्री छाडेर अन्य ३ मन्त्रालय पाउनुपर्छ,’बैठमा सांसदले भनेका थिए, ‘दल नेताले सोही अनुसार, सत्ता साझेदार दलका नेताकहाँ कुरा राख्नुहोस् ।’
विगतमा ८ सदस्यीय मन्त्रिपरिषद् भएकाले मुख्यमन्त्री र अन्य ३ मन्त्रालय नेतृत्वकर्ता दलले पाउँथ्यो भने सहयोगी दलले ४ वटा मन्त्रालय नै पाउँथ्यो । यसरी हिसाब गर्दा ४/४ को भागबन्डा हुन्थ्यो । यद्यपि अहिले आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मर्ज भइसकेको छ ।
यो अवस्थामा कुल मन्त्रालय संख्या ७ कायम रहन्छ । मुख्यमन्त्री र अन्य ३ मन्त्रालय नेकपाले लिएको खण्डमा एमालेको भागमा ३ मन्त्रालय मात्रै पर्छ । तर एमालेले भने विगतको परम्परा अनुसार ‘पावर सेयरिङ’ हुनुपर्ने कुरा राखेको छ । विगतमा सत्ताको नेतृत्व गरेको दल भन्दा सहयोगी दलले एक मन्त्रालय धेरै पाउने गरी भागबन्डा हुँदै आएको छ ।
एमालेले सोही अनुसार ४ वटै मन्त्रालयमा आफ्नो दाबी राखेको छ । यसो हुँदा नेकपाको भागमा मुख्यमन्त्री र अन्य २ मन्त्रालय गरी ३ वटा भाग पर्छ ।
नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले दुई दलबिच सौहार्दपूर्ण तरिकाले छलफल भइरहेको बताए । ‘सकेसम्म बुधबार नै पूर्ण मन्त्रिपरिषद् बन्छ,’ उनले भने, ‘यद्यपि केही थप छलफल गर्नुपर्ने अवस्था आए केही मन्त्री नियुक्त हुन सक्छन् ।’
उनले ‘पावर सेयरिङ’मा नेकपा खासै ठुलो डिमान्ड राख्ने भूमिकामा नरहेको बताए ।
उनका अनुसार सकेसम्म मुख्यमन्त्रीबाहेक ३/३ मन्त्रालयको भागबन्डा हुने गरी छलफल गर्ने हो । नभए एमालेले भनेजस्तो विगतको परम्पराअनुसार पनि जान सकिन्छ । यद्यपि यो विषयमा दुई दलका दल नेताहरूबिच छलफल भइरहेकाले सहज तरिकाले टुङ्गोमा पुग्ने उनले बताए ।
एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले विगतकै परम्परा अनुसार एमालेले चार मन्त्रालय पाउनुपर्ने बताए । ‘हाम्रो भनाइ विगतकै परम्परालाई आत्मसाथ गरौँ भन्ने हो,’ उनले भने, ‘किनकि आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयमा गाभिएकाले त्यहाँ ‘पावर’ धेरै छ ।’
यद्यपि यो सबै कुराको निर्णय लिने जिम्मेवारी एमाले संसदीय दलका नेता यामला कँडेललाई दिइएको उनले बताए । ‘हाम्रो सबै जिम्मेवारी दल नेतालाई छ, उहाँले सहयात्री दलसँग कुरा पनि गरिराख्नुभएको होला,’ उनले थपे ।
पछाईले पनि ‘पावर सेयरिङ’को कुरा मिलेसम्म बुधबार नै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । यद्यपि त्यसमा नमिलेको खण्डमा १/२ वटा मन्त्री मात्रै पठाउने कुरा नहुने उनको भनाइ छ ।
‘पावर सेयरिङ’मा कुरा मिलेपछि मात्रै मन्त्रीहरूको टुङ्गो लाग्ने छ । मन्त्रीका लागि सांसदहरू आ–आफ्नो तरिकाले ‘लबिङ’ गरिरहेका छन् । एमालेले सकेसम्म यसअघि कँडेल नेतृत्वको सरकारमा रहेकालाई नदोहोर्याउने भनेको छ ।
तर नेकपाले भने बलियो मन्त्रिपरिषद्का लागि समावेशी तरिकाले मन्त्री छनोट गर्ने बताइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण