सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुनिता डंगोलले भनिन्, ‘मानवीय संवेदनशीलताको ख्याल गरिन्छ’

शनिबार, १२ वैशाख २०८३, ०७ : ५०
शनिबार, १२ वैशाख २०८३

सारांश

  • काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नदी किनारका अनधिकृत संरचना हटाउन केन्द्र सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन्।
  • संरचना हटाउने प्रक्रियामा मानवीय संवेदनशीलता, मानव अधिकार र कमजोर वर्गको विशेष ख्याल गरिने उनले स्पष्ट पारेकी छन्।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर तथा कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरभित्रका नदी किनार र सार्वजनिक क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउने कार्यमा केन्द्र सरकारलाई पूर्ण सहयोग गर्ने स्पष्ट पारेकी छन्। सामाजिक सञ्जालमार्फत महानगरको आधिकारिक धारणा सार्वजनिक गर्दै उनले सार्वजनिक, सरकारी र सामुदायिक जग्गाको संरक्षण गर्दा मानवीय पक्षलाई विशेष ध्यान दिइने प्रतिबद्धता जनाएकी हुन्।

नेपाल सरकारका सम्बद्ध मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले नदी किनारका अतिक्रमण हटाउन गरेको निर्णय र अनुरोधलाई कार्यान्वयन गर्न महानगरपालिका सहयोगी भूमिकामा रहने डंगोलले उल्लेख गरेकी छन्। नगर कार्यपालिकाका सदस्यहरूबिच भएको छलफलको निष्कर्ष सुनाउँदै उनले अनधिकृत संरचना हटाउने प्रक्रियामा मानव अधिकारको न्यूनतम मूल्य मान्यतालाई आत्मसात् गरिने बताएकी छन्।

विशेषगरी हटाउने क्रममा ज्येष्ठ नागरिक, बिरामी, गर्भवती महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको विशेष ख्याल राखिने कार्यवाहक प्रमुख डंगोलको भनाइ छ। महानगरले यो कार्यलाई सकेसम्म विवादरहित, सुरक्षित र कानुनसम्मत ढंगले अगाडि बढाउने प्रयास गर्नेछ। संरचना हटाउँदा सम्मानजनक मानवीय व्यवहार प्रदर्शन गरिने र न्यायको सिद्धान्त प्रतिकूल नहुने गरी व्यवस्थापन गरिने उनले स्पष्ट पारेकी छन्।

डंगोलले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने यो महत्त्वपूर्ण अभियानमा आवश्यक सहयोग र समन्वय गर्न सरोकारवाला सबै निकाय, पदाधिकारी र सर्वसाधारणमा हार्दिक अपिल समेत गरेकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप