‘ब्युटी फिल्टर’ले सास्ती : मेक्सिकोमा हराएकी महिलालाई तस्बिरले खोज्नै सकस
सारांश
- मेक्सिकोमा बेपत्ता भएकी महिलाको खोजीका लागि प्रहरीले प्रयोग गरेको तस्बिरमा अत्यधिक फिल्टर भएका कारण उनको पहिचान गर्न कठिनाइ भएको छ।
- सामाजिक सञ्जालमा फिल्टर प्रयोग गरिएका तस्बिरहरूले गर्दा वास्तविक अनुहार र तस्बिरमा मेल नखाँदा खोज कार्यमा समस्या उत्पन्न भएको हो।
- अन्ततः महिला जीवित फेला परे पनि यो घटनाले डिजिटल फिल्टरको अत्यधिक प्रयोगले पहिचानको संकट निम्त्याउने भन्दै विज्ञहरूले सचेत गराएका छन्।
चिआपस । तस्बिरलाई आकर्षक बनाउन सामाजिक सञ्जालमा फिल्टर र इडिटिङ टुसको प्रयोग सामान्य भइसकेको छ। तर, मेक्सिकोमा घटेको एउटा पछिल्लो घटनाले यो डिजिटल मोह कतिसम्म घातक हुन सक्छ भन्ने देखाएको छ।
चिआपस राज्यमा बेपत्ता भएकी ३० वर्षीया ग्रीसिया गुआडालुपे ओरेन्टेस मेन्डोजाको खोजीमा प्रहरीले प्रयोग गरेको तस्बिर र उनको वास्तविक स्वरूपबिच कुनै मेल नखाएपछि अहिले यसले विश्वव्यापी रूपमा नयाँ बहस छेडेको छ। अप्रिल १२ को रात ओकोजोकाउट्ला डि एस्पिनोसाबाट बेपत्ता भएकी ग्रीसियाको खोजीका लागि प्रहरीले तत्काल अल्बा प्रोटोकल सक्रिय पारेको थियो।
यस अन्तर्गत प्रहरीले उनको सामाजिक सञ्जालबाट तस्बिरहरू लिएर मिसिङ पोस्टरहरू बनाएर जताततै वितरण गर्यो। तर, विडम्बना के भयो भने उनलाई चिन्नेहरूले नै पोस्टरको तस्बिर हेरेर ती महिला ग्रीसिया नै हुन् भनेर ठम्याउन सकेनन्। तस्बिरमा अत्याधिक फिल्टर र सम्पादन प्रयोग गरिएका कारण उनको वास्तविक अनुहार पूर्ण रूपमा बदलिएको थियो।
बेपत्ता व्यक्तिको खोजीमा समयको निकै महत्त्व हुन्छ। सुरुवाती घण्टाहरूमा सर्वसाधारणले व्यक्तिको पहिचान गर्न सके मात्रै उनीहरू जीवितै भेटिने सम्भावना रहन्छ।
ग्रीसियाको हकमा भने प्रहरीले बाँडेको तस्बिरले सर्वसाधारणलाई सहयोग गर्नुको सट्टा झन् भ्रममा पारिदियो। सामाजिक सञ्जालमा मानिसहरूले प्रश्न उठाएका छन्, ‘फिल्टरले भरिएका यस्ता तस्बिरबाट कसैलाई कसरी चिन्न सकिन्छ?’
भाग्यवश, केही दिनपछि उनी ओकोजोकाउट्ला र जिक्विपिलास जोड्ने राजमार्गमा जीवितै फेला परिन्। उनी अहिले प्रहरीको संरक्षणमा छिन् र उनको बेपत्ता हुनुको कारणबारे अनुसन्धान भइरहेको छ।
तर, यो घटनाले मेक्सिकोको राष्ट्रिय खोज आयोग र सुरक्षा विज्ञहरूलाई झस्काएको छ। सुरक्षा सल्लाहकार डेभिड साउसेडोका अनुसार सामाजिक सञ्जालका तस्बिरहरूमा आर्टिफिसियल इन्टेलिजेन्स र विभिन्न फिल्टरहरूको अत्यधिक प्रयोगले गर्दा प्रहरीको पहिचान फारमहरू पटक-पटक असफल भइरहेका छन्।
यो घटनाले एउटा गम्भीर पाठ सिकाएको छ, डिजिटल संसारमा देखिने ‘परफेक्ट’ तस्बिरहरूले संकटको समयमा हाम्रो आफ्नै पहिचान संकटमा पार्न सक्छन्। विज्ञहरूले अबदेखि यस्ता संवेदनशील कामका लागि फिल्टर नगरिएका र वास्तविक तस्बिरहरू मात्र प्रयोग गर्न सुझाव दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण