रास्वपाका वरिष्ठ नेता बालेन पार्टी बैठकमा निरन्तर अनुपस्थित
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह पार्टीका बैठकहरूमा निरन्तर अनुपस्थित भएका छन् ।
- गत फागुन २१ को निर्वाचनपछि चैत १२ गते बसेको बैठकमा सहभागी भएयता बालेन पार्टीका कुनै पनि बैठकमा देखिएका छैनन् ।
- महामन्त्री कवीन्द्र बुर्लाकोटीले बालेन आमन्त्रित केन्द्रीय सदस्य तथा वरिष्ठ नेता भएकाले आवश्यकता अनुसार बैठकमा सहभागी हुने बताएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह पार्टी बैठकमा सहभागी हुन छाडेका छन् ।
बालेनले पुस १३ गते रास्वपाका सभापति रवि लामिछानेसँग ७ बुँदे सहमति गरेका थिए । सोही सहमति अनुसार रास्वपाले रवि पार्टी सभापति नै रहने र बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्तुत गरेको थियो ।
निर्वाचनको पूर्वसन्ध्यामा भएको सहमतिलाई रास्वपाले भदौमा भएको जेनजी आन्दोलनको आवश्यकता र भावना बमोजिम भएको जिकिर गरेको थियो । काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट माघ ४ गते राजीनामा दिएका बालेनले रास्वपाबाट झापा–५ मा उम्मेदवारी दिएका थिए । त्यसैदिन रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा उनले वरिष्ठ नेताको पदभार ग्रहण गरेका थिए ।
बेलुका मधेस प्रदेशको राजधानी जनकपुरधाम पुगेका उनले माघ ५ गते पार्टीले आयोजना गरेको परिवर्तन उदघोष सभालाई सम्बोधन गरेका थिए । माघ ६ गते झापा–५ बाट उम्मेदवारी दिएर देशव्यापी चुनावी प्रचारमा निस्किएका उनी पार्टीको बैठकमा सहभागी भएनन् ।
फागुन २१ को निर्वाचनमा बालेनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गरे । रास्वपाले दुई तिहाइ नजिक अर्थात् १८२ सिट जित्न सफल भयो ।
निर्वाचनपछि चैत १२ गते पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकमा सहभागी भएका बालेन त्यस यता पार्टीको कुनै पनि बैठकमा सहभागी भएका छैनन् ।
तर महामन्त्री कवीन्द्र बुर्लाकोटीले बालेन आमन्त्रित केन्द्रीय सदस्य तथा वरिष्ठ नेता भएकाले बैठकको आवश्यकता अनुसार सहभागी हुने जिकिर गरे ।
‘उहाँ पार्टीको आमन्त्रित केन्द्रीय सदस्य तथा वरिष्ठ नेता हुनुहुन्छ । उहाँ सरकार प्रमुख हो । पार्टी बैठकमा आवश्यककता अनुसार बोलाएको खण्डमा उहाँ सहभागी हुनुहुन्छ । संसदीय दलको बैठकमा उहाँ आउनुभएको छ’, रातोपाटीसँग बुर्लाकोटीले भने ।
रास्वपाको आधिकारिक वेबसाइटमा बालेनलाई रविपछिको दोस्रो वरीयतामा राखिएको छ । केन्द्रीय समिति सदस्यहरूको रोष्टरमा उनलाई आमन्त्रित वरिष्ठ नेता भनेर राखिएको छ ।
चैत १ गते बसेको सचिवालय बैठकमा बालेन अनुपस्थित थिए । रास्वपाले चैत ३ र ४ गते ग्वार्कोस्थित होटेल टुलिपमा राखेको प्रशिक्षण कार्यक्रममा पनि उनी अनुपस्थित भएपछि पार्टीभित्र र बाहिर प्रश्न उठेको थियो ।
चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका उनले त्यसैदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गरेका थिए । प्रधानमन्त्री भएपछि चैत १९ गते रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकमा पनि बालेन सहभागी भएनन् ।
प्रतिनिधि सभाको सभामुख बनाउने विषयमा बोलाइएको बैठकमा दलकै नेता सहभागी नभएपछि सभापति रवि लामिछाने आफैँले उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने प्रस्ताव पेस गरेका थिए ।
चैत २७ गते उपसभामुखबारे निर्णय लिन बसेको संसदीय दलको बैठकमा भने बालेन सहभागी भएका थिए ।
वैशाख ३ गते बसेको संसदीय दलको बैठकमा पनि उनी सहभागी भएका थिए । त्यसबेला बैठकले रास्वपाको संसदीय दलको उपनेतामा गणेश पराजुली, मुख्य सचेतक कवीन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई बनाउने निर्णय गरेको थियो ।
यसैगरी वैशाख ६ गते सचिवालय र ७ गते बसेको केन्द्रीय समिति बैठकमा बालेन अनुपस्थित भए ।
वरिष्ठ नेता पार्टीको बैठकमा आउनैपर्ने बाध्यकारी अवस्था नभएको महामन्त्री बुर्लाकोटीले बताए । आवश्यक पर्दा बोलाएको बैठकमा बालेन सहभागी हुने उनको भनाइ थियो ।
‘पार्टीले बोलाएमा उहाँले सहभागी हुन्छु भन्नुभएको छ । बैठकमा अनुपस्थित भएको विषयमा गम्भीर हुन आवश्यक छैन । बोलाएको बेला आउनुभएको छ’, बुर्लाकोटीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण