शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

‘मालती मंगले’ ट्रेलर : जब समाजका कारण दम्पतीबिच उतारचढाव आउँछ

सोमबार, १४ वैशाख २०८३, १९ : ४१
सोमबार, १४ वैशाख २०८३

सारांश

  • समाजका कथित नियम हाबी भएपछि ग्रामीण दम्पतीको सम्बन्धमा आउने उतारचढावलाई 'मालती मंगले' फिल्मको ट्रेलरले देखाएको छ ।
  • प्रकु पाण्डे निर्देशित यो फिल्मले ग्रामीण दम्पतीको प्रेम, सामाजिक परिवेश र त्यसले सम्बन्धमा पार्ने प्रभावलाई चित्रण गर्छ ।
  • विजय बराल र वर्षा राउत अभिनित यो फिल्म आगामी वैशाख २५ गते रिलिज हुँदैछ ।

काठमाडौँ । अभावका बिच पनि आत्मीय प्रेमसँगै खुसी-खुसी जीवन बाँचिरहेका ग्रामीण दम्पतीमाथि जब समाजका कथित नियम हाबी हुन्छन्, तब सम्बन्धमा दरार आउन थाल्छ । रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती मंगले’को ट्रेलरले यस्तै संकेत गर्छ । 

प्रकु पाण्डेले निर्देशन गरेको फिल्मले ग्रामीण दम्पतीको प्रेम, त्यसमा आउने उतारचढाव र सामाजिक परिवेशको कथा भन्छ । ट्रेलरको सुरूवातमा फिल्मका शीर्ष कलाकार विजय बराल र वर्षा राउतसँगै मेक्सम गौडेल देखिन्छन् । विजय र वर्षाको पात्रबिच प्रेमाकर्षणबाट सुरू हुने ३ मिनेट १५ सेकेन्ड लामो ट्रेलरमा दम्पतीको प्रेम जीवनमा सामाजिक कारणले आउने उतारचढाव देखिन्छ । 

रानी फिल्म्सको प्रस्तुति रहेको ‘मालती मंगले’मा प्रकाश घिमिरे, सुवर्ण थापा, उमेश सुनाम, सुस्मा निरौला र सरिता गिरी तथा बाल कलाकारहरू नरिन थापा र मन्सु सापकोटाले समेत अभिनय गरेका छन् । फिल्ममा रोशन विश्वकर्माको कोरियोग्राफी, महेश पौडेलको छायांकन, रोमी मोसेजको सम्पादन र संयोग गुरागाईंको पटकथा तथा संवाद छ । मनोज जोशीले कला निर्देशन गरेका छन् भने कार्यकारी निर्माता सागर ज्ञवाली हुन् । 

नेपाली सुगम संगीत र पार्श्व गायनका प्रसिद्ध गायक रामकृष्ण ढकाल फिल्म निर्माणमा आएका छन् । उनले अढाइ दशकअघि आफ्नै सांगीतिक संघर्षमा आधारित फिल्म ‘आशीर्वाद’मा अभिनय गरेका थिए । 

फिल्म ‘मालती मंगले’का यसअघि तीन गीत सार्वजनिक भइसकेका छन् । प्रेमिल गीत ‘सुनैको सपनी’, लोकशैलीका ‘ढुंगामाथि लेउ’ र ‘झ्याम पारम’ ले दर्शक-श्रोताको मन जितिरहेका छन् । फिल्म आगामी वैशाख २५ गते रिलिज तयारीमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप