जेनजी अभियन्ता हुँदै नायिका बनेकी प्रशंसा
सारांश
- जेनजी अभियन्ताको रूपमा चिनिएकी प्रशंसा सुवेदीले फिल्म 'लालीबजार' बाट अभिनेत्रीको रूपमा डेब्यु गरेकी छन्।
- कानुनकी विद्यार्थी समेत रहेकी प्रशंसा अभिनयलाई निरन्तरता दिनुअघि पढाइ पूरा गरेर लाइसेन्स लिने योजनामा छिन्।
- उनले भविष्यमा राजनीतिमा पनि सक्रिय हुने इच्छा व्यक्त गरेकी छन्, विशेषगरी नीति निर्माणमा रहेर देशको सेवा गर्ने उनको लक्ष्य छ।
काठमाडौँ । जेनजी आन्दोलनको समय काठमाडौँका सडकमा प्लेकार्ड बोकेर सुशासन र अधिकारका लागि नारा लगाइरहेकी एक किशोरीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । कलेज ड्रेसमै देखिएकी ती किशोरीले देशको राजनीतिक विसङ्गति र जनजीविका सवालमा लगाएको नाराले धेरैको ध्यान खिचेको थियो । ती किशोरी थिइन्– प्रशंसा सुवेदी ।
त्यतिबेला सडकमा जेनजी अभियन्ताका रूपमा चिनिएकी प्रशंसाको अहिले परिचय फेरिएको छ । उनी यतिबेला अभियन्ता नभएर अभिनेत्रीका रूपमा मिडियामा छाइरहेकी छन् । उनलाई अभिनेत्रीका रूपमा चिनाउने काम फिल्म ‘लालीबजार’ले गरेको छ ।
आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्मबाट उनले अभिनयमा डेब्यु गरेकी छन् । फिल्मको रिलिज नजिकिँदै गर्दा उनी उत्सुक छिन् । भित्रभित्र डर पनि छ । दर्शकले आफ्नो अभिनयलाई कस्तो प्रतिक्रिया देलान् भन्ने आफूमा डर रहेको उनले बताइन् ।

‘फिल्म एकदमै राम्रो छ, स्टोरी लाइन एकदमै राम्रो छ’, प्रशंसाले भनिन्, ‘ममा फिल्मलाई लिएर धेरै उत्सुकता छ । जति जति रिलिज मिति नजिकिन्छ, ढुकढुकी त्यति बढ्दो रहेछ ।’
अभिनय क्षेत्रमा रुचि भए पनि तत्काल प्रवेश गर्ने प्रशंसाको योजना थिएन । आन्दोलन र पढाइमा रमाइरहेकी उनलाई अचानक फिल्म ‘लालीबजार’का लागि अभिनय प्रस्ताव आयो । उनलाई फिल्मको प्रस्ताव कलाकार/निर्माता रविन सिंह बानियाँले राखेका थिए । बाँनिया उनका छिमेकी पनि हुन् ।
बाँनियाले प्रशंसाको टिकटक भिडियोहरू हेरेपछि आफ्नो फिल्ममा सुहाउने भन्दै उनकी आमालाई सम्पर्क गरेर अभिनयका लागि प्रस्ताव गरेका थिए । आमा मार्फत प्रस्ताव आएपछि प्रशंसाले लुक टेस्टका लागि अडिसन दिइन् । अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उनी छनोटसमेत भइन् ।
‘मलाई सानैदेखि दुई वटा फरक संसारमा रुचि थियो– एउटा पोलिटिक्स र ल, अर्को ग्ल्यामर इन्डस्ट्री’, उनले भनिन्, ‘फिल्ममा त प्रवेश भयो । राजनीतिमा भविष्यमा आउन सक्छु ।’
फिल्ममा रुचि उनको बुबाको कारणले भएको हो । उनका बुबा फिल्मका सौखिन थिए । बुबाले उनलाई फिल्म हेराउन बारम्बार लैजान्थे । आफूले पहिलो पटक हिन्दी फिल्म ‘तारे जमिन पर’ हेरेको उनले सुनाइन् ।
‘सुरुमा बुबाले डीभीडीहरू घरमा ल्याएर फिल्म देखाउनुहुन्थ्यो । सानो हुँदा बच्चा भएको मुभी मनपर्थ्यो । त्यसपछि रोमान्स मुभीहरूको फेज सुरु भयो । अनि एक्सन र सोसलमा रुचि बढ्यो’, प्रशंसाले भनिन्, ‘मामु–ड्याडीचाहिँ पढाइ र कामको सिलसिलामा बाहिर गएपछि म हजुरआमासँग बस्न थालेँ । त्यतिबेला चाहिँ मेरो मुभीसँगको कनेक्सन छुट्यो ।’
_GkFmQBFoJY.jpg)
‘लालीबजार’ यम थापाले निर्देशन गरेको फिल्म हो । बादी समुदायको कथामा बनेको यो फिल्ममा उनले सोही समुदायको १५ वर्षकी एउटी चञ्चले र पढ्ने किशोरी ‘महारानी’को भूमिका निर्वाह गरेकी छन् । फिल्ममा उनी अभिनेत्री स्वस्तिमा खड्काकी छोरीको भूमिकामा देखिन्छिन् । यो भूमिका आफ्नो वास्तविक स्वभावसँग धेरै मिल्दोजुल्दो भएकाले अभिनय गरेको उनले बताइन् । फिल्ममा स्थापित अभिनेत्री स्वस्तिमासँग स्क्रिन सेयर गर्न पाउनु आफ्ना लागि ठुलो अवसर उनले थानेकी छन् ।
‘स्वस्तिमा दिदीको अभिनयमा डेडिकेसन देख्दा म छक्क परेँ’, प्रशंसाले थपिन्, ‘उहाँले मलाई कहिल्यै न्यु–कमर जस्तो व्यवहार गर्नुभएन, सधैँ बहिनीजस्तै सिकाउनुभयो ।’
प्रशंसाका अनुसार ‘लालीबजार’ केवल एउटा मनोरञ्जनात्मक फिल्ममात्र होइन, यो एउटा सामाजिक दस्ताबेज पनि हो । यो फिल्मले नेपालको एउटा विशेष समुदायको कथा र देह व्यापारको मर्मस्पर्शी यथार्थलाई चित्रण गरेको छ । फिल्मले बादी समुदायप्रति समाजमा एउटा समानुभूति पैदा गर्छ जस्तो उनलाई लाग्छ ।
फिल्मको टिजर, ट्रेलर, गीत लगायत प्रचार सामग्रीबाट प्रशंसाले सकारात्मक प्रतिक्रिया पाइरहेकी छन् । फिल्ममा प्रदीप भट्टराई र यम थापाको मार्गदर्शनले आफूलाई अझ निखारेको उनी महसुस गर्छिन् ।
फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा विभिन्न विवादमा फसेको छ । फिल्मको विषयमा भएको विवाद जायज नभएको प्रशंसा बताउँछिन् ।
प्रशंसाको पुर्ख्यौली घर म्याग्दीको राखु हो, जुन प्रसिद्ध धार्मिक स्थल गलेश्वरभन्दा केही माथि पर्छ । यद्यपि उनी काठमाडौँमै हुर्किएकी हुन् । हाल वनस्थलीमा बस्दै आएकी उनी कानुनको विद्यार्थी हुन् । काठमाडौँकै नेशनल ल कलेजमा उनी बीएएलएलबी अन्तिम वर्षमा अध्ययनरत छिन् ।
अभिनयमा आए पनि प्रशंसा कानुनको पढाइ पूरा गरेर लाइसेन्स लिनु आफ्नो प्राथमिकता रहेको बताउँछिन् । त्यसपछि मात्र उनी अभिनयलाई निरन्तरता दिने सोच राख्छिन् ।
राजनीतिमा आउने इच्छा उनको छँदैछ । उनले भनिन्, ‘१० वर्षको छँदा ड्याडीले ठट्टा गर्दै मलाई प्रधानमन्त्री भएमा यो घर तिम्रो हुन्छ भन्नुभएको थियो ।’ त्यही सानो लोभबाट सुरु भएको उनको राजनीतिक रुचि अहिले देशका लागि केही गर्ने दृढ सङ्कल्पमा बदलिएको छ ।
राजनीतिमा पदभन्दा पनि पोलिसी मेकिङ (नीति निर्माण) मा रहेर देशको सेवा गर्ने रुचि भएको बताउने उनी कानुन पढ्नुको उद्देश्य पनि त्यसैका लागि रहेको सुनाइन् ।
कसरी बनिन् ‘जेनजी’ अभियन्ता ?
प्रशंसा ‘जेनजी अभियन्ता’ भनेर पनि चिनिएकी छन् । जेनजी मुभमेन्टमा आफू रहरले भन्दा पनि परिस्थितिले नै जोडिएको उनी बताउँछिन् । उनले भनिन्, ‘जनताले दुःख नपाउन् भन्ने चिन्ताले मलाई सडकमा पुर्याएको हो ।’

जेनजी अभियानको क्रममा रुटिन अफ नेपाल बन्दले उनलाई राजनीतिमा चासो राख्ने जेनजी भनेर फिचर गरेपछि उनी एकाएक चर्चामा छाएकी थिइन् । कलेज ड्रेसमै प्रदर्शनमा उत्रिएकी उनलाई देखेर कतिले हौसला दिए, कतिले अचम्म माने । तर, उनलाई परिवारको भने पूर्ण साथ थियो । देशको सुशासनका लागि बोल्नुपर्छ भन्ने मान्यता राख्ने उनलाई उनकी आमाले नै विरोध प्रदर्शनमा जान प्रेरित गरेकी थिइन् ।
तर, आन्दोलन सधैँ सोचेजस्तो शान्त भएन । भदौ २३ को त्यो हिंसात्मक घटना र आफ्नै सहकर्मी साथीहरूको बलिदानलाई सम्झिँदा प्रशंसा आज पनि भावुक हुन्छिन् ।
‘हामी त क्लियर माइन्ड लिएर आफ्नो आवाज पुर्याउन गएका थियौँ, गोली चल्छ भन्ने सोचेका पनि थिएनौँ’, उनले भनिन्, ‘यो घटनाले मलाई समाज र राज्य व्यवस्थाप्रति झन् गम्भीर बनायो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति
-
पोखरा महानगरपालिकाले ल्यायो ७ अर्ब १५ करोड बजेट
-
जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक : डा. मिश्र
-
सरकारले १० वर्षको कृषि अनुदान छानबिन गर्ने
-
किन एकाएक सुस्तायो मनसुन ? एल निनोभन्दा बाहिरका कारण पनि जिम्मेवार
-
राष्ट्रिय सभाबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, २०८३’ स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण