विवादमा तानियो फिल्म ‘लालीबजार’, के भन्छन् सरोकारवाला ?
सारांश
- फिल्म 'लालीबजार' बादी समुदायलाई गलत चित्रण गरेको आरोपमा विवादमा परेको छ ।
- समुदायकी डा. रोशनी नेपाली बादीले फिल्म प्रदर्शन रोक्न माग गरेकी छन् भने निर्माताले समुदायको इतिहास र पीडालाई पर्दामा उतार्न खोजेको दाबी गरेका छन् ।
- फिल्मबारे बादी समुदायभित्रै दुई धार देखिएको छ, केही प्रदर्शन रोक्नुपर्ने र केही आपत्तिजनक विषय हटाएर प्रदर्शन गर्नुपर्ने बताउँछन् ।
काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय ‘लालीबजार’ विवादमा तानिएको छ । फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्काले यो फिल्मलाई आफ्नो करियरकै ‘उत्कृष्ट’ भन्नुका साथै आगामी धेरै वर्षसम्म आफूलाई जीवन्त राख्ने दाबीसमेत गरेकी छन् ।
अभिनेत्री खड्काले गर्व गरिरहेको यही फिल्म यतिबेला विवादको भुमरीमा फसेको छ । ट्रेलर सार्वजनिक भएसँगै फिल्मलाई लिएर बादी समुदायबाट आलोचना भएको छ । डा. रोशनी नेपाली बादीले फिल्ममा समेटिएको विषयवस्तुमा आपत्ति प्रकट गरेकी छन् । उनले आइतबार पत्रकार सम्मेलन गरेरै फिल्म प्रदर्शन रोक्न माग गरेकी थिइन् । उनले दलित आयोगमार्फत चलचित्र विकास बोर्डमा पत्राचार भएको समेत बताएपछि यो विवाद सतहमा आएको थियो ।
फिल्मले बादी समुदायलाई नराम्रो देखाएको उनको आरोप छ । निर्माण पक्ष भने फिल्मले बादी जातिको इतिहास र पीडालाई पर्दामा उतार्न खोजेको दाबी गर्दै आएको छ ।
फिल्मको नाम र विषयवस्तु दुवैमा आफ्नो गम्भीर आपत्ति रहेको डा. रोशनी नेपाली बादी बताउँछिन् । फिल्मले बादी जातिलाई अनैतिक रूपमा चित्रण गरेर उनीहरूको सामाजिक प्रतिष्ठामा प्रहार गरेको उनको आरोप छ ।
‘फिल्म लालीबजारप्रति हाम्रा धेरै आपत्ति छन् । मुख्य त यसको नाममै आपत्ति छ’, डा. रोशनीले भनिन्, ‘फिल्मले बादी जातिलाई अनैतिक रूपमा चित्रण गर्दै हाम्रो चरित्र हत्या गरेको छ । विडम्बना के छ भने, बादी जातिकै केही अगुवा भनिने व्यक्तिहरूले आर्थिक प्रलोभनमा परेर यो फिल्म बनाउन सहयोग गरेका छन् ।’

डा. रोशनीका अनुसार यो फिल्मले देश–विदेशमा रहेका बादी युवाहरूलाई मानसिक तनाव र डिप्रेसनमा धकेलेको छ । उनले भनिन्, ‘युवाहरूले मलाई फोन गरेर सोधिरहेका छन् । हाम्रो जातिलाई किन यसरी देखाइयो ? हाम्रा केही अभिभावकहरूले आफ्नो स्वार्थका लागि हाम्रो भविष्य र मानसिकतामा पर्ने असरको ख्याल गरेनन् ।’
फिल्मको विरोध गर्नेमा बादी समुदायबाट उनी एक्लो देखिएकी छन् । तर अहिले आफू एक्लो देखिए पनि आफ्नो पछाडि हजारौँ युवाको आवाज भएको उनको दाबी छ । फिल्ममा केही दृश्य काटेर वा नाम बदलेर आफूहरूलाई मान्य नहुने भन्दै उनले फिल्म नै पूर्ण रूपमा बन्द हुनुपर्ने माग राखेकी छन् ।
‘कसैको पहिचान र स्वाभिमानमाथिको प्रहार कसैको करोडौँको लगानीभन्दा धेरै ठुलो कुरा हो,’ उनले भनिन् ।
यता, फिल्मका निर्माता रबिन्द्र सिंह बाँनिया भने डा. रोशनीको आरोपमा सत्यता नरहेको दाबी गर्छन् । उनी ‘लालीबजार’लाई बादी समुदायको मुद्दालाई राष्ट्रियस्तरमा बहस गराउने माध्यमको रूपमा चर्चा गर्छन् ।
‘हामीले फिल्मको कथा छनोट गर्दादेखि नै बादी समुदायका अगुवा र यो समस्या भोगेका आमाहरूसँग निरन्तर सम्पर्कमा रहेर काम गरेका हौँ । हामीले फिल्डमै गएर उहाँहरूको कुरा सुनेका छौँ र सहमति लिएका छौँ’, कलाकार समेत रहेका निर्माता बाँनियाले भने, ‘विरोध गर्ने डा. रोशनीको व्यक्तिगत धारणा मात्र हो, बादी समुदायका अधिकांश व्यक्ति उहाँको कुरासँग असहमत देखिएका छन् । अहिले पनि हामीसँग बादी समुदायका आधादर्जन बढी व्यक्ति नियमित सम्पर्कमा छन् ।’
निर्माता बाँनियाका अनुसार बादी समुदायकै धेरै व्यक्तिहरूले फिल्म हेरिसकेका छन् । फिल्म हेरेर उनीहरू भावुक भएका थिए । उनीहरूले आफ्नो कथा बाहिर ल्याइदिएकोमा धन्यवाद समेत दिएका थिए । इतिहासलाई बिर्सिएर समुदायको पुनर्स्थापना र क्षतिपूर्तिको कुरा अगाडि बढ्न नसक्ने निर्माता बाँनियाको तर्क छ ।
‘हामीले कानुनी र सामाजिक रूपमा कतै पनि अपमानित नहुने गरी, अदालतको निर्णयको मर्यादा राखेर फिल्म बनाएका छौँ’, निर्माता बाँनियाले भने, ‘यस्तो वातावरणले नयाँ काम गर्ने जाँगर मर्दछ, तर म चाहन्छु कि यो फिल्मले एउटा आइस ब्रेक गरोस् ।’
वादी समुदायबिच नै दुई धार
‘लालीबजार’को विवादमा बादी समुदायबिच नै दुईधार देखिएको छ । कोही फिल्मको प्रदर्शन नै रोक्नुपर्ने धारणा राखिरहेका छन् भने केही आपत्ति रहेका विषय हटाएर प्रदर्शन गर्नुपर्ने बताउँछन् ।
डा. रोशनी नेपालीले फिल्मको प्रदर्शनमा रोक लगाउनुपर्ने बताउँदा बादी सरोकार मञ्च नेपालमार्फत काम गरिरहेका हिक्मत बादी पहाडमा बस्ने शिक्षित बादी र तराईका बस्तीमा संघर्ष गरिरहेका बादीहरूको दृष्टिकोण फरक हुन सक्ने बताउँछन् ।
_u6qahhHKQM.png)
‘पहाडमा बस्ने हामीजस्ता केही पढे–लेखेका बादीहरूलाई यो फिल्मको विषयवस्तु चित्त नबुझ्न सक्छ’, हिक्मतले भने, ‘तर, जब हामी तराईका बादी बस्तीहरूमा पुग्छौँ, त्यहाँका आमाहरूको संघर्ष र पीडा अझै पनि ज्यूँदो छ । फिल्मले २०४५ सालतिरको ऐतिहासिक पीडा र शोषणको कथालाई उठाउन खोजेको छ । त्यसैले फिल्म नै चल्न दिनुहुँदैन भन्ने पक्षमा म छैन ।’
हिक्मत आफूले फिल्म हेरेर केही महत्त्वपूर्ण सुधार गरेको बताउँछन् । ‘फिल्मको सुरुमा प्रयोग भएका उमा वा रमाजस्ता व्यक्तिगत नामहरू हटाउन लगाइएको छ । शासकहरूले महिलालाई सामान भनेर सम्बोधन गरेका शब्दहरू परिमार्जन गरिएका छन्’, उनले भने, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा, बादी समुदायमा देहव्यापारलाई चलन वा परम्पराको रूपमा नभई तत्कालीन राज्य र शासकले लादेको शोषणको रूपमा चित्रण गर्न लगाइएको छ ।’
तराईका ती पीडित आमाहरूको न्यायका लागि आफूहरूले सानो व्यक्तिगत इज्जतको त्याग गर्न सक्नुपर्ने उनको भनाइ छ । यो फिल्मले बादी समुदायको हक–अधिकारका लागि एउटा बलिदानको काम गर्ने विश्वास उनले व्यक्त गरे ।
बादी समुदायकी अर्की प्रतिनिधि हेना देवीसरा बादीले सुरुमा ट्रेलर हेर्दा निकै रिस उठेको बताइन् । तर, फिल्म हेरेपछि आफ्नो सोचमा परिवर्तन आएको उनको भनाइ छ ।
‘फिल्मले विशेषगरी वि.सं. २०६३/०६४ को जनआन्दोलन भन्दा अगाडिको बाध्यात्मक संघर्षलाई देखाएको छ’, उनले भनिन्, ‘मैले फिल्ममा कतै पनि अपमानजनक शब्दहरू प्रयोग भएको पाइनँ । निर्माण पक्षले यस्ता शब्दहरूमा निकै सावधानी अपनाएको देखिन्छ ।’
_gWRoijE7M4.jpg)
कतिपयले घाउ किन देखाएको भनेर प्रश्न गरे पनि आफ्नो विचारमा जबसम्म लुकेको घाउ देखाइँदैन, तबसम्म डाक्टरले उपचार गर्न नसक्ने उनको भनाइ छ ।
फिल्मले समुदायको अस्तित्व र संघर्षबारे राज्यलाई जानकारी दिने विश्वास व्यक्त गर्ने हेना देवीसरा फिल्मको अन्त्यमा रहेको बादी समुदायका नानीहरू नर्स र प्रिन्सिपल लगायत बनेको देखाइनु सकारात्मक पाटो भएका खुसी व्यक्त गर्छिन् ।
कहिले रिलिज हुँदैछ फिल्म ?
‘लालीबजार’ आगामी १८ गते शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको फिल्म बर्दियाको राजापुरमा छायाङ्कन गरिएको हो । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतको अभिनय छ । फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् ।
यम थापाको कथा तथा निर्देशन रहेको फिल्मको पटकथा र संवाद निर्देशक थापा र कार्यकारी निर्माता प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । फिल्मका निर्माता म्याक्स दीपेश खत्री र रबिन्द्र सिंह बानियाँ निर्माता हुन् । फिल्मले बादी समुदायको कथा उठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण