हुरीबतासले उडाएका घर मर्मत गर्दै गाउँका युवाहरू
गोरखा । केही दिनअघि हुरीबतासले क्षतिग्रस्त बनाएका घरहरू गाउँले युवा मिलेर पालैपालो मर्मतसम्भार गर्दैछन्। जिल्लाको पालुङटार नगरपालिका–९ मा गत वैशाख ६ गतेको हुरीबतासले उडाएका घर गाउँले युवा मिलेर बिनाज्याला मर्मतसम्भार गरिरहेका हुन्।
हावाहुरीले उडाएका घर हारगुहारमा मर्मतसम्भार गरिरहेको स्थानीय युवाहरू बताउँछन् । “हुरीबतासले गाउँमा सबैजसोका घर उडायो । हुरीसँगै पानी परेर घरभित्रका सामान भिजायो”, पालुङ्टार–९ सिस्नेरीका सुरेश सुनारी मगरले भने, “गाउँमा विपद् परेको भोलिपल्टै हामीले एउटा डफ्फा बनायौँ । काठको काम जान्नेले काठको काम, छाना छाउन जान्नेले छानाको काम, विद्युत् वायरिङ जान्नेले वायरिङको काम, जसले जे जानेको छ त्यही काम गरेर सबैलाई मद्दत गरिरहेका छौँ ।” युवाहरूको स्वयंसेवी अभियानले अहिलेसम्म गाउँका २५ भन्दा धेरैको घर मर्मतसम्भार गरिसकेको उनले बताए।
गाउँमा तीनवटासम्म समूह बनाएर काम भइरहेको अर्का स्थानीय भक्तबहादुर रानामगरले बताए । “घरको क्षतिको अवस्था हेरेर धेरैजना चाहिने रहेछ भने धेरैजना मिलेर, थोरै चाहिन्छ भने त्यहीअनुसार दुई–तीनवटा समूह बनाएर घर मर्मतको काम गरिरहेका छौ”, उनले भने,“एउटा घर चाँडै नै मर्मतसम्भार भइसक्यो भने त्यो समूह पनि अर्कोमा थपिएर काम गर्छौँ । बिहानैदेखि साँझसम्म काम गरिरहेका छौँ ।” गाउँले सबैजना विपद्मा परेकाले सबै मिलेर एकापसमा सहयोग गरिरहेको रानाले बताए।
गत वैशाख ६ गते साँझपख चलेको हुरीबतासले पालुङटार नगरपालिका–९ मा ३८ घरको छाना उडाएको नगरपालिकाले जानकारी दिएको छ । वडा नम्बर ८ मा आठ, वडा नम्बर ७ मा १० र वडा नं ६ मा १३ घर उडाएको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बताए । वडा नम्बर ९ को त्रिवेणी मावि र एउटा स्वास्थ्य संस्थासमेत उडाएको बिसीले जानकारी दिए।
पालिकाले तत्कालको समस्या समाधानका लागि त्रिपाल वितरण गरेको उनको भनाइ छ । “अहिले लगत सङ्कलन भर्खर सकिएको छ । केही दिनमा स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसेर पूर्ण क्षति भएकाहरूको घर पालिकाले मर्मत गरिदिने निर्णय गर्नेछौँ”, उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण