मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

भुरुङ तातोपानीमा बाढीले पाइपलाइन बगाएपछि खानेपानीको समस्या

मङ्गलबार, १५ वैशाख २०८३, २३ : १०
मङ्गलबार, १५ वैशाख २०८३

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा अविरल वर्षासँगै आएको बाढीले जनजीवन प्रभावित बनेको छ । मंगलबार दिउँसो भुरुङ तातोपानी बजारको शिरतर्फबाट बग्ने दुई खहरेखोलाबाट आएको बाढी बस्तीभित्र पसेपछि जनजीवन प्रभावित बनाएको हो ।

बाढी पसेर केही घरमा सामान्य क्षति पुर्‍याएको र खानेपानीको पाइपलाइन बगाएको स्थानीय होटल व्यवसायी अमृतमान शेरचनले जानकारी दिए । शेरचनका अनुसार बस्तीमा वितरणका लागि ल्याइएको पाइपलाइन बाढीले बगाएपछि तातोपानीमा खानेपानी अवरुद्ध बनेको छ ।

खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका शेरचनले तत्काल अस्थायी रूपमा खानेपानीको समस्या समाधानका लागि पाइपलाइन मर्मत गर्न बुधबार बिहानै श्रमदान कार्यक्रम राखिएको छ । पर्यटकीयस्थलको रूपमा परिचित तातोपानीमा रहेको होटलहरुमा पर्यटकहरुले खचाखच भएको समयमा खानेपानी अवरुद्ध बनाएपछि होटल व्यवसायीहरु समस्यामा परेका छन् ।

कूल ८२ घरधुरीको बसोबास रहेको भुरुङ तातोपानीमा साना ठुला गरी करिब ३० वटा होटल सञ्चालनमा छन् । मुस्ताङ प्रवेशमार्गका रूपमा रहेको प्राकृतिक तातोपानी कुण्डका कारण यहाँ पर्यटकहरूको हरेक दिन चहलपहल हुने गर्छ । बाढीले तातोपानीदेखि मान्द्रेढुङ्गा जाने सडकसमेत अवरुद्ध बनाएको वडा अध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए ।

मंगलबार परेको अविरल वर्षाको कारण बेनी जोमसोम कोरला सडकअन्तर्गत महभीर, तातोपानी, गुइठेभीर, खामभित्ता र लाटोखोलामा बाढी र पहिरोले सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि मुस्ताङ जाने आउने पर्यटक र सर्वसाधारण बिच बाटोमै रोकिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप