सगरमाथा आधार शिविरमा ‘ओभरनाइट स्टे’ प्याकेज बेच्न नपाइने
सारांश
- पर्यटन विभागले सगरमाथा आधार शिविरमा 'ओभरनाइट स्टे' सहितको प्याकेज बिक्री गर्न ट्रेकिङ एजेन्सीहरूलाई तत्काल रोक्न निर्देशन दिएको छ ।
- पर्वतारोहण नियमावली २०५९ अनुसार पर्वतारोही दलका सदस्य, पथप्रदर्शक, उचाइमा जाने र आधार शिविरका कामदारहरू बाहेक अन्यलाई रातको बास गराउन पाइँदैन ।
- विभागले नियम विपरीत कार्य गर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
काठमाडौँ । पर्यटन विभागले सगरमाथा आधार शिविर मा रहेका एक्सपेडिसन क्याम्पहरूमा ट्रेकिङ एजेन्सीहरूले ‘ओभरनाइट स्टे’ (रातको बास) सहितको प्याकेज बिक्री गरिरहेको भन्दै त्यस्ता कार्य तत्काल रोक्न निर्देशन दिएको छ ।
केही ट्रेकिङ एजेन्सीहरूले सगरमाथा आधार शिविरमा रात बिताउने गरी गैरकानुनी रूपमा प्याकेजको विज्ञापन गरेको गुनासो प्राप्त भएपछि विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक सूचना जारी गर्दै सबै सम्पर्क अधिकृत र ट्रेकिङ एजेन्सीहरूलाई प्रचलित कानुन पालना गर्न सचेत गराएको हो ।
को–को बस्न पाउँछन् आधार शिविरमा ?
पर्वतारोहण सम्बन्धी नियमावली २०५९ को दफा ९(ड २) को व्यवस्था अनुसार आधार शिविरमा पर्वतारोही दलका सदस्यहरू, पर्वतीय पथप्रदर्शक, उचाइमा जाने कामदारहरू र
आधार शिविरका कामदार र स्थानीय कामदारहरू मात्रै बस्न पाउने छन् ।
यी बाहेक अन्य कुनै पनि व्यक्तिलाई विभागको पूर्वस्वीकृति बिना आधार शिविरमा राख्न नपाइने व्यवस्था छ । विभागले पर्वतारोहण टोलीका सदस्य बाहेकका पर्यटकलाई रातको बास गराउने गरी प्याकेज बेच्नु कानुनी व्यवस्था विपरीत भएको स्पष्ट पारेको छ ।
कारबाहीको चेतावनी
विभागका शाखा अधिकृत प्रकाश पोखरेलले जारी गरेको सूचनामा भनिएको छ ‘कोही कसैबाट उल्लिखित कानुनी व्यवस्था विपरीतका कार्य भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही भई जाने व्यहोरा निर्णयानुसार अनुरोध छ ।’
विभागले सगरमाथा आधार शिविरमा रहेको अस्थायी फिल्ड कार्यालयलाई समेत यस विषयमा निगरानी बढाउन र नियम पालना गराउन बोधार्थ पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण