बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

ट्रम्पलाई धम्की दिएको भन्दै एफबीआईका पूर्वनिर्देशक जेम्स कोमीमाथि मुद्दा

बुधबार, १६ वैशाख २०८३, १६ : ४१
बुधबार, १६ वैशाख २०८३

सारांश

  • अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) का पूर्वनिर्देशक जेम्स कोमीमाथि सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्पलाई धम्की दिएको भन्दै मुद्दा चलाइएको छ ।
  • कोमीले २०२५ को मे महिनामा इन्स्टाग्राममा समुद्रको किनारमा सिपीहरू मिलाएर '८६ ४७' लेखिएको तस्बिर पोस्ट गरेका थिए, जुन ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपति भएको सन्दर्भमा थियो ।
  • कोमीले आफूले पोस्ट गरेको तस्बिरको अर्थ हिंसात्मक नभएको दाबी गर्दै आफू निर्दाेष रहेको बताएका छन् ।

वाशिङ्टन डीसी । अमेरिकाको संघीय अनुसन्धान ब्यूरो ‘एफबीआई’का पूर्वनिर्देशक जेम्स कोमीमाथि मुद्दा चलाइएको छ । गत वर्ष सामाजिक सञ्जालमा उनले पोस्ट गरेको एउटा फोटोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धम्क्याएको भनेर सो मुद्दा हालिएको हो ।

समुद्र किनारमा सिपीहरूलाई मिलाएर ‘८६ ४७ ’ लेखिएको तस्बिर कोमीले २०२५ को मे महिनामा इन्स्टाग्राममा पोस्ट गरेका थिए । समुद्री किनारमा हिँडिरहको बेलामा सिपीको चित्र भन्दै कोमीले फोटोमा क्याप्शन लेखेका थिए । उत्तर क्यारोलिनाको संघीय ग्रान्ड जूरीले अहिले कोमीमाथि सो पोस्टका कारण मुद्दा चलाएको हो ।

ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपति हुन् । अमेरिकाको अनौपचारिक बोलीचालीमा ‘८६’ को अर्थ कसैको हत्या गर्नु वा हटाउनु भन्ने हुन्छ । उनले सो तस्बिर पोस्ट गर्ने बित्तिकै त्यसले ट्रम्पलाई मार्ने धम्की दिएको भनेर आलोचना भएको थियो । राजनीतिक सन्देश दिन आफूले पोस्ट गरेको र त्यसको अर्थ हिंसात्मक हुनसक्छ भन्ने नसोचेको भनेर उनले लगत्तै अर्को पोस्ट गरेका थिए ।

पछि उनले सो तस्बिर राखेको पोस्ट हटाएका थिए । कोमीले एक भिडियो बयान जारी गर्दै वर्तमान अमेरिकी प्रशासनको निन्दा गरेका छन् । उनले आफू निर्दाेष भएको दाबीसमेत गरेका छन् ।

‘म अझै निर्दाेष छु, म अझै डराएको छैन र म अझै पनि स्वतन्त्र संघीय न्यायपालिकामा विश्वास गर्छु, त्यसैले अगाडि बढौँ,’ उनले भनेका छन् ।

कोमीले सो तस्बिर पोस्ट गर्ने बित्तिकै फक्स न्यूजसँग कुरा गर्दै एफबीआई निर्देशकलाई त्यसको अर्थ हत्या हो भन्ने थाहा थियो भनेर ट्रम्पले जिकिर गरेका थिए । कोमीले सो आकृति आफूले नबनाएको र समुद्री किनारमा हिँड्दा भेटेको दाबी गर्दै आएका छन् ।

कोमीलाई तत्कालीन राष्ट्रपति बाराक ओबामाले एफबीआई निर्देशक नियुक्त गरेका थिए । ट्रम्पले पहिलो कार्यकालको चुनाव जित्न रूससँग साँठगाँठ गरेको भनेर कोमीले ट्रम्प राष्ट्रपति भएकै बेला छानबिन गरेका थिए । आफूलाई फसाउन छानबिन गरेको भन्दै ट्रम्पले कोमीको कटु आलोचना गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप