विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट, भोलिको पेसी
सारांश
- सरकारले विद्यालय तथा विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी सङ्गठन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने गरी गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
- वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका नेताहरूले उक्त निर्णय असंवैधानिक भएको दाबी गर्दै संयुक्त रूपमा रिट दायर गरेका हुन् ।
- रिट निवेदनमा उक्त निर्णय संविधानको धारा १७ द्वारा प्रत्याभूत विचार र अभिव्यक्तिको स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र सङ्घ–संस्था खोल्ने स्वतन्त्रताको उल्लङ्घन भएको जिकिर गरिएको छ ।
काठमाडौँ । सरकारले विद्यालय तथा विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी सङ्गठन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने गरी गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय असंवैधानिक भएको दाबी गर्दै वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपालका नेताहरूले बुधबार संयुक्त रूपमा रिट दायर गरेका हुन् ।
रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगलाई विपक्षी बनाइएको छ ।
वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्यहरू सन्दीप थापा, अधिवक्ता प्रदीप विश्वकर्मा, सुमित मैनाली, मिली गौतम र कलश चम्लागाइँले दायर गरेको रिटमा सरकारको यो कदमले नागरिकको मौलिक हकमाथि प्रहार गरेको उल्लेख छ ।
प्रधानमन्त्री शाह नेतृत्वको सरकारले ‘शासकीय सुधारका १०० कार्यसूची’ अन्तर्गत ६० दिनभित्र शिक्षण संस्थाबाट दलीय विद्यार्थी संरचना हटाउने र ९० दिनभित्र ’विद्यार्थी काउन्सिल’ वा ’भ्वाइस अफ स्टुडेन्ट’ जस्ता वैकल्पिक संयन्त्र विकास गर्ने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री र शिक्षामन्त्रीले उपकुलपतिहरूलाई निर्देशन दिँदै आवश्यक परे सुरक्षाकर्मी समेत परिचालन गर्न सकिने बताएपछि विद्यार्थी सङ्गठनहरू कानुनी उपचारका लागि अदालत पुगेका हुन् ।
रिट निवेदनमा कार्यकारी आदेशको भरमा विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय संविधानको धारा १७ द्वारा प्रत्याभूत विचार र अभिव्यक्तिको स्वतन्त्रता, बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता र सङ्घ–संस्था खोल्ने स्वतन्त्रताको ठाडो उल्लङ्घन भएको जिकिर गरिएको छ।
निवेदकहरूले विद्यार्थी सङ्गठनहरू कुनै कम्पनी वा दर्ता ऐन अन्तर्गतका कर्पोरेट निकाय नभई समान विचार र आस्था भएका विद्यार्थीहरूको स्वैच्छिक वैचारिक मञ्च भएकाले यसलाई प्रतिबन्ध लगाउने अधिकार सरकारलाई नभएको जिकिर गरिएको छ।
साथै, रिटको अन्तिम टुङ्गो नलागेसम्म उक्त निर्णय कार्यान्वयन नगर्न र सम्पूर्ण विद्यार्थी सङ्गठन तथा स्ववियुहरूलाई पूर्ववत् अवस्थामै निर्बाध कार्य गर्न दिन विपक्षीका नाममा अन्तरिम आदेश जारी गर्न समेत सर्वोच्चसँग माग गरिएको छ। रिटको पेसी भोलिलाई तोकिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण