आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
अपडेट

रोल्पा जिप दुर्घटना : अप्ठ्यारो सडक र वर्षाले उद्धारमा समस्या

बिहीबार, १७ वैशाख २०८३, १९ : ५२
बिहीबार, १७ वैशाख २०८३

सारांश

  • रोल्पामा भएको जिप दुर्घटनामा अप्ठ्यारो भौगोलिक अवस्था र लगातार परेको वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भएको छ ।
  • रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप थवाङ गाउँपालिका-१ सल्याप क्षेत्रमा सडकबाट करिब ८ सय मिटर तल खसेको हो ।
  • वैशाख पूर्णिमाको अवसरमा पूजा गर्न जाँदै गरेका तीर्थयात्री सवार जिप दुर्घटना हुँदा हालसम्म २० जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बुटवल । रोल्पामा बिहीबार भएको जिप दुर्घटनामा अप्ठ्यारो भौगोलिक अवस्था र लगातार परेको वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भएको छ ।

जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीका अनुसार सदरमुकामबाट करिब ८५ किलोमिटर कच्ची तथा दुर्गम सडक पार गर्नुपर्ने भएकाले उद्धार टोली घटनास्थल पुग्न ढिलाइ भएको हो । लगातार परेको पानीका कारण सडक हिलो र चिप्लो बनेकोले एम्बुलेन्स तथा अन्य सवारी साधन सञ्चालनमा समस्या आएको उनले रातोपाटीलाई बताए ।

रोल्पाको धार्मिक तथा पर्यटकीय क्षेत्र जलजलामा वैशाख पूर्णिमाको अवसरमा पूजा गर्न जाँदै गरेका तीर्थयात्री सवार जिप दुर्घटना हुँदा हालसम्म २० जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप थवाङ गाउँपालिका–१ सल्याप क्षेत्रमा सडकबाट करिब ८ सय मिटर तल खसेको हो । अत्यन्तै भिरालो क्षेत्रमा जिप खसेकाले अधिकांश यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर रहेका छन् । उनको आधारभूत जलजला अस्पताल, थवाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकहरूको पहिचान भने अझै खुल्न सकेको छैन ।

घटनाको जानकारी पाउनेबित्तिकै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायको टोली घटनास्थलतर्फ खटिएको थियो । थप सहयोगका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जानकारी दिए ।

स्थानीयका अनुसार जलजला क्षेत्र मगर समुदायसहित हिन्दू धर्मावलम्बीका लागि आस्थाको महत्वपूर्ण केन्द्र मानिन्छ । यहाँ प्रत्येक वर्ष वैशाख पूर्णिमाको अवसरमा बराह मन्दिरमा पूजा गर्न ठूलो संख्यामा तीर्थयात्री आउने गर्छन् ।

यस वर्ष पनि सोही अवसरमा श्रद्धालुहरू उत्साहका साथ प्रस्थान गरेका थिए । तर गन्तव्य नजिकै सल्यापको अप्ठ्यारो भिरमा भएको दुर्घटनाले उत्सवको माहोल एकाएक शोकमा परिणत भएको स्थानीय मानसिंह विकले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप