एससीओ फोरमबाट ‘निङ्बो पहल’ पारित : हरित र दिगो विकासका लागि विश्वव्यापी सहकार्यमा जोड
सारांश
- सांघाई सहयोग सङ्गठन (एससीओ) को हरित तथा दिगो विकाससम्बन्धी फोरमले ‘निङ्बो पहल’ पारित गरेको छ ।
- यस सम्मेलनले जलवायु परिवर्तन, वातावरणीय संरक्षण र हरित अर्थतन्त्रको प्रवर्द्धनमा नयाँ दृष्टिकोण र भावी योजनाहरू तय गरेको छ ।
- युरेसियाली महादेशलाई समेट्ने एससीओ संयन्त्रमार्फत निष्पक्ष, समतामूलक र सबैको जित हुने विश्वव्यापी वातावरणीय शासन प्रणाली निर्माण गर्ने उद्देश्य राखिएको छ ।
निङ्बो । सांघाई सहयोग सङ्गठन (एससीओ) को हरित तथा दिगो विकाससम्बन्धी फोरम चीनको पूर्वी तटीय सहर निङ्बोमा बिहीबार सम्पन्न भएको छ । अप्रिल २९ देखि ३० सम्म चलेको यस सम्मेलनले जलवायु परिवर्तन, वातावरणीय संरक्षण र हरित अर्थतन्त्रको प्रवर्द्धनमा नयाँ दृष्टिकोण र भावी योजनाहरू तय गर्दै निङ्बो पहल (निङ्बो इनिसिएटिभ) पारित गरेको छ ।
चिनियाँ एससीओ कमिटी अन गुड-नेबरलिनेस, फ्रेन्डसिप एन्ड कोअपरेसन, चीनको इकोलोजी तथा वातावरण मन्त्रालय र चच्याङ प्रान्तीय सरकारको संयुक्त आयोजनामा भएको यस तीन दिने कार्यक्रममा वातावरणीय मुद्दाहरू र सहकार्यका नयाँ बाटाहरूको खोजी गरिएको थियो ।
मञ्चमा सङ्गठनका १० सदस्य राष्ट्रका साथै एससीओसँग जोडिएका अन्य १६ देश (पर्यवेक्षक र संवाद साझेदार) का प्रतिनिधिहरूको सहभागिता थियो । वातावरणीय निकायका प्रतिनिधि, उद्यमी, विशेषज्ञ, वैज्ञानिक र राजनीतिज्ञ गरी करिब तीन सय जना सहभागी उक्त कार्यक्रमले हरित र दिगो विकासको क्षेत्रमा व्यावहारिक सहकार्यलाई बढावा दिने लक्ष्य राखेको थियो ।
सम्मेलनका सहभागीहरूलाई शुभकामना सन्देश पठाउँदै चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वव्यापी इकोलोजिकल सभ्यता निर्माणमा चीनको महत्त्वपूर्ण योगदान रहेको तथ्यलाई जोड दिएका थिए । सहभागीहरूले पनि हानिकारक उत्सर्जन घटाउन, वृक्षारोपण गर्न र कार्बन सिङ्क सुरक्षित गर्ने दिशामा चीन हाल विश्वव्यापी नेताको रूपमा अगाडि बढेको भन्दै आयोजक राष्ट्रको कदमको प्रशंसा गरेका थिए ।
सम्मेलनको सबैभन्दा महत्त्वपूर्ण उपलब्धिका रूपमा ‘हरित भविष्यतर्फ इकोलोजीको संयुक्त विकास’ शीर्षकमा दिगो विकासमा एससीओ सहकार्यसम्बन्धी ‘निङ्बो पहल’ सर्वसम्मतिले पारित गरिएको छ । बढ्दो विश्वव्यापी शासन घाटा, सन् २०३० को दिगो विकास एजेन्डा कार्यान्वयनमा देखिएको ढिलाइ र जलवायु परिवर्तन तथा डिजिटल विभाजनजस्ता चुनौतीहरूको सामना गर्न यो पहल अघि सारिएको हो । यस सम्झौताले युरेसियाली महादेशलाई समेट्ने एससीओ संयन्त्रमार्फत निष्पक्ष, समतामूलक र सबैको जित हुने विश्वव्यापी वातावरणीय शासन प्रणाली निर्माण गर्ने उद्देश्य राखेको छ ।
पारित पहलअनुसार अब सदस्य राष्ट्रहरूले जलवायु परिवर्तनलाई सम्बोधन गर्नेसम्बन्धी एससीओ राष्ट्रप्रमुखहरूको परिषद्को वक्तव्यलाई कार्यान्वयन गर्दै विश्वव्यापी हरित र न्यून कार्बन सङ्क्रमणमा योगदान पुर्याउनेछन् । वायु प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनको समन्वयात्मक शासनमा नीति, नियम र मापदण्डहरू आदानप्रदान गरिनेछ ।
यसैगरी, चीन-एससीओ इकोलोजी एन्ड इन्भायरमेन्ट इनोभेसन बेसमा आधारित रहेर हरित र न्यून-कार्बन प्रविधिहरूमा साझेदारी स्थापना गर्दै संयुक्त अनुसन्धान र विकासलाई तीव्रता दिइने सहमति भएको छ ।
साथै, इकोलोजी र वातावरणको डिजिटल र बौद्धिक विकासलाई हरित उद्योगसँग जोड्ने, स्रोत संरक्षण, ऊर्जा दक्षता र न्यून उत्सर्जन विकासजस्ता उन्नत अवधारणाहरूको प्रयोग बढाउने र हरित विकासको सम्पूर्ण शृङ्खलालाई समेट्ने गरी जनशक्ति तालिम प्रणाली निर्माण गर्ने विषय पनि पहलमा समेटिएको छ ।
हरित लगानी तथा वित्तपोषण र कार्बन बजार निर्माणमा नीतिगत र प्राविधिक उपकरणहरूको विकास गरिनेछ । यसका लागि अन्तर्राष्ट्रिय सङ्गठन र वित्तीय संस्थाहरूको समन्वयमा हरित परियोजनाहरूका लागि थप वित्तीय च्यानलहरू खोज्ने सहमति जुटेको छ । कुनमिङ-मोन्ट्रियल ग्लोबल बायोडाइभर्सिटी फ्रेमवर्कको कार्यान्वयनलाई अगाडि बढाउँदै जैविक विविधताको संरक्षण र दिगो उपयोगका लागि व्यावहारिक अनुभव र प्राविधिक उपलब्धिहरू साझा गरिने विषयलाई पनि निङ्बो पहलले उच्च प्राथमिकतामा राखेको छ ।
कार्यक्रमको दौरान नयाँ परियोजनाहरू कार्यान्वयन गर्ने विचार र अवसरहरूबारे विस्तृत छलफल भएको थियो । चीनको डालियान युनिभर्सिटी अफ टेक्नोलोजीले खुला प्रदर्शनीमार्फत स्वच्छ ऊर्जा, विन्ड टर्बाइन, ऊर्जा भण्डारण र वैज्ञानिक जोखिम मूल्याङ्कनमा भएका नवीनतम विकासहरूलाई तथ्याङ्क र रेखाचित्रसहित प्रस्तुत गरेको थियो ।
यसका साथै, अन्य देशहरूले पनि आफ्ना अद्वितीय अनुभवहरू मञ्चमा साटेका थिए । सम्मेलनकै साइडलाइनमा सचिवालय र एससीओ समितिले ‘हरित एससीओ, एक सुन्दर भविष्य’ शीर्षकमा एससीओ देशका बालबालिकाहरूको चित्रकला प्रदर्शनीसमेत आयोजना गरेको थियो ।

कार्यक्रमको समापन गर्दै एससीओका उपमहासचिव सोहेल खानले मञ्चमा व्यक्त विचारहरूले नयाँ दिशा निर्देश गरेको बताए । ‘यहाँ बोल्ने सबैले केही नयाँ कुरा व्यक्त गर्नुभयो । उहाँहरूको मन्तव्यमा नयाँ विचारहरू, नयाँ भविष्यका लागि उनीहरूको दृष्टिकोण र त्यो दिशामा कसरी अगाडि बढ्ने भन्ने कुरा समावेश थियो,’ खानले भने, ‘उहाँहरूले केवल यस्ता दिशाहरू र सम्भावनाहरू अवस्थित छन् भन्ने कुरा सबैसामु प्रकट गरेका छन् ।’
यस सम्मेलनले क्षेत्रीय हरित र न्यून-कार्बन सङ्क्रमणलाई संयुक्त रूपमा प्रवर्द्धन गर्दै दिगो भविष्यतर्फ अघि बढ्न सदस्य राष्ट्रहरूबिचको हरित साझेदारीलाई थप गहिरो बनाएको निष्कर्ष निकालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
-
जब म चुँडिएँ...
-
भारी वर्षा र पहिरोको जोखिम : इलाममा बेलुका ८ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
-
कम्बोडियामा रहेका नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुँदै
-
नर्वेमा नेपालगन्ज म्याराथनलाई प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ प्रदान
-
मुस्ताङमा चक्रपथ निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण