शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
नियात्रा

दक्षिण भारत यात्राका स्मृतिहरू

शनिबार, ०६ असार २०८३, १३ : ३०
शनिबार, ०६ असार २०८३

सारांश

  • दक्षिण भारतको यात्रामा कोची, पुन्नमादा ताल, कोल्लमको जटायु मूर्ति, पुवार समुद्री किनार, कन्याकुमारी, रामेश्वरम र मैसूरु जस्ता स्थानहरूको भ्रमण गरियो।
  • यात्रुहरूले हाउसबोटमा बसेर जलक्रीडाको आनन्द लिँदै प्रकृति र मनोरम दृश्यहरूको अनुभव गरे।
  • कन्याकुमारीमा बङ्गालको खाडी, अरेबियन सी र हिन्द महासागरको संगम, रामसेतु र अब्दुल कलाम मेमोरियल हलको अवलोकन गरियो।

गोवाको मडगाउँ रेलवे स्टेसनबाट २०८२, पौष २३ का दिन हामी कोचीको यात्रामा निस्कियौँ। स्टेसनको भिडभाड र यात्रुहरूको चहलपहलबीच केही बेरको प्रतीक्षापछि ‘राजधानी एक्सप्रेस’ हाम्रो अगाडि आइपुग्यो। हामी हतारिँदै आफ्नो डिब्बामा बस्यौँ, अनि रेलले छुकछुक गर्दै आफ्नो गन्तव्यतर्फको यात्रा सुरु गर्‍यो।

रेल अगाडि बढ्दै जाँदा कहिले हरियाली त कहिले ससाना बस्तीहरू हाम्रा सामु झ्यालबाहिरका दृश्यहरू बनेर बदलिँदै गए। हामी साथीहरूबीच गफिँदै, हाँस्दै, यात्राको प्रत्येक क्षणलाई सम्झनलायक र रमाइलो बनाउँदै थियौँ।

बीचबीचमा रेलका कर्मचारीहरूले ल्याएका ताताताता खानेकुराले यात्रालाई झन् स्वादिलो बनाइदिँदै थियो। यसरी हाँसोठट्टा र रमाइलो तरङ्गहरूबीच हाम्रो यस दिनको यात्रा राति करिब नौ बजेसम्म कोचीको व्यस्त मुटुमा रहेको एर्नाकुलम जङ्क्सन रेलवे स्टेसन नपुगेसम्म एकनासले बगिरह्यो। अन्ततः थाकेको शरीर र उत्साहले भरिएको मन लिएर त्यस दिनको यात्रालाई विश्राम दिन होटलतिर लाग्यौँ।

भोलिपल्ट बिहानै नयाँ सपनाजस्तै एउटा अर्को गन्तव्यतर्फ लाग्यौँ, त्यो थियो— पुन्नमादा ताल। पानी र आकाशले एकअर्कालाई अँगालो हालेको आभास दिने शान्त संसार।

त्यहाँ पानीमाथि तैरिने सानो घरझैँ लाग्ने हाउसबोट (मानिसहरू बस्न र घरको रूपमा प्रयोग गर्न मिल्ने गरी विशेष रूपमा बनाइएको डुङ्गा) हाम्रो प्रतीक्षामा थियो। तीन परिवारका लागि तीनवटा सुविधासम्पन्न कोठा र स्वादिलो भोजनको व्यवस्था मात्र होइन, आएका यात्रीहरूलाई जलक्रीडाको आनन्द उपलब्ध गराउने सबै जिम्मा त्यही हाउसबोटकै थियो।

पानीमाथि हाउसबोट, हाउसबोटभित्र हामी। कहिले छतमा उभिएर हरियाली किनाराहरू नियाल्यौँ, कहिले डाइनिङ टेबलमा बसेर हाँसोका लहरहरू फैलायौँ। कहिले आरामदायी सोफामा ढल्केर विश्राम गर्यौँ त कहिले झ्यालछेउमा बसेर फोटो र भिडियोमा ती क्षणहरू कैद गर्यौँ।

त्यहाँ उभिँदा केवल एउटा मूर्ति हेरेजस्तो मात्र लाग्दैन। साहस, त्याग र कर्तव्यको गाथा मौन रूपमा बोलिरहेजस्तो अनुभव हुन्छ।

त्यो रात हल्का, स्वच्छ र आनन्दले भरिएको हाम्रो मन पनि पानीसँगै एकनासले बगिरह्यो। त्यो सुनौलो अनुभवले केवल दूरी मात्र तय गरेन, हामी सबैको मनभित्र एउटा उत्साह र अविस्मरणीय स्मृतिका डोबहरू पनि रोपेर गयो।

अर्को दिन कोल्लम पुगेपछि हामीलाई संसारकै सबैभन्दा विशाल पन्छीको मूर्ति अवलोकन गर्ने अवसर मिल्यो। हरियालीले ढाकिएको डाँडाको टुप्पोमा फैलिएको ६५ एकड क्षेत्रभित्र उभिएको त्यो भव्य जटायु मूर्ति करिब २०० फिट लामो, १५० फिट चौडा र ७० फिट उचाइको रहेछ।

दक्षिण भारतको मध्यदिनको घाममा चर्को उकालोको चढाइ त्यति सहज नभए तापनि पखेटा भाँचिएको अवस्थामा बनाइएको त्यो भीमकाय आकृतिले मन नै स्तब्ध पार्ने गरी भव्य र अर्थपूर्ण लाग्थ्यो। हिन्दु धर्मग्रन्थ रामायणमा वर्णन गरिएको एउटा कथाअनुसार, रावणले सीतालाई हरण गरेर आकाश मार्ग हुँदै लैजाँदै गर्दा जटायुले साहसपूर्वक उसलाई रोक्ने प्रयास गर्छ। त्यसक्रममा रावणको आक्रमणबाट जटायु गम्भीर घाइते भई भुइँमा ढल्छ र पछि रामको सेना त्यही बाटो हुँदै सीतालाई खोज्दै आउँदा रावणले सीतालाई कतातिर लगेको हो भन्ने जानकारी दिँदादिँदै आफ्नो प्राण त्याग्छ। यही जनविश्वासका आधारमा यो विशाल स्मारक निर्माण गरिएको रहेछ।

Radhika

त्यहाँ उभिँदा केवल एउटा मूर्ति हेरेजस्तो मात्र लाग्दैन। साहस, त्याग र कर्तव्यको गाथा मौन रूपमा बोलिरहेजस्तो अनुभव हुन्छ। पहाडको शिखरबाट देखिने प्रकृतिको विस्तार र जटायुको अडिग आकृतिले मनमा गहिरो छाप छोड्छ, मानौँ अन्यायविरुद्ध उठेको स्वर सधैँ अमर रहिरहन्छ।

भोलिपल्ट हामी दक्षिण भारतकै तिरुवनन्तपुरमबाट करिब तीस किलोमिटर यात्रा गर्दै सुन्दर पुवार नामको समुद्री किनारमा पुग्यौँ। त्यहाँको सुन्दर डुङ्गा यात्राले हाम्रो मन नै आनन्दित बनाइदियो। शान्त पानीमाथि डुङ्गा बिस्तारै अघि बढ्दै गर्दा वरिपरि उभिएका नरिवलका अग्ला रुखहरू हावासँगै लहराउँदै हामीलाई स्वागत गरिरहेका जस्ता लाग्थे।

पानीमा आकाशको नीलो छाया टलक्क टल्किएको थियो। साना टापुजस्ता देखिने भूभागहरू, पानीमाथि तैरिरहेका होटल–रेस्टुरेन्टहरू अनि स्वतन्त्र रूपमा उडिरहेका चराचुरुङ्गीहरू— यी सबै दृश्यले मनमा अद्भुत शान्ति र आनन्द भर्नु स्वाभाविक नै थियो।

डुङ्गाबाट ओर्लिएपछि देखिएको दृश्य झन् लोभलाग्दो थियो। एकातिर शान्त ब्याकवाटर्स, अर्कोतिर विशाल अरबी सागरको खुला छाती, यसकै बीचमा सुनौलो बालुवाले सजिएको समुद्री किनारा।

प्रकृतिले आफ्नै हातले बनाएको सुन्दर चित्रझैँ लाग्ने त्यो दृश्यले मनलाई पूर्ण रूपमा मोहित बनायो। त्यो क्षण शब्दमा बयान गर्न गाह्रो भए पनि, हृदयमा भने त्यो मिठास सधैँका लागि बसिरह्यो।

अर्को दिन बिहानै प्रसिद्ध कन्याकुमारी मन्दिर पुग्यौँ। जहाँ बङ्गालको खाडी, अरेबियन सी र हिन्द महासागरले एकआपसमा न्यानो अँगालो हालेका देखिन्छन्। त्यहाँको खुला समुद्री किनारमा उभिँदा त्यहाँको बिहान यति चिसो हुन्छ होला भन्ने कल्पना नै नगरेका कारणले हामीले न्यानो लुगा लगाएर गएका थिएनौँ।

शरीर चिसो बन्दै गए तापनि मन भने सूर्योदय हेर्ने उत्साहले तातिरहेको थियो। हामी ६ जना नेपाली मात्र होइन, त्यहाँ त सुन्दर दृश्यको पर्खाइमा हामीजस्तै हजारौँ यात्रीहरू लामबद्ध थिए। तर संयोग, सूर्य उदाउने बेलामा कतैबाट टुप्लुक्क आइपुगेको कालो बादलले आकाश ढपक्क ढाकिदियो, सूर्यको सुनौलो मुस्कान देख्नै पाइएन।

हामी निराश भएर कन्याकुमारी मन्दिर प्रवेश गर्न लामो लाइनमा लामबद्ध भयौँ।

मुद्रको बीचमा उभिएको चट्टानमा पुग्दा चारैतिर फैलिएको नीलो जलराशि र खुला आकाशले मन नै मोहित बनायो।

मूलद्वारसँगै जुत्ता राख्ने शुल्क तिरेर जुत्ता राख्यौँ। लामबद्ध भएर केही अगाडि पुगेपछि पछाडि भिरेको झोला र हातमा भएको सबै सामान पनि अलग्गै शुल्क तिरेर राख्नुपर्‍यो।

त्यसपछि केही अगाडि पुगेपछि पुरुषहरूले माथिको लुगा खोल्नुपर्ने नियम सुनियो। यसै कारणले हामीमध्येका केही साथीहरू फर्किनुभयो, तर हामी दुई दम्पतीलाई यति टाढा आएपछि मन्दिर प्रवेश नगरेरै फर्किन उचित लागेन।

दर्शनस्थल नजिकै पुगेपछि प्रतिव्यक्ति भारु २० तिरेर मात्र भित्र पठाइने रहेछ। संयोगले खल्तीमा केही खुद्रा रुपैयाँ रहेछन्। त्यहाँको भिड, लामबद्ध हुने नियम र व्यवस्थापन साँच्चिकै उदाहरणीय लाग्यो। त्यस दिनको दिउँसो अर्को लामो लाइनमा बसेर ‘विवेकानन्द रक मेमोरियल’ जाने टिकट लियौँ।

समुद्रको बीचमा उभिएको चट्टानमा पुग्दा चारैतिर फैलिएको नीलो जलराशि र खुला आकाशले मन नै मोहित बनायो। खाली खुट्टा तातो भुइँमा टेक्दा भने तातोपनले झट्का दिएझैँ हुन्थ्यो, तर त्यो सानो असजिलोपन पनि दृश्यको सौन्दर्यले बिर्साइदियो।

पटकपटक लाइनमा बसेर प्रवेश शुल्क तिर्नु केही असहज लागे पनि आँखाअगाडि विशाल समुद्र र भीमकाय स्मारकको भव्यताले सबै थकान भुलाइदियो। त्यहाँ भएको स्वामी विवेकानन्द रक मेमोरियल, गान्धी मेमोरियल र चर्चको अवलोकन गर्दै सुन्दर सूर्यास्तसँगै कन्याकुमारीको यात्रा पनि अविस्मरणीय हुँदै सम्पन्न भयो।

अर्को दिन चारधाममध्येको एक पवित्र स्थल रामेश्वरम पुग्यौँ। कन्याकुमारीमा देखेको र भोगेको तीर्थालुको भिडसँग आत्तिएका हामी बिहानको सट्टा साँझपख नै मन्दिरतर्फ लाग्यौँ। केही समयको पर्खाइपछि रामनाथस्वामीको दर्शन गर्ने अवसर मिल्यो।

निधारभरि खरानीको विभूति लगाउँदा र एकअर्कालाई लगाइदिँदा भित्रैदेखि रमाइलो मात्र होइन, शान्ति र श्रद्धाको अनुभूतिसमेत भयो। रावण वधपश्चात् भगवान् रामलाई लागेको ब्रह्महत्याको दोषबाट मुक्त हुन यहाँ शिवलिङ्ग स्थापना गरी पूजा गरेका थिए भन्ने मान्यता छ।

मन्दिरभित्र रहेका बाइस कुण्डलाई ‘बाइस तीर्थ’ भनिन्छ। यी कुण्डहरूमा भगवान् रामले बाणद्वारा जल प्रकट गराएर आफ्ना बाणहरू पखालेका थिए भन्ने धार्मिक विश्वाससमेत रहेको छ।

रामेश्वरम मन्दिरको सबैभन्दा चर्चित विशेषता यसको लामो करिडोर हो, जसलाई संसारकै सबैभन्दा लामो मन्दिर करिडोरमध्येको एक मानिन्छ। स्तम्भहरूमा कोरिएका सूक्ष्म नक्कासी र भित्ताभरि सजिएका चित्रहरूले दक्षिण भारतीय वास्तुकलाको उत्कृष्ट नमुना प्रस्तुत गर्छन्।

भोलिपल्ट तमिलनाडु र श्रीलङ्काको मन्नार टापुबीच फैलिएको रामसेतु पुग्दा हामी सबैको मन आनन्दभावले भरियो। हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित कथाअनुसार, भगवान् रामले लङ्का पुग्न वानर सेनाको सहयोगमा समुद्रमाथि निर्माण गरेको पुलका रूपमा रामसेतुलाई स्मरण गरिन्छ।

यसलाई केवल ढुङ्गा र बालुवाको शृङ्खला मात्र होइन, आस्था, विश्वास र सांस्कृतिक स्मृतिको मौन अभिलेख पनि मान्न सकिन्छ।

त्यहाँबाट भारतका पूर्वराष्ट्रपति अब्दुल कलाम मेमोरियल हल पुगियो। समाधिस्थलमा बनाइएको मेमोरियल हलमा मुगल वास्तुकलाको मिश्रण, कलामको जीवनी, शिक्षा, वैज्ञानिक उपलब्धि, मिसाइल र रकेटका मोडलहरू, ठ्याक्कै जीवित अब्दुल कलामजस्तै प्रतिमा आदि हेरेर रामेश्वरमको यात्रालाई बिट मारियो।

साँझपख हामी मैसूरुकै वृन्दावन गार्डेन पुग्यौँ, जुन कृष्णराज सागर बाँध र कावेरी नदीसँग जोडिएको सुन्दर बगैँचा हो। कान्लाकान्ला शैलीमा फैलिएको हरियालीबीच साँझ पर्दै जाँदा बत्तीको उज्यालो र म्युजिकल फाउन्टेनको लयबद्ध नृत्य सुरु भयो।

यस दिन मदुराइको बसाइपछि नीलगिरिको काखमा रहेको अर्को दिन सुन्दर पहाडी नगर ऊटी पुगियो। चिसो हावाको कोमल स्पर्श, हरियालीले ढाकिएका डाँडाकाँडा, अनगिन्ती चियाबगान र ब्रिटिसकालीन भवनहरूले सजिएको त्यो सहर साँच्चै दुलहीझैँ सिँगारिएको छ जस्तो लाग्थ्यो।

बिहानको कुहिरोभित्र हराउँदै र बेलाबखत देखिँदै जाने दृश्यले मनलाई असाध्यै ताजगी दिन्थ्यो।

त्यसपछि हामी कर्नाटकतर्फ लाग्यौँ र ऐतिहासिक सहर मैसूरु पुग्यौँ। त्यहाँको भव्य मैसूरु दरबार देख्दा आँखै झलमल भयो। कृष्णराज वोडेयार चौथोको पालामा सन् १९१२ मा सम्पन्न यो दरबारको कलात्मक बनावट, सुनौलो सिंहासन, राजकीय कक्ष, पुराना हतियार, पोसाक र चित्रहरू हेर्दा इतिहास सजीव भएर अगाडि उभिन्छ।

घुम्न आउनेहरूको अथाह भिडभाडबीच चिटिक्क भएर सजिएका प्रत्येक कक्षले कुनै न कुनै कथा फुसफुसाइरहेका छन् जस्तो भान हुन्थ्यो।

साँझपख हामी मैसूरुकै वृन्दावन गार्डेन पुग्यौँ, जुन कृष्णराज सागर बाँध र कावेरी नदीसँग जोडिएको सुन्दर बगैँचा हो। कान्लाकान्ला शैलीमा फैलिएको हरियालीबीच साँझ पर्दै जाँदा बत्तीको उज्यालो र म्युजिकल फाउन्टेनको लयबद्ध नृत्य सुरु भयो।

पानी, सङ्गीत र प्रकाशको अद्भुत सङ्गमले वातावरणलाई स्वप्निल बनायो। शब्दभन्दा परको त्यो क्षण साँच्चिकै मिठासले भरिएको थियो।

चामुण्डेश्वरी मन्दिर र चिडियाखानाको रमणीय भ्रमणपछि कर्नाटकको राजधानी बेङ्गलुरुमा दुई रातको बसाइसँगै यो यात्राको समापन भयो। समग्र यात्रा निकै सन्तोषजनक रह्यो। भ्रमण गरिएका स्थलहरू एक से एक आकर्षक र स्मरणीय थिए। यस सुन्दर यात्राको व्यवस्थापनका लागि हिमालय एक्सप्लोरेसन टुर एन्ड ट्राभल्सप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. राधिका बुढ्थापा
डा. राधिका बुढ्थापा
लेखकबाट थप