बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
राजनीति

नेकपा बैठकका ७ बुँदे निर्णय सार्वजनिक

शनिबार, १९ वैशाख २०८३, १४ : ३३
शनिबार, १९ वैशाख २०८३

सारांश

  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यसंयोजन समितिको पहिलो बैठकमा सातबुँदे निर्णय सार्वजनिक गरेको छ।
  • बैठकले २०८३ मंसिर ११ देखि १५ गतेसम्म काठमाडौँमा पार्टीको एकता राष्ट्रिय महाधिवेशन गर्ने र त्यसअघि जनवर्गीय संगठन तथा स्थानीय तहका कमिटीहरूको समायोजन सक्ने निर्णय गरेको छ।
  • पार्टीले निर्वाचित कमिटीहरूमा युवा र नव-युवाहरूको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने तथा संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले  केन्द्रीय कार्यसंयोजन समितिको पहिलो बैठकका सातबुँदे निर्णयहरू सार्वजनिक गरेको छ। 

संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' को अध्यक्षता र सह-संयोजक माधव कुमार नेपालको सञ्चालनमा सम्पन्न बैठकले पार्टीको आगामी एकता महाधिवेशनको कार्यतालिका र साङ्गठनिक सुदृढीकरणको मार्गचित्र तय गरेको हो।

बैठकले आगामी २०८३ मंसिर ११ देखि १५ गतेसम्म काठमाडौँमा पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। त्यसअघि आगामी जेठ मसान्तभित्र सबै जनवर्गीय संगठन र स्थानीय तहका कमिटीहरूको समायोजन सक्ने र भदौदेखि कात्तिकसम्म वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशनहरू सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ। 

पार्टीले आफ्ना निर्वाचित कमिटीहरूमा युवा र नव-युवाहरूको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने क्रान्तिकारी निर्णय समेत लिएको छ।

यसैगरी, बैठकले  फागुनमा सम्पन्न निर्वाचनको समीक्षा प्रतिवेदन पारित गर्दै संविधान संशोधनका लागि सुझाव दिन ११ सदस्यीय कार्यदल गठन गरेको छ। 

देव गुरुङ, प्रकाश ज्वाला, रेखा शर्मा, खिमलाल देवकोटा लगायत सदस्य रहेको उक्त कार्यदलले संविधानका सबल र दुर्बल पक्षबारे सुझाव दिनेछ।

 पार्टीले १९ वटा समसामयिक प्रस्ताव पारित गर्दै सिंगो कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एकीकृत पार्टी निर्माणका लागि विशेष पहल गर्ने प्रतिबद्धता समेत जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप