सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

प्रदीप र शिभाली च्याम्पियन

शनिबार, १९ वैशाख २०८३, १८ : २६
शनिबार, १९ वैशाख २०८३

सारांश

  • प्रदीप खड्का र शिभाली गुरुङ १२ औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा पुरुष र महिला सिंगल्सतर्फ च्याम्पियन बनेका छन् ।
  • पुरुष फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई २-६, ६-३, ६-४ को सेटमा पराजित गरे ।
  • महिला सिंगल्समा शिभालीले स्वस्तिका विष्टलाई ३-६, ६-३, ६-१ को सेटमा हराइन् ।

काठमाडौँ । प्रदीप खड्का र शिभाली गुरुङ १२ औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । 

सिंगल्सको पुरुषमा प्रदीप र महिलामा शिभाली पहिलो भएका हुन् । दुवैले पहिलो सेटमा पछि परेको स्थितिलाई उल्ट्याउदै उपाधि जित्न सफल भए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको पुरुष फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई २–६, ६–३ र ६–४ को सेटमा पराजित गरे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौँ जिल्ला टेनिस सङ्घद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिला सिंगल्सको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका विष्टलाई ३–६, ६–३ र ६–१ को सेटमा हराइन् ।

नेपाल टेनिस सङ्घको सहयोगमा भएको प्रतियोगितामा जम्मा १२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुष डबल्समा प्रणव खनाल र आयुशमान हजुर घलेको जोडी, ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्री, ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र परियार र छेवाङ लामाको जोडी, ४५ वर्षमाथि पुरुष सिंगल्समा देव क्षेत्री, ४५ वर्षमाथि पुरुष डबल्समा रोहित सुनुवार र महेश श्रेष्ठको जोडी पहिलो भएका थिए ।

त्यस्तै ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङ, ५५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही र सोभितमान श्रेष्ठको जोडी, ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा, ६५ वर्षमाथि पुरुष डबल्समा कमल थापा र छ्याम्बा डुन्डुपको जोडी तथा ७० वर्षमाथि पुरुष सिंगल्समा धीरबहादुर गुरुङ च्याम्पियन बनेका थिए ।

विजेतालाई सिटिजन्स बैंकका निर्देशक विजयध्वज कार्की र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नेपाल टेनिस सङ्घका अध्यक्ष मनोहरदास मुल र महासचिव निरेश श्रेष्ठ, आयोजक काठमाडौँ जिल्ला टेनिस सङ्घका अध्यक्ष प्रवीण वैद्यलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे ।

विभिन्न १२ स्पर्धामा १ सय ५४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सबै स्पर्धाका पदक विजेतालाई आयोजकको तर्फबाट कुल ५ लाख ६८ हजार ७ सय ५० रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । त्यसबाहेक सिटिजन्स बैंकले पुरुष/महिला सिंगल्सका विजेता र उपविजेतालाई छुट्टै कुल १ लाख ३१ हजार २ सय ५० रुपैयाँ नगद पुरस्कार उपलब्ध गराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप