आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

अर्बपति लक्ष्मी मित्तल र अदार पूनावालाले किने राजस्थान रोयल्स

सोमबार, २१ वैशाख २०८३, ०६ : २२
सोमबार, २१ वैशाख २०८३

सारांश

  • भारतीय अर्बपति लक्ष्मी मित्तल र अदार पूनावालाले १.६५ बिलियन डलरमा राजस्थान रोयल्स खरिद गरेका छन्।
  • यस सम्झौतामा पर्ल रोयल्स र बार्बाडोस रोयल्सको स्वामित्व पनि समावेश छ।
  • मित्तल परिवारको ७५ प्रतिशत र पूनावालाको १८ प्रतिशत हिस्सा रहनेछ।

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली राजस्थान रोयल्सको स्वामित्वमा फेरबदल भएको छ। 

भारतीय अर्बपति व्यवसायी लक्ष्मी मित्तल र अदार पूनावालाले १.६५ बिलियन डलर (करिब १५ हजार ६६० करोड भारतीय रुपैयाँ) मा राजस्थान रोयल्सको खरिद गरेका हुन्। 

यो सम्झौतामा राजस्थान रोयल्सका साथै दक्षिण अफ्रिकाको पर्ल रोयल्स र क्यारेबियन प्रिमियर लिगको बार्बाडोस रोयल्सको स्वामित्व पनि समावेश छ। आइतबार सार्वजनिक गरिएको आधिकारिक विज्ञप्ति अनुसार मित्तल परिवारले मुख्य लगानीकर्ता मनोज बाडलेसँग अन्तिम सम्झौता गरिसकेको छ। 

नयाँ स्वामित्व संरचनामा मित्तल परिवारको ७५ प्रतिशत र सिरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख अदार पूनावालाको १८ प्रतिशत हिस्सा रहनेछ। बाँकी ७ प्रतिशत शेयर भने पुरानो लगानीकर्ता मनोज बाडले र अन्यसँग रहने बताइएको छ। यो सम्झौताले गत मार्चमा अमेरिकी लगानीकर्ताहरूले गरेको १.६३५ बिलियन डलरको अफरलाई समेत उछिनेको छ।

सन् २००८ मा मात्रै ६७ मिलियन डलरमा खरिद गरिएको राजस्थान रोयल्सको मूल्य १८ वर्षमा ५८ गुणाले बढेको देखिएको छ। यसअघि अमेरिकी उद्यमी काल सोमानी र एनएफएल टोलीका मालिकहरूको समूहले राजस्थान किन्न खोजे पनि अन्तिम चरणमा मित्तल र पूनावालाको समूहले बाजी मारेको हो। 

मित्तल परिवार र पूनावाला दुवैले यसअघि रोयल च्यालेन्जर्स बैंगलोर खरिद गर्न पनि प्रयास गरेका थिए। सन् २०२६ को तेस्रो त्रैमासभित्र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को स्वीकृतिको प्रक्रिया पूरा भएसँगै उनीहरू आधिकारिक रूपमा बोर्डमा सामेल हुनेछन्।

राजस्थानको सादुलपुरमा जन्मिएका लक्ष्मी मित्तलले आफ्नो पुर्ख्यौली थलोको टोलीसँग जोडिन पाउँदा खुसी व्यक्त गरेका छन्। उनले आफ्नो परिवार राजस्थानबाटै भएकाले यस टोलीको हिस्सा बन्नु गौरवको कुरा भएको बताएका छन्। त्यस्तै मनोज बाडले नयाँ मालिकहरूको क्रिकेटप्रतिको लगाव र राजस्थानसँगको पुरानो सम्बन्धले टोलीको आगामी यात्रा अझ सफल हुनेमा विश्वास व्यक्त गरेका छन्। 

बाडले अब नयाँ मालिकहरू र पुरानो इतिहासको बिचमा सेतुको रूपमा काम गर्ने टोलीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप