शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

दुबईमा अलपत्र काभ्रेकी युवतीको उद्धार : सहयोगको नाममा नक्कली एनआरएनएले ठगे

सोमबार, २१ वैशाख २०८३, ०८ : ५२
सोमबार, २१ वैशाख २०८३

सारांश

  • दुबईमा घरेलु कामदारका रूपमा कार्यरत काभ्रेकी रमिता रमतेल चरम मानसिक यातनापछि सडकमा पुगेकी थिइन्।
  • रमितालाई सहयोग गर्ने बहानामा नक्कली गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिहरूले उनको परिवारसँग १ लाख ४० हजार रुपैयाँ ठगी गरेका थिए।
  • वास्तविक एनआरएनए युएईको सक्रियतामा ११ दिनभित्र रमिताको कागजी प्रक्रिया पूरा गरी उनलाई स्वदेश फर्काइएको छ।

दुबई । वैदेशिक रोजगारीका लागि २२ महिनाअघि यूएई पुगेकी काभ्रेपलाञ्चोककी रमिता रमतेल अन्ततः अनेकौँ हन्डर र ठगीको शिकार बनेर स्वदेश फर्किएकी छन्। 

घरेलु कामदारका रूपमा दुबई पुगेकी रमिताले घर मालिकबाट पाएको चरम मानसिक यातना सहन नसकेर घरबाट भाग्नुपरेको थियो। तर, घरबाट भागेर सडकमा पुगेकी उनलाई सहयोग गर्ने बहानामा उल्टै नक्कली संस्थाहरूले ठगी गरेको दर्दनाक तथ्य बाहिर आएको छ।

घरबाट भागेपछि तीन दिनसम्म खुला आकाशमुनि भोकभोकै बिताएकी रमितालाई केही व्यक्तिहरूले आफूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधि बताएर सम्पर्क गरेका थिए। उनीहरूले नेपाल फर्काइदिने र कानुनी प्रक्रिया मिलाइदिने आश्वासन दिँदै रमिताको परिवारबाट १ लाख ४० हजार नेपाली रुपैयाँ असुलेका थिए। 

नक्कली एनआरएनए बनेर ठगी गर्ने ती व्यक्तिहरूले उनलाई झन्डै १९ महिनासम्म झुलाएर राखेको एनआरएनएका केन्द्रीय उपाध्यक्ष मनोज गोर्खालीले जानकारी दिए। ठगहरूले रमितालाई नक्कली टिकट र कागजात बनाएर पटक-पटक एयरपोर्टसम्म पुर्‍याउने र फर्काउने गर्दै थप मानसिक तनाव दिएका थिए। 

सो अवधिमा उनी न घरको न घाटको अवस्थामा पुगेकी थिइन्। १८ महिनासम्म नक्कली संस्थाको जालमा परेकी रमिता अन्ततः वास्तविक गैरआवासीय नेपाली संघ (यूएई) को सम्पर्कमा पुगेकी थिइन्।

वास्तविक संघको सम्पर्कमा आएपछि एनआरएनए युएईले सक्रियता देखाउँदै मात्र ११ दिनभित्र उनको सम्पूर्ण कानुनी र कागजी प्रक्रिया पूरा गरिदिएको छ। उपाध्यक्ष मनोज गोर्खालीका अनुसार रमितालाई सुरक्षित रूपमा नेपाल फर्काउन एनआरएनए युएईका अध्यक्ष भीम मल्ल ठकुरी, सचिव सबिन योन्जन, सदस्य विजय श्रेष्ठ र सिन्धुपाल्चोक तामाङ समाजका महासचिव राम तामाङले विशेष भूमिका निर्वाह गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप