शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

लेबनानमा शनिबार पनि इजरायली आक्रमण, ५ जनाको मृत्यु

शनिबार, ०६ असार २०८३, १२ : ३१
शनिबार, ०६ असार २०८३

बेरुत । लेबनानको दक्षिणी क्षेत्रमा शनिबार भएको ताजा इजरायली आक्रमणमा ५ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । इजरायल र इरान समर्थित हिज्बुल्लाहबिच एक दिनअघि मात्र नयाँ युद्धविराम घोषणा भए पनि आक्रमण भएको हो ।

राज्यद्वारा सञ्चालित राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार मध्यरातपछि र शनिबार बिहानसम्म दक्षिण लेबनानका नाबातीह क्षेत्रसहित एक दर्जनभन्दा बढी स्थानमा इजरायली हवाई आक्रमण भएको थियो । सो क्षेत्रमा तोपखानाबाट पनि गोलाबारी भएको जनाइएको छ ।

एनएनएले अरब सलिम शहरमा भएको हवाई आक्रमणमा तीन जनाको मृत्यु भएको, देइर जहरानीमा एक जना र द्वेइर शहरको प्रवेशद्वारमा ड्रोनले मोटरसाइकललाई लक्षित गर्दा थप एक जनाको मृत्यु भएको जनाएको छ ।

शुक्रबार मात्र लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिण र पूर्वी क्षेत्रमा भएका इजरायली आक्रमणमा ४७ जनाको मृत्यु भएको बताएको थियो । त्यसैदिन इजरायली सेनाले लेबनानमा १५० भन्दा बढी आक्रमण गरेको दाबी गरेको थियो ।

यसैबिच, अमेरिका र कतारी मध्यस्थकर्ताहरूको पहलमा इजरायल–हिज्बुल्लाहबीच तत्काल युद्धविराम भएको घोषणा गरिएको थियो । तर पछिल्ला घटनाक्रमले युद्धविराम कार्यान्वयनबारे अनिश्चितता देखिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप