शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

पत्रकारितामा एआई: अवसर र चुनौतीबारे युकेमा भर्चुअल प्रशिक्षण

मङ्गलबार, २२ वैशाख २०८३, ०६ : ३९
मङ्गलबार, २२ वैशाख २०८३

सारांश

  • नेपाल पत्रकार महासंघ युके शाखाले ३३औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकारितामा एआई: अवसर र चुनौती विषयक भर्चुअल प्रशिक्षण सम्पन्न गरेको छ ।
  • प्रशिक्षक लिलाराज भट्टराईले एआई सामग्रीमा पारदर्शिता र अन्तिम सम्पादन गर्ने व्यक्तिको जिम्मेवारी स्पष्ट पार्नुपर्नेमा जोड दिए ।
  • कार्यक्रमका प्रमुख अतिथि रामकृष्ण अधिकारीले नयाँ प्रविधिलाई डराउनुभन्दा सही प्रयोगबाट व्यावसायिक स्तर उकास्नुपर्नेमा जोड दिए ।

लण्डन । ३३औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ युके शाखाले ‘पत्रकारितामा एआई : अवसर र चुनौती’ विषयक एकदिवसीय विशेष भर्चुअल प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । 

प्रविधिको द्रुत विकाससँगै पत्रकारिता क्षेत्रमा कृत्रिम बौद्धिकताको प्रयोग बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा यस तालिमले यस प्रविधिलाई जिम्मेवार, रचनात्मक र मर्यादित तरिकाले प्रयोग गर्ने तरिकाबारे गहन छलफल र जानकारी प्रदान गर्‍यो । कार्यक्रमलाई नेपाल प्रेस इन्स्टिच्युटका प्रशिक्षक लिलाराज भट्टराईले सहजीकरण गरेका थिए ।

प्रशिक्षक भट्टराईले पत्रकारितामा एआईको प्रयोग गर्दा पारदर्शिता सबैभन्दा महत्त्वपूर्ण सिद्धान्त भएको उल्लेख गरे । उनले दिँदै भने, “एआईको सहायताले तयार पारिएका कुनै पनि सामग्रीमा त्यसको स्पष्ट खुलासा गर्नुपर्छ, साथै अन्तिम सम्पादन र जाँच गर्ने व्यक्तिको नाम र जिम्मेवारी पनि उल्लेख गर्ने चलन विकास गर्नुपर्छ ।” उनले समाचार सङ्कलन, लेखन र सम्पादन कार्यलाई सरल र प्रभावकारी बनाउन सक्ने विभिन्न नवीनतम एआई उपकरणहरूको प्रयोगबारे पनि पत्रकारहरूलाई व्यावहारिक ज्ञान प्रदान गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले समयसापेक्ष र उपयोगी विषयमा तालिम आयोजना गरेकोमा युके शाखाप्रति धन्यवाद र खुसी व्यक्त गरे । उनले भने, “नयाँ प्रविधिलाई डराउने होइन, यसको सही बुझाइ र प्रयोग मार्फत व्यावसायिक स्तरलाई अझ माथि उठाउने हाम्रो लक्ष्य हुनुपर्छ ।” साथै उनले हाल नेपालमा प्रेस स्वतन्त्रतामा देखा परेका चुनौतीहरू र यसको संरक्षणका लागि महासंघले गरिरहेका प्रयासहरूबारे पनि सहभागीहरूलाई जानकारी गराए ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित यस कार्यक्रममा शुभकामना आदानप्रदान पनि गरिएको थियो । यस अवसरमा बीबीसी नेपाली सेवाका पूर्व सञ्चालक एवं वरिष्ठ पत्रकार भगीरथ योगीले यस्ता क्षमता अभिवृद्धिका कार्यक्रमहरू आयोजना हुनु स्वतन्त्र र जिम्मेवार पत्रकारिताका लागि अत्यन्त महत्त्वपूर्ण कदम भएको बताए। उनले प्रेस स्वतन्त्रता केवल पत्रकारको अधिकार मात्र नभई सम्पूर्ण समाजको अधिकार र लोकतान्त्रिक मूल्यमान्यताको आधारस्तम्भ भएको धारणा राखे, साथै पत्रकारहरू नागरिकको आवाज र अधिकारका संवाहकका रूपमा रहेको कुरामा जोड दिए।

यस तालिममा युकेमा सक्रिय विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा संस्थाका पदाधिकारीहरूको व्यापक सहभागिता रहेको थियो । उनीहरुले आफूले प्रयोग गर्दै आएको एआई टुल्सको बारेमा आ(आफ्नो धारणा एवम् जिज्ञासा राखेका थिए । सहभागीहरूमा वरिष्ठ पत्रकार भगीरथ योगी, शाखाका सल्लाहकारहरू नरेश खपांगी मगर र ध्रुवराज अर्याल, संस्थापक अध्यक्ष नवीन पोखरेल, शाखाका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, विश्वदीप तिगेला, श्याम राना मगर, किरण राई, गोमा राना, नगेन्द्र नेम्वाङ, दूत पुन, डा। शिव तिवारी र पूर्व वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।

शाखा अध्यक्ष विमला सेनेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव खेम रानाभाटले गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप