आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

मोरिन्होको बेन्फिका : अपराजित रहेर पनि उपाधि विमुख हुने अनौठो सङ्कटमा

मङ्गलबार, २२ वैशाख २०८३, १० : ५९
मङ्गलबार, २२ वैशाख २०८३

सारांश

  • जोसे मोरिन्होको प्रशिक्षणमा रहेको बेन्फिकाले यस सिजन एक खेल पनि नहारी उपाधि जित्ने सम्भावना गुमाएको छ।
  • बेन्फिकाले १० खेल बराबरी खेलेको छ, जसले गर्दा चिरपरिचित प्रतिद्वन्द्वी एफसी पोर्टो ९ अंकको अग्रतासहित लिग च्याम्पियन बनेको छ।
  • बेन्फिकाका अध्यक्ष रुई कोस्टाले फामालिकाओसँगको खेलमा रेफ्रीको निर्णयमाथि कडा आक्रोश पोखेका छन्।

पोर्टी । पोर्चुगाली शीर्ष डिभिजनको फुटबलमा जोसे मोरिन्होको प्रशिक्षणमा रहेको बेन्फिकाले यस सिजन एकै खेल पनि नहारी ‘इन्भिन्सिबल’ टोलीको सूचीमा नाम लेखाउने सम्भावना बलियो बनाएको छ। तर, निकै आश्चर्यजनक कुरा त के छ भने यो ऐतिहासिक उपलब्धिले पनि बेन्फिकालाई ३९ औँ लिग उपाधि दिलाउन पर्याप्त हुनेछैन।

चिरपरिचित प्रतिद्वन्द्वी एफसी पोर्टोले अघिल्लो साता नै बेन्फिकाभन्दा ९ अङ्कको स्पष्ट अग्रता बनाउँदै लिग च्याम्पियनको उपाधि आफ्नो पोल्टामा पारिसकेको छ। पूर्व प्रशिक्षक आन्द्रे भिलास–बोआसको अध्यक्षतामा रहेको पोर्टोले यस सिजन ३२ खेलमध्ये मात्र एक खेलमा पराजय भोगेको छ।

बेन्फिकाले अहिलेसम्म कुनै पनि खेल नहारे पनि १० वटा खेल बराबरीमा टुङ्ग्याएको छ, जुन विजेता पोर्टोको तुलनामा ६ वटाले बढी हो। आगामी आइतबार ब्रागा र अन्तिम खेलमा एस्टोरिल प्रेयाविरुद्धको खेलमा हार नभोगे बेन्फिकाले अपराजित रहेर सिजनको अन्त्य गर्नेछ।

बेन्फिकाका लागि यो पहिलो अनुभव होइन। सन् १९७७–७८ मा पनि बेन्फिका लिगभर अपराजित रहेर पनि गोल अन्तरका आधारमा पोर्टोसँग उपाधि सुम्पिन बाध्य भएको थियो। यदि यसपटक पनि यस्तै भएमा मोरिन्होको बेन्फिका मोलडोभाको एफसी सेरिफ र सर्बियाको रेड स्टार बेलग्रेडपछि यस शताब्दीमा अपराजित रहेर पनि उपाधि जित्न नसक्ने तेस्रो युरोपेली टोली बन्नेछ।

यस सिजनको प्रदर्शनलाई लिएर पोर्चुगाली खेलकुद सञ्चारमाध्यम ‘ए बोला’ ले बेन्फिकाले पोर्टोलाई उपाधि ‘उपहार’ दिएको टिप्पणी गरेको छ। बेन्फिकाले बराबरी खेलेका १० मध्ये ६ खेलमा सुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा १२ अङ्क गुमाएको थियो।

शनिबार फामालिकाओसँग २–२ को बराबरीमा रोकिएपछि बेन्फिकाको उपाधि सपना पूर्ण रूपमा समाप्त भएको थियो। यो नतिजापछि बेन्फिकाका अध्यक्ष रुई कोस्टाले रेफ्रीको निर्णयमाथि कडा आक्रोश पोखेका छन्। कोस्टाले फामालिकाओलाई अन्यायपूर्ण पेनाल्टी दिएको र दोस्रो गोल हुँदा नभएको कर्नर उपलब्ध गराएको आरोप लगाएका छन्।

रेफ्रीले नियोजित रूपमा बेन्फिकालाई हराउन खोजेको दाबी गरेपछि रेफ्री संघले कोस्टा विरुद्ध उजुरी दिने तयारी गरेको छ। प्रशिक्षक जोसे मोरिन्होले पनि रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै यस खेलले पूरै लिगको प्रवृत्ति झल्काएको बताएका छन्।

स्पेनिस क्लब रियल म्याड्रिडले अल्भारो अर्बेलोआलाई हटाएमा मोरिन्होलाई भित्र्याउन सक्ने चर्चा चलिरहेका बेला अर्को समाचार पनि बाहिरिएको छ। ‘ओ जोगो’ का अनुसार बेन्फिकाले मोरिन्होको कामबाट प्रभावित भएर यसै साता उनलाई नयाँ सम्झौता प्रस्ताव गर्ने तयारी गरेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप