बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कक्षाकोठाबाटै दर्शक भेट्दै ‘रोल नं १’

मङ्गलबार, २२ वैशाख २०८३, २१ : ३९
मङ्गलबार, २२ वैशाख २०८३

काठमाडौँ । अचेल फिल्म प्रचारमा निकै मिहिनेत हुन थालेको छ । दर्शक फकाउन उनीहरू मेला–महोत्सवका अलावा स्कुल र कलेजमा पनि पुग्न थालेका छन् । यसै क्रममा फिल्म ‘रोल नं १’को निर्माण टिम प्रचारका लागि मोफसल पुगेको छ ।

सोमबारबाट मोफसल यात्रामा रहेको निर्माण युनिटले पहिलो चरणमा पूर्वी नेपालको झापा, मोरङ र सुनसरी पुगेर विद्यार्थीलाई भेट्दै फिल्मको प्रचार गरेको छ । ‘हामी आउँदैछौँ तपाईंको कक्षाकोठामा, सुन्न तपाईंका मनका कुरा...’ भन्ने नारासहित निर्माण युनिट स्कुल–कलेज पुगेर विद्यार्थीलाई फिल्मबारे जानकारी गराइरहेको छ । फिल्मको कथा नै विद्यार्थी केन्द्रित भएकाले प्रचार पनि विद्यार्थीमै केन्द्रित गरिएको निर्माण युनिटले जनाएको छ ।

कलाकार मुकुन भुसाल, रेणु योगी र प्रशान्त शिवाकोटी लगायत प्रचारमा सहभागी छन् । प्रचारका क्रममा कलाकारले विद्यार्थीसँग अन्तरक्रिया समेत गरिरहेका छन् ।

विनोद पौडेलको निर्माणमा बनेको यो फिल्म विद्यार्थीको मनोविज्ञानमा आधारित छ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले समग्र जीवनमा पार्ने असरलाई फिल्मले समेटेको बताइएको छ ।

गलत शैक्षिक प्रणाली र अभ्यासले आम विद्यार्थीमा पारिरहेको नकारात्मक असरलाई उजागर गर्ने भएकाले यो फिल्म विद्यार्थीले हेर्नुपर्ने निर्माता विनोद पौडेल बताउँछन् ।

‘रोल नं १’ जेठ १५ गते (गणतन्त्र दिवस)बाट प्रदर्शनमा आउनेछ । जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् ।

फिल्ममा बाल–कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् । विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मका सह–निर्माता छत्रमाया गिरी र रमेश चौलागाईं हुन् । फिल्म रिच इन्टरटेन्मेन्ट र जेएम सिनेमाले वितरण गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप