शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

वाचनशिरोमणि नारायण पोखरेलको २१औँ स्मृति दिवस आज

बुधबार, २३ वैशाख २०८३, १४ : २४
बुधबार, २३ वैशाख २०८३

काठमाडौँ । आध्यात्मिक पुनर्जागरणका प्रणेता तथा वाचनशिरोमणि पण्डित नारायणप्रसाद पोखरेलको २१औँ स्मृति दिवस आज देश तथा विदेशमा रहेका विभिन्न भक्तजनहरूले उनप्रति श्रद्धासुमन अर्पण गर्दै मनाउँदै छन् ।

वि.सं. २०६२ साल वैशाख २३ गते शुक्रबारका दिन रुपन्देहीमा उनको हत्या भएको थियो । 

स्मृति दिवसको अवसरमा नारायण पोखरेल प्रतिष्ठानले उनको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै राज्यसँग एउटा माग राखेको छ । विनाकारण र अहिलेसम्म रहस्यको गर्भमै राखिएको उक्त हत्याकाण्डको सही तथ्य र ‘पटाक्षेप’ राज्यले शीघ्र गरोस् भन्ने जोडदार माग परिवार र प्रतिष्ठानले गरेको छ ।

सञ्चार जगतलाई समेत यो विषयलाई निरन्तर उजागर गरिदिन अनुरोध गर्दै परिवारले भनेको छ, ‘हाम्रा पिताजीको पाञ्चभौतिक शरीरको अवसान किन गरियो? यसको वास्तविकता परिवार, संस्था र सबै शुभेच्छुकले जान्न पाउनुपर्छ ।’

वाचनशिरोमणि पोखरेलले वि.सं. २०३८ सालमा रचना गरेको ‘हातमा काम, मुखमा राम’ को दर्शन आजको आधुनिक युगमा झन् सान्दर्भिक र अपरिहार्य भएको चर्चा गरिएको छ ।

भौतिक उन्नति (आविष्कार) र आध्यात्मिक शान्ति (संस्कार) को समायोजन नै समाजका लागि सही मार्ग भएको उनको विचार थियो । उनको कीर्तिलाई जीवन्त राख्न काठमाडौँको नागार्जुन–७, रामकोटमा ’बद्रिनारायण धाम’ सहितको ‘नारायण आध्यात्मिक केन्द्र’ निर्माण गरी विभिन्न सामाजिक तथा आध्यात्मिक कार्यहरू गरिँदै आएको प्रतिष्ठानले जनाएको छ।

राज्यले वाचनशिरोमणि पोखरेल जस्ता युग पुरुषको योगदानलाई कदर गर्दै उनको विचार र व्यक्तित्वलाई कालजयी बनाउन विशेष पहल गर्नुपर्ने माग पनि गरिइएको छ । हालका चर्चित वाचन प्रविन पण्डित दीनबन्धु पोखरेल उनैका छोरा हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप