वैदेशिक रोजगारीको प्रलोभन देखाएर करोडौँ ठग्ने पाँच एजेन्ट पक्राउ
सारांश
- वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै सर्वसाधारणबाट ठुलो रकम ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
- पक्राउ परेकाहरूले जापान, अमेरिका, दक्षिण कोरिया र मकाउ जस्ता देश पठाइदिने भन्दै करोडौँ रुपैयाँ असुल गरी सम्पर्कविहीन भएका थिए ।
- ठगी गरेको अभियोगमा पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै सर्वसाधारणबाट ठुलो रकम ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँको तारकेश्वर बस्ने ३२ वर्षीय राज कुमार तामाङ, कलङ्की बस्ने ३१ वर्षीय प्रकाश केसी, गोकर्णेश्वर बस्ने ३३ वर्षीय डिल्लीमान तामाङ, ललितपुरको गोदावरी बस्ने ४७ वर्षीय श्रीहाङ एकतिन र भक्तपुरको मध्यपुर थिमी बस्ने २८ वर्षीया नमुना भण्डारी छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेकाहरूले जापान, अमेरिका, दक्षिण कोरिया र मकाउ जस्ता देश पठाइदिने भन्दै करोडौँ रुपैयाँ असुल गरी सम्पर्कविहीन भएका थिए ।
अभियुक्त मध्येका प्रकाश केसीले सबैभन्दा धेरै रकम ठगी गरेको पाइएको छ । उनले अमेरिका पठाइदिने भन्दै १२ जना पीडितहरूबाट ९३ लाख रुपैयाँ उठाएर ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै, डिल्लीमान तामाङले दुई जनालाई जापान पठाउने भन्दै १४ लाख ७५ हजार र राज कुमार तामाङले एक जनाबाट ११ लाख ५५ हजार रुपैयाँ लिएर फरार भएका थिए ।
ठगी धन्दामा संलग्न श्रीहाङ एकतिनले एक जना पीडितलाई दक्षिण कोरिया पठाइदिने आश्वासन दिएर १२ लाख २५ हजार रुपैयाँ ठगेको उजुरी प्रहरीमा परेको थियो । यसैगरी, नमुना भण्डारीले तीन जना पीडितलाई मकाउ पठाइदिने भन्दै ५ लाख ५० हजार रुपैयाँ असुल गरेकी थिइन् । पीडितहरूले आफूहरू ठगिएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएका थिए ।
पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण