बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

निजी क्षेत्र एकजुट भए सरकार माग सम्बोधन गर्न बाध्य हुन्छ : पूर्वअध्यक्ष राणा

बिहीबार, २४ वैशाख २०८३, १७ : ५४
बिहीबार, २४ वैशाख २०८३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले निजी क्षेत्र एकजुट भएर अगाडि बढे सरकार व्यवसायीका माग सम्बोधन गर्न र सहकार्य गर्न बाध्य हुने बताएकी छन् ।

महासंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिने क्रममा उनले निजी क्षेत्रको एकता नै वास्तविक बल भएको उल्लेख गरेकी हुन् ।

नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठसहितको टोलीलाई सफल कार्यकालको शुभकामना दिँदै पूर्वअध्यक्ष राणाले यसपटकको कार्यसमितिमा इतिहासमै पहिलोपटक ६ जना महिला निर्वाचित हुनु र नयाँ तथा पुराना सदस्यहरूको सन्तुलन हुनुले महासंघमा नयाँ उत्साह थपिएको बताइन् ।

विगतका कार्यकालहरूमा जनयुद्ध, महाभूकम्प, संविधान निर्माण र कोभिड–१९ जस्ता फरक–फरक चुनौतीहरू रहेको स्मरण गर्दै उनले वर्तमान नेतृत्वसामु पनि आर्थिक संकट र बदलिँदो राजनीतिक परिवेशको सामना गर्नुपर्ने चुनौती रहेको औँल्याइन् ।

पूर्वअध्यक्ष राणाले महासंघभित्र राजनीतिक खिचातानीभन्दा पनि विशुद्ध आर्थिक मुद्दाहरूमा केन्द्रित हुनुपर्नेमा जोड दिइन् । सरकारले राखेको आर्थिक वृद्धि र प्रतिव्यक्ति आम्दानी बढाउने लक्ष्य निजी क्षेत्रको सक्रिय सहभागिता विना सम्भव नभएको उनको भनाइ छ । ‘हाम्रो कार्यसमितिमा राजनीतिक मुद्दाभन्दा आर्थिक मुद्दाले प्राथमिकता पाउनुपर्छ,’ राणाले भनिन्, ‘यदि हामी सचेत भएर आर्थिक एजेन्डामा एकजुट भयौँ भने सरकार हाम्रा अगाडि झुक्नैपर्छ र हामीसँग सहकार्य गर्नैपर्छ ।’

७७ वटै जिल्ला, नगर, वस्तुगत र एसोसिएट सदस्यहरूको ठूलो शक्तिलाई परिचालन गर्दै महासंघले सरकारलाई दबाब र साथ दुवै दिनुपर्ने उनले उल्लेख गरिन् । अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको ६ बुँदे कार्ययोजनाको प्रशंसा गर्दै राणाले पूर्वअध्यक्षहरूको तर्फबाट आवश्यक परेको खण्डमा सधैँ रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप