शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

बल्खुस्थित पार्टीकै जग्गामा कार्यालय बनाउन एमालेभित्र आवाज

शुक्रबार, २५ वैशाख २०८३, १७ : २२
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • नेकपा (एमाले) को केन्द्रीय कार्यालयका लागि बल्खुस्थित पार्टीकै जग्गामा निर्माण गर्नुपर्ने माग उठेको छ।
  • एमाले पुनर्जागरण अभियानले पार्टीको आत्मनिर्भरता र गरिमाका लागि यो कदम आवश्यक रहेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएको छ।
  • अभियानले 'आत्मनिर्भरताका लागि ५००० बाट ५००० राष्ट्रिय अभियान' मार्फत जुटाइएको रकमको सदुपयोग गरी सदस्यहरूको योगदानबाट कार्यालय बनाउन आह्वान गरेको छ।

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कार्यालय कुनै व्यापारी वा व्यक्तिको सहयोगमा नभई पार्टीकै स्वामित्वमा रहेको बल्खुस्थित जग्गामा निर्माण गर्नुपर्ने माग उठेको छ। 

एमालेका कार्यकर्ता र शुभेच्छुकहरूको एक समूहले एमाले पुनर्जागरण अभियानले  प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आवाज उठाएको हो।

शुक्रबार जारी विज्ञप्तिमा बल्खुस्थित जग्गा पार्टीको ऐतिहासिक, भावनात्मक र संगठनात्मक विरासतसँग जोडिएको स्थल भएको उल्लेख गर्दै आफ्नै पर्याप्त जग्गा हुँदाहुँदै अन्य निजी वा सार्वजनिक सम्पत्तिमा कार्यालय सञ्चालन गर्नु अनुपयुक्त हुने जिकिर गरिएको छ। व्यापारी वा व्यक्तिको सहयोगमा कार्यालय बनाउँदा पार्टीको आत्मनिर्भरता, संस्थागत गरिमा र सार्वजनिक छविमा नकारात्मक प्रभाव पर्ने भन्दै अभियानले नेतृत्वको ध्यानाकर्षण गराएको छ।

कार्यालय निर्माणका लागि २०७९ असार २४ देखि सञ्चालित ‘आत्मनिर्भरताका लागि ५००० बाट ५००० राष्ट्रिय अभियान’ मार्फत आर्थिक सहयोग जुटिरहेको स्मरण गराउँदै विज्ञप्तिमा उक्त रकमको सदुपयोग गर्न जोड दिइएको छ।

बाह्य निर्भरता त्यागेर आफ्नै सदस्यहरूको योगदान र श्रमदानबाट कार्यालय बनाउनु नै एमालेको स्वाभिमान अनुकूल हुने अभियानको ठहर छ।

नयाँ पुस्तालाई गौरवमय इतिहाससँग जोड्न र जनतामाझ पार्टीको आधार मजबुत बनाउन बल्खु नै उपयुक्त विकल्प भएको भन्दै कार्यकर्ता, शुभचिन्तक र आम सर्वसाधारणलाई श्रमदानका लागि समेत आह्वान गरिएको छ।

686862828_3912165619092010_5649935408048491595_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप