फूलमाया–९
सारांश
- फूलमाया र गन्जेबीचको संवादले उनीहरूको वैवाहिक जीवनमा तनाव र संघर्षलाई उजागर गर्दछ।
- गन्जेले आफ्नो जीवनका तितो अनुभव र संसारको यथार्थबारे फूलमायालाई बताउँछन्।
- गन्जेको अचानक बेपत्ता हुनु र त्यसपछि अदालतमा पारपाचुकेको मुद्दाले उनीहरूको सम्बन्धमा थप जटिलता ल्याउँछ।
“सारा जिन्दगी नर्कमा डुबेर मै तेरो रछ्छे गर्ने । अनि कुलधर्म नासिस् भनेर तैं मलाई फत्तुर लाउने ?” फूलमायाको सर्वाङ्ग काम्यो र उसको बोली पनि काम्यो– “तँ साहु कान्छाका आँखाले मलाई हेर्छस् । उसैको गुहे जिब्रोले बोल्छस् ।”
उसको छातीमा ज्वाला उल्र्यो र बोल्न खोज्दा उसका ओठ कामे ।
“अचेलको धर्म कि धानको भकारीमा बस्छ कि सुनका बाकसमा । कसका पेटाँ धर्म छ अचेल ?”
फूलमायाको प्रश्न भालाको टुप्पो सरी गन्जेका कानबाट हानिँदै हृदयमा जाकियो ।
“अचेलका मान्छे कि मलामी जाँदा धर्मको नाम जप्छन् कि मन्दिरमा पुग्दा ईश्वरको नाम जप्छन् । ठग्दा, लुट्दा र अर्कालाई पेलेर मार्दा कल्ले सम्झन्छ धर्म ?”
टोपीभरि माछा बोकेर मगर कान्छाको पछिपछि चतुरे खोलातिरबाट मास्तिर उक्ल्यो ।
“ए... याँ आइज !” हुकुमी स्वरमा गन्जेले डाक्यो । जाउँ कि बसुँ भनेर दोमनमा परेको चतुरे पिँडुला सोझ्याएर अनुहार गम्भीर पार्दै एकछिन उभियो अनि बिस्तारै आएर बाबुको नजिकमा बस्यो ।
“किन ?”
“तँ बाउपिराहा निस्किइस् उपद्रे ।” रमरम रिस र गहिरो चिन्ता मिसिएको स्वरमा गन्जेले भन्यो– “तँ चौध पुगेर पन्ध्र लागिस् । तैंले अब पल्टनमा भर्ती हुन जानुपर्छ । ब्वाइमा तँ लाग्छस् । जान्छस् ?”
“म जान्नँ ।”
“हुल्याहाको नाइके भर संसारलाई पिर्ने सुर छ त हन्तकाली बजिया ?” गन्जेको सुस्केरा खोलाको सुसेलीमा मिसियो ।
“यत्रो जिन्दगी मुगलान कुरेर तिमीले के लछारपाटो लायौ ?”
“यै चाल हो भने तँ डाका निक्लन्छस् ।”
“जे निक्ले पनि म गाइजात्रे चालले बाँच्तिनँ । हाम्री आमाको हुर्मत लिनेसँग म साटो फेर्छु ।”
“थुइक्क हरामी छोराको सोमत !” गन्जेको छाती आफ्नो पानीमरुवापनको सम्झनाले निस्सासियो । हेपाहा छोराको बाबु हुनुपरेकोमा उसलाई नमज्जा लाग्यो ।
“हामीलाई ठूलाबडासँग शेखी गरेर पुग्दैन ।” लामो सुनसानपछि धैर्य सँगालेर चित्त शान्त पार्दै उसले छोरालाई अर्तीको भाकामा सम्झायो– “हिन्दुस्तानमा अचेल राँगो गिडे झैं हुल्याहा गिँडिन्छन् भन्ने घोइरो–घोइरो कुरा थ्यो । उताका हुल्याहा बाघभन्दा डरलाग्दा हुन्छन् । तिनले छिन–छिनमै आँधी उठाउँछन् र सर्खारलाई छेरभालु पार्छन् । त्यहाँ को गिँडिन्छ ? तँलाई थाहा छ ?” बडो जानिफकार तालले गन्जेले भन्यो– “थाहा छैन । तैंले संसार त के संसारको पुच्छर पनि देखेको छैनस् ।” ऊ भन्दैगयो– “त्यहाँ तँ गिँडिन्छस् । म गिँडिन्छु । जो भोको छ त्यै हुल्याहा हुन्छ । जो निर्धो छ त्यही गिँडिन्छ । पुगिसरी आउनेलाई हुलचालको के खाँचो ? उल्लाई पैसा गन्ने फुर्सदै हुँदैन । सम्पत्तिको थुप्रोले थिचेर चैनको सास फेर्ने फुर्सद हुँदैन । निर्धा र भोका दुःखले हुल्याहा हुन्छन् र हेपेर गिँडिन्छन् । हुन त मर्नै परेपछि भोकभोकै जीउ कीरा परेर मर्नुभन्दा गिँडिनु राम्रो, तर मर्का पर्ने कुरा के छ भने पाखुरीमा तुजुक छउन्जेल मान्छेलाई तामसीपनले चारैतिर फन्फनी घुमाउँछ । यसो गरुँला र उसो गरुँला भन्ने बेफ्वाँकको तिर्सनाले मान्छेलाई बौलाहा बनाउँछ ।
तर छातीको रगत पातलिँदै गएपछि संसार अजङ्गको भालु भएर जिन्दगीको बाटोमा ठिङ्ग उभिन्छ । जताततै बैरीका आँखा, संसारैभरि दुःखको बादल र छातीमा औडाहाको सागर । अल्लारे बैंसमा कल्पेको संसार सपनामै बिलाउँछ । जिन्दगी के हो भन्ने मैले जम्मै बुझें ।” बडो दार्शनिक पाराले गन्जेले आफ्नो जीवनका तीता अनुभव पोख्यो– “संसार भनेको सम्पत्ति रहेछ । मायादया त्यसैभित्र, इज्जत इमान र वर्गतबुता पनि त्यसैभित्र । जोसँग सम्पत्ति छैन त्यसले अक्कास–पत्ताल हल्लाउँछु भन्नु व्यर्थ छ । हेर् छोरा !” नरम र दुःखी स्वरमा उसले भन्यो– “गरीपको जुनी सिमलको भुवा जस्तै रैछ । कता उड्छ, कता छरिन्छ र कता बेपत्ता हुन्छ ? अत्तोपत्तो केही हुँदैन । स्वर्गतिर उडूँ भन्ने चितायो पत्तै नपाई नर्कमा जाकिन पुग्छ । हामी दुःखीले नचाहिँदो घमण्ड गर्नु हुँदैन ।”
गन्जेको निराशाले फूलमाया र चतुरेलाई गाँज्यो । गन्जेलाई आफ्नो छाती चिरिएजस्तो लाग्यो, तर आफ्ना दुःखका अनुभव छाँट पारेर सुनाउने चानस पाउँदा उसलाई कसोकसो थोरै हर्ष र गर्वको अनुभव पनि भयो ।
“मैले देखेको संसार यस्तै छ चतुरे !” बिलौना भरिएको स्वरमा उसले भन्यो– “यो मैले आफ्नै जीवनले भोगेको दुःख हो । तैंले संसारलाई अर्कै खालको देख्या भए म जान्दिनँ । अवगाल र बेइजती, चुसाइ र डाह, हत्या र कोलाहल– साला यो पनि जिन्दगी हो ? यो त नर्क हो । हामीलाई यै नर्कको दुःख भोग गर्न ईश्वरले खटायो । त्यसका बाउको अत्याचार !”
तीन दिनपछि बेलुका सन्चसुबिस्तै घुप्लुक्क सुतेको गन्जे बिहान ओछ्यानमा देखिएन । फूलमायाको मनमा चिसो पस्यो र हत्तपत्त उसले ओछ्यान छामी । ओछ्यान चिसो थियो । छाँटले आधाराततिरै ऊ कतै सुइँकिएछ । स्याउले बजारमा उसको चाउरी परेको रुप कतै देखिएन । खोला–किनारमा उसको झिनो स्वर कतै सुनिएन । ससुराली, मावली, गाउँघर र इष्टमित्र कसैकहाँ पनि उसको पाइलो परेको सुराक पत्तो लागेन ।
“चाल बिग्र्यो कि क्या हो हँ ?” चसक्क दुःखेको छातीमाथि हात राखेर पिँडुला लगलग कमाउँदै फूलमायाले सुस्केरा हाली– “हे भगवान् !” पश्चिमको डाँडामाथि बास बस्न आँटेको रातो र बाटुलो घामलाई टुलुटुलु हेर्दै ऊ कहालिई । स्याउले बजारमा गन्जेको उस्तो खोजीनीति भएन । टाट पल्टेकाले जुवाडेको जमातबाट ऊ निकाला भएको थियो । अनुहारमा मुजा परेकाले रातिको नाचगानबाट निकाला भएको थियो । बात लागेकी स्वास्नीको मायाले गर्दा सामाजिक प्रतिष्ठाबाट निकाला भएको थियो । अब खालि जिन्दगीबाट निकाला हुन बाँकी थियो । र कता हो कुन्नि ऊ अलप भयो ।
फूलमायाका आङमा घाम लागेन । उनलाई त्यसैत्यसै विरक्त लागेर आयो । कुरैकुरामा बाझ्नुपर्ने गन्जे घरबाट अचानक बेपत्ता हुँदा उसलाई एकदमै न्यास्रो लाग्यो । आफ्नो जीवनमा गन्जेले पारेको नमीठो छाप, उसको खाँचो र मायाको न्यानोपन निकै गहिरो भएको उसले महसुस गरी । आफ्नो हृदयको सबभन्दा कमलो र पवित्र ठाउँमा लोग्नेको अपार सम्झना र अगाध माया टाँसिएको चाल पाउँदा उसलाई ज्यादै अफसोच र पछुतो लाग्यो । गन्जेप्रतिको आफ्नो कठोर व्यवहार र छुच्चा वचन सम्झँदा उसको मुटु टक्क रोकिएला जस्तो भयो । उसको हृदयमा गन्जेको मायालाग्दो ख्याउटे शरीर, भित्रभित्र गाडिएका आँखा र बाक्लो ओठमाथिका पातला, कैला जुँगा र दुःखले भिजेका ओठ देखिए, देखिइनै रहे । गन्जेको त्यस मायालाग्दो रुपले प्रेमको औतार ग्रहण गरेर आफूलाई एकनासले पछ्याइरहेजस्तो लाग्यो उसलाई ।
“मेरो गन्जे जिउँदै होस् परमेश्वर !” फूलमायाले दुःखपुकारा गरी– “मेरो प्यारो गन्जे ! मेरो परान् ! मेरा हिर्दयको ऐना !”
“भेना काँ गए ठूल्दिदी ?” गन्जे गुप्तबास बसेको पर्सिपल्ट बेलुकीपख अचानक आइपुगेकी नक्कलीले सोधी । फूलमायाले उसको सोधाइमा शङ्का भरिएको छनक पाई ।
“काममा गाको छ । किन ?”
“के काममा ?”
फूलमायाले जिल्लएका आँखाले उसलाई हेरी ।
“भेना त अड्डा गाका रे क्या उजुर गर्न ।”
“हँ ?” फूलमाया झसङ्ग भई ।
“पारपाचुके गर्न तिम्रो नाउँमा अड्डामा उजुर गर्याछन् रे ।”
“हो र ?” फूलमायाको आङ जिरिङ्ग भयो ।
“साहु कान्छोसमेत साछी बस्या छ रे ! उसैले घरघरै भन्दै हिँड्या छ ।”
भनन्न रिङ्गटा लागेर भाउन्न हुँदै फूलमाया थुचुक्क बसी । उसका आँखाअगाडि राता, नीला र पहेंला दागको लामो ताँती बगेजस्तो देखियो । उसका कानभित्र अरिङ्गालको गोलो जस्तो के के भुन्भुनायो ।
“ख्याल–ख्याल भन्या हो ?”
“तिम्रो मासु खाने ढाँटेको भए ।”
हत्केलाले कन्चटलाई सहारा दिँदै फूलमायाले मुन्टो भुइँमा तेर्स्याई ।
दिनदिनै नाना–पाखण्ड फत्तुर लाउन बाँकी नराख्ने नक्कलीका कलिला, बाटुला र राम्रा आँखाका कोस दुःखको त्यो घडीमा रसिला–रसिला हुँदै गएको देख्दा फूलमायालाई आफ्नो हृदयमा आगो लागेजस्तो लाग्यो । घोप्टो परेर मुख भुइँमा जोत्दै ऊ छट्पटाई । उसको सासफेराइको वेगले भुइँको धूलो फस्फस् उडायो ।
तीन दिनपछि साँझ बत्ती बाल्ने बेलामा गन्जे टुप्लुक्क आइपुग्यो । फूलमायाले उसको अनुहार पुलुक्क हेरी । पानी सुकेर ओइलाउँदै गएका भावशून्य आँखा, चम्का झैं सुलित्त बाहिर उठेका अग्ला कन्चट र पसिनाले भिजेर मासुमा टाँसिएका कन्सिरीका रौं देखेर गन्जे त मान्छे नभएर भूतजस्तो लाग्यो फूलमायालाई । एक निमेषअघि उसको मनमा छचल्किएको खुसीको लहर तत्कालै टक्क रोकियो ।
गन्जे चुपचापसँग फरिकोमा अडेस लागेर गोडा पसार्दै अलपत्रसँग बस्यो । बाहिरको शून्य आकाशमा बरालिएका बेचैन दुःखी आँखा स्वास्नीको अनुहारतिर उठ्नै सकेनन् । मानौं उसको आत्माको शिर कहिल्यै ठाडो हुन नसक्ने गरी ढलेको छ ।
“काँ गाथिस् ?” बुझ पचाउँदै फूलमायाले सोधी ।
“काहीँ होइन ।”झर्के झैं गरी गन्जेले जवाफ दियो ।
“मेरो नाउँमा उजुरी दिइस् त ?”
“हँ ?” गन्जेले फूलमायालाई पुलुक्क हेर्यो ।
“मसँग बस्ने मन नभए अड्डा धाई धाई उजुरी दिइरहनुपथ्र्यो ?” रिस र वेदना मुछिएको स्वरले उसले भनी– “जहाँ गए पनि, जे गरे पनि तेरा पखेटा फुक्का थिएनन् र ? एक जात्रामाथि अर्को जात्रा... ! मेरो हुर्मत लिँदा तँलाई के मज्जा भो त ?”
“कल्ले भन्यो तँलाई ?”
“हत्केलाले सूर्जे छेकिन्छ भन्ठान्या छस् ? जगतैभरि बैरीको हाँसो सुन्दैनस् ?”
तालुमा हात राखेर घोस्से मुन्टो लाउँदै गन्जे गजधम्म फुलेर बस्यो । उसका निधारमा चिट्चिट् पसिना आए ।
“खुब बाजी जितें भन्ठान्या होलास् हकि ?”
“मैले तेराउपर कैल्यै पाप चिताइनँ ।”
“खुब धर्म गरेर मेरो हिर्दय जलाइस् हैन ?”
“मेरो शिरमाथि सगर खसेको छ । मेरो मन ठेगानमा छैन ।”
आँखा झिमिक्क नपारी एकछिन जोईपोइले एकअर्कालाई टुलुटुलु हेरे । त्यो निरस र भावशून्य हेराहेरले भन्थ्यो, मानौं उनीहरुका आत्मा चुक्ली, डाह, थिचोमिचो र औडाहाले जलेर एकदम खोक्रा भइसकेका छन् ।
गन्जे बगरमा मिल्किएको माछो झैं छट्पटाउँदै जुरुक्क उठेर खोलातर्फ हिँड्यो ।
०००
“तिमीमाथि दुराचारको खतबात लागेको तिम्रो लोग्नेलाई शङ्का छ ।” अदालतमा ठिङ्याइएकी फूलमायालाई न्यायाधीशले जुँगामा ताउ लाउँदै सोध्यो– “यसमा तिम्रो क्यै जिरह छ कि ?”
“दुराचारको खतबात ?” कुरो नबुझेर फूलमायाले सोचविचारै नगरी हत्तपत्त सोधी ।
“तिम्रो नैतिक चरित्रमाथि तिम्रो लोग्नेको शङ्का छ ।”
“मलाई क्यै थाहा छैन, मलाई क्यै थाहा छैन ।” लाज र धकले खुम्चिँदै फूलमायाले न्यायाधीश, गन्जबहादुर, साहु कान्छो र अरु चार–पाँच जना बिराना मानिसलाई एक्कै सासमा पल्याक–पुलुक हेर्दै भनी ।
“लोग्नेसँग तिम्रो क्यै रिसइबी छ ?”
“क्यै छैन, क्यै छैन ।”
“लोग्नेसँग छुट्टिन तिम्रो मन्जुरी छ त ?”
“मन्जुरी ?” उसले गन्जेलाई तर्सेको मृगका जस्ता आँखाले हेरी । पिँडुलामा हरिया नसा फुलाउँदै मुन्टो बाङ्गो पारेर ठिङ्ग उभिएको गन्जेको अनुहार कालो–नीलो भएको थियो ।
“लोग्नेले पेटभाँडोको परिबन्द मिलाइदिए त तिम्रो मन्जुरी हुन्छ हैन ?” फसफस चुरोटको धुवाँ उडाउँदै न्यायाधीशले केरकार गर्यो ।
“हजुर... मलाई क्यै थाहा छैन, मलाई क्यै थाहा छैन ।”
“लोग्नेसँग तिम्रो क्यै गुनासो छ ?”
“क्यै छैन, मेरो क्यै छैन ।” फूलमायालाई त्यसैत्यसै निसास लागेर आयो ।
“कसो गन्जबहादुर ?” न्यायाधीश गन्जेतिर फक्र्यो– “तिम्रो र तिम्री स्वास्नीको बेहोरा त छेउ टुप्पै मिलेन नि ।”
“फटाहाको चुक्ली पर्यो हजुर !” गन्जेले घोस्से मुन्टो लाएर भन्यो ।
“के हो चाल् ?” न्यायाधीश जङ्गियो– “तिम्रो दिमाग सड्केको हो ?”
“जालीको फत्तुर अचाक्ली भो हजुर !” गन्जेले नुर गिरेका आँखा रसिला पार्दै भन्यो ।
“स्वास्नीसँग तिम्रो पुरानो रिसइबी क्यै थ्यो ?”
“त्यस्तो क्यै भए परमेश्वर साक्षी छन् हजुर !” लत्रेका आँखा मास्तिर उठाउँदै गन्जेले उत्तर दियो ।
“के छ त तिम्रो भन्नु ?”
“संसारै गन्हायो हजुर !”
- ०००
भाग्यले गर्दा हो कि दुर्भाग्यले गर्दा हो पारपाचुकेचाहिँ भएन । तर गन्जबहादुर गुरुङले नदीमा हाम्फालेर जिन्दगीसँगै पारपाचुके गर्यो भन्ने खबर साहु कान्छाले गाउँभरि फिँजायो ।
“लोग्नेलाई समेत टोकिस् ! अझ ठाडो शिर लार बोल्छेस् ?” लेनदेनको कुरोमा चर्काचर्की परेपछि एकदिन साहुनी कान्छीले अत्तो थापी ।
“के मलाई पनि खाने रहर छ तेरो ?” गहभरि आँसु लिएर फूलमायाले सवालको जवाफ सवालमै दिई ।
“बोल्छेस् ?” साहुनी जर्रो स्वरमा कराई ।
“आइज !” कम्मरमा हात राखेर छाती फुलाउँदै फूलमायाले थान थापी ।
साहुनी लुत्त घरभित्र पसी ।
फूलमायाको ओछ्यानमाथि गन्जबहादुरको जवानीकालको पोटिला गाला र चम्किला आँखा भएको मयालु तस्बिर झुन्डिएको थियो । के विचारले हो कुन्नि ऊ त्यस तस्बिरको सामुन्ने अँध्यारो मुख लगाएर उभिई ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई दूध खरिद बापत ४१ करोड रुपैयाँ भुक्तानी
-
रुसी सेनाको सुस्त गति र बढ्दो क्षति
-
हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु
-
तस्बिरहरूमा हेर्नुहोस् सरकारले सार्वजनिक गरेको सयदिने उपलब्धि कार्यक्रम
-
सरकारका सय दिन : ६६६ जना बिचौलिया नियन्त्रण
-
ओलीको प्रश्न : चुच्चे नक्सा छाप्ने र देश बनाउने एमाले कसरी अलोकप्रिय हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण