४३ स्थानमा पहिरोको जोखिम, बजेट अभावले तुइन खोला मात्रै प्राथमिकतामा
सारांश
- नारायणगढ-मुग्लिन सडकखण्डका ४३ स्थान पहिरोको उच्च जोखिममा रहे पनि बजेट अभावले तुइन खोला क्षेत्रमा मात्र पहिरो रोकथामको काम सुरु भएको छ ।
- तुइन खोलाको पहिरो रोकथामका लागि आधुनिक इन्जिनियरिङ प्रविधि प्रयोग गरी ठेक्का आह्वान गरिएको छ र १० महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य छ ।
- नारायणगढ-मुग्लिन सडकखण्डमा ४३ स्थान पहिरोको जोखिममा रहेकाले बजेटको सीमितताका कारण सबै स्थानमा एकैपटक काम सुरु गर्न नसकिएको हो ।
काठमाडौँ । नेपालकै लाइफलाइन नारायणगढ–मुग्लिन सडकखण्डका ४३ स्थानमा पहिरोको उच्च जोखिम देखिएको छ । तर बजेटको सीमितताका कारण सबैभन्दा जोखिम मानिएको तुइन खोला क्षेत्रमा मात्रै पहिरो रोकथामको काम सुरू भएको छ । गत असोजदेखि निकै सास्ती दिइएको यस तुइन खोलामा आधुनिक प्रविधिमार्फत स्थायी समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले प्रक्रिया थालेको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइन खोलाको पहिरो रोकथामका लागि शुक्रबार ठेक्का आह्वान गरिएको छ । यो ठेक्का प्रक्रियामा जानुपूर्व कार्यालयले विस्तृत अध्ययन र पूर्वतयारीका सम्पूर्ण काम सम्पन्न गरिसकेको र सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधन र अध्यादेशलाई समेत मध्यनजर गर्दै प्रक्रिया अघि बढाइएकाले अबको काम थप व्यवस्थित हुने इन्जिनियर घिमिरेले बताए ।
‘हामीले सबै पूर्व तयारी र विस्तृत अध्ययन पूरा गरेर ठेक्का आह्वान गरेका हौँ,’ घिमिरेले भने, ‘सार्वजनिक खरिद ऐनको नयाँ संशोधन र अध्यादेशले दिएको समयसीमाभित्रै रहेर काम अघि बढाइएको छ । ठेक्का सम्झौता भएको १० महिनाभित्र पहिरो नियन्त्रणको काम सम्पन्न गरिसक्ने हाम्रो लक्ष्य छ ।’ तुइन खोलाको पहिरो रोक्नका लागि आधुनिक इन्जिनियरिङ प्रविधिको प्रयोग गर्दै स्थायी समाधानको प्रक्रिया सुरू गरिएको उनले बताए ।
तुइन खोला क्षेत्र गत असोजयता यात्रु र सवारी चालकका लागि त्रासको पर्याय बनेको छ । असोज सुरूदेखि यस क्षेत्रमा निरन्तर सुक्खा पहिरो खस्न थालेको थियो । असोज ७ गते विशाल पहिरो खस्यो, जसको प्रारम्भिक अनुमान करिब १४ सय घनमिटर गरिएको थियो । पहिरोले सडक पूर्णरूपमा थुनिएको थियो भने पहिरो पन्छाउन झन्डै दुई दिन लागेको थियो । असोज ९ गते राति मात्रै सडक एकतर्फी खुलाउन सकिएको थियो । त्यसयता पनि ढुंगा खस्ने क्रम जारी रहँदा पटक–पटक यो सडक अवरुद्ध बन्यो ।

मनसुन बाहिरिएपछि केही समय सुक्खा पहिरो रोकियो । अहिले प्रि-मनसुन सक्रिय भएसँगै तुइन खोलाको पहाडबाट ढुंगा खस्ने र पहिरो जाने क्रम दोहोरिएको छ । गत बिहीबार मात्रै माथिबाट खसेको ढुंगाले गुडिरहेको कारलाई लाग्दा कारमा भीषण आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले कारमा लागेको आगो निभाएको थियो । शुक्रबार बिहानै पहिरो खसेर यो सडक दुईतर्फी अवरुद्ध भएको थियो । अवरुद्ध भएको केही घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको छ । यसले यो सडकखण्ड कति असुरक्षित छ भन्ने स्पष्ट पार्छ ।
१० महिनाभित्र सक्ने लक्ष्य
सडक डिभिजन कार्यालय भरतपुरले तुइन खोलाको पहिलो रोकथामको दीर्घकालीन समाधानका लागि ठेक्का आह्वान गरेको छ । कार्यालयले शुक्रबार मात्रै मुग्लिन–नारायणगढ सडकखण्डका जोखिमपूर्ण स्थान तुइन खोला र नाम्सी खोला क्षेत्रमा पहिरो रोकथाम तथा ‘स्लोप स्टेबलाइजेसन’ कार्यका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको छ । कार्यालयको वेबसाइट र सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट मार्फत ठेक्का आह्वान गरिएको छ ।
इन्जिनियर घिमिरेका अनुसार पहिरो प्रभावित क्षेत्रको भौगोलिक अवस्था र चट्टानको अध्ययन गरी ‘रक बोल्टिङ’/‘एङ्करिङ’ र ‘नेटिङ’ जस्ता प्रविधि प्रयोग गरी पहिरो रोकथाम गरिने छ । यस प्रविधिमा पहाडका खुकुला चट्टानहरूलाई रड र विशेष खालका एङरहरूको सहायताले भित्रैसम्म बाँधिन्छ र बाहिरबाट नेट (जाली) लगाएर सुरक्षित पारिन्छ ।
पहाडका खुकुला र जोखिमपूर्ण चट्टानलाई भित्रैसम्म रड (बोल्ट) हालेर कसिनुका साथै बाहिरबाट विशेष खालको स्टील नेटले छोपेर सुरक्षित बनाइनेछ । यो काम सम्पन्न भएपछि तुइन खोलामा खस्ने पहिरोको जोखिम निकै कम हुने इन्जिनियर घिमिरेले बताए ।
४३ वटा पहिरोको ‘थ्रेट’ र बजेटको सीमितता
नारायणगढ–मुग्लिन सडकको चुनौती तुइन खोलामा मात्र सीमित छैन । सडक डिभिजन कार्यालयले गरेको प्राविधिक सर्वेक्षण अनुसार यो सडकखण्डमा पहिरोको जोखिमयुक्त भनेर ४३ स्थान पहिचान गरिएको छ । यीमध्ये धेरैजसो पहिरो मध्यमदेखि उच्च जोखिमको सूचीमा छन् ।
इन्जिनियर घिमिरेले भने, ‘हामीले ४३ वटा पहिरोको पहिचान गरेका छौँ, जसमा लेदोसहित खस्ने पहिरो र सुक्खा पहिरो दुवै समावेश छन् । तर सबै ठाउँमा एकैपटक काम सुरू गर्न बजेटको अभाव मुख्य चुनौती बनेको छ ।’
सडक डिभिजन कार्यालय भरतपुरले गरेको विस्तृत अध्ययनअनुसार ४३ मध्ये आठ स्थान उच्च जोखिममा, २२ स्थान मध्यम जोखिममा र १३ स्थान सामान्य जोखिममा रहेको जनाइएको छ । विशेषगरी तुइन खोला क्षेत्रलाई अति उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरिएको छ, जहाँबाट ढुङ्गा खस्ने र लेदोसहितको पहिरो आउने सम्भावना अत्यधिक छ ।

इन्जिनियर घिमिरेका अनुसार डिभिजनले पहिचान गरेका ४३ वटा जोखिमपूर्ण बिन्दुहरूमध्ये बजेटको उपलब्धताका आधारमा तुइन खोलासँगै जलवीरे, कालीखोला र नाम्सीखोलाको पहिरो रोकथामलाई यो वर्ष प्राथमिकतामा राखिएको छ । ‘ठाउँहरू धेरै छन्, तर बजेट सीमित भएकाले सबैभन्दा बढी सडक अवरुद्ध हुने र जोखिम भएका ठाउँहरूलाई पहिलो प्राथमिकतामा राखेका हौँ,’ घिमिरेले भने ।
सुरक्षाका लागि फ्लड लाइट र सीसी क्यामरा जडान
तुइन खोलामा बारम्बार पहिरोको जोखिम उच्च भएपछि तत्काल सूचना पाउन र रातको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न प्रविधिको समेत प्रयोग गरिएको छ । सडक डिभिजन कार्यालयले फ्लड लाइट जडान गरेको छ । जसले रातको समयमा पहिरो खसेको वा नखसेको टाढैबाट देख्न मद्दत गर्छ ।
यस्तै यस क्षेत्रमा सीसी क्यामेरा पनि जडान गरिएको छ । नेपाल प्रहरीको समन्वयमा सो क्षेत्रमा सीसी क्यामरा समेत जडान गरिएको छ । यसले गर्दा कुनै पनि समयमा ढुंगा खस्ने वा पहिरो जाने बित्तिकै उद्धार टोली र मेसिनहरू परिचालन गर्न सहज भएको छ ।
अन्य पूर्वाधार निर्माणममा सामग्री अभाव
पहिरो नियन्त्रणसँगै सडक डिभिजनले नारायणी नदीमा निर्माण भइरहेको नयाँ पुलको कामलाई अघि बढाइरहेको छ । इन्जिनियर घिमिरेका अनुसार पुल अहिले फाउन्डेसन (जग) को चरणमा छ । जगको काम जमिनमुनि हुने भएकाले भौतिक प्रगति प्रतिशतमा ठुलो नदेखिए पनि प्राविधिक रूपमा यो सबैभन्दा जटिल र महत्त्वपूर्ण चरण हो । हाल जग निर्माणका लागि आवश्यक विभिन्न परीक्षण अन्तिम चरणमा पुगेका छन् ।
यद्यपि, समग्र विकास निर्माणमा विटुमिन लगायत निर्माण सामग्रीको अभावले भने केही बाधा पुर्याएको छ । क्रसर उद्योगहरूमा देखिएका समस्या र सामग्रीको उपलब्धता सहज नहुँदा केही काम प्रभावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण