फूलमाया–५
सारांश
- फूलमायाले पर्धान बाजेसमक्ष आफूमाथि लागेको बोक्सी, वेश्या र चोरनीको आरोपबारे न्याय माग्दा उनले दुनियाँको आवाज र परम्पराको कुरा गरी न्याय दिन अस्वीकार गरे।
- पर्धान बाजेले फूलमायालाई ठूलो अपराध गरेको भन्दै चुप लाग्न सल्लाह दिए, जसले गर्दा फूलमायाले आफूमाथि अन्याय भएको महसुस गरी निराश भई फर्किन्।
- गन्जबहादुरले फूलमाया र मगर कान्छालाई सँगै देखेर शंका गरी घर फर्किँदा फूलमायालाई निर्घात कुटपिट गर्यो।
आफ्नो पीरमर्का र कष्टको लथालिङ्गे कथा पर्धान बाजेलाई सुनाइसकेपछि फूलमायाले लामो सुस्केरामा हृृदयको ताप पोखी– “म निसाप माग्न आकी पर्धान बाजे ! म हैरान भर आकी । मलाई बोक्सीको फत्तुर र वेश्येको बात लाए मेरो दुक्खको छाप्रो सर्वनाश पारे पर्धान बाजे ! म अचाक्ली अन्यायमा परें पर्धान बाजे !”
“अँ !” ठूलो सिरानी भित्तामा ठड्याएर त्यसमा ढल्किँदै, गुड्गुड आवाज निकालेर तमाखु तान्दै र फुस्–फुस् धुवाँ उडाउँदै पधार्न बाजेले धोद्रे स्वरमा भने– “यी जम्मै कुरा के भन्देखि मैले प्रष्टै बुझ्या छु । अँ ! तिमी आउनु पनि चैन्जोहेरी राम्रो भो । खल्बल निकै भो भन्ने सुइको त मैले पाएकै हुँ । अँ ! चैन्जोहेरी यस कुरामा अर्घेल्याइँ साहु कान्छाको पनि छ । अँ ! के भन्देखि निसाप भन्या चार जना मान्छेका अगाडि ठहर्ने हुनुपर्छ । अँ ! मेरो कुरो के भने चैन्जोहेरी यसमा अर्घेल्याइँ तिम्रो पनि छ । त्यसले गर्दाहुँदी मेरो चाहिँ यसमा चैन्जोहेरी केही भन्नु छैन ।”
“म त मरें पर्धान बाजे ! म खुत्रुक्कै मरें !” फूलमायाले निराश हुँदै भनी– “पर्धान बाजेले निसाप नगर्ने हो भने यस गाउँमा अत्याचारको राजै चल्ने भो ।”
“अँ ! के भन्देखि मुख तिम्रो पनि अल्लि छुचो । साहु कान्छो पनि के भन्दोखि चैनजोहेरी अल्लि तामसी । बेलैमा मसँग आउन छाडेर तिमी पनि के भन्देखि ठूलाबडासँग शेखी गर्नपट्टि लागिछ्यौ । कुरो चैन्जोहेरी त्यहीँ नै बिग्य्रो । के भन्देखि तिम्रै अर्घेल्याइँ चैन्जोहेरी ज्यास्ती भो भन्ने सुनिन्छ नि त ।”
“पर्धान बाजे !” असहाय स्वरमा फूलमायाले भनी– “बोक्सीको फत्तुर मैमाथि, वेश्येको बात मैमाथि, चोर्नीको कलङ्क मैमाथि, विपत्तिको पैरो मैमाथि । र अझ उल्टो मेरै अर्घेल्याइँ पर्धान बाजे ? हे भगवान् !”
“मैले त दुनियाँको आवाजमुताबिक चल्नुपर्छ । कुरो के भन्देखि जनप्रतिनिधि भएपछि के भन्देखि... ... अँ ! चैन्जोहेरी देख्ने–सुन्नेको भनाइ यै छ ।”
“सारा गाउँलेले एक स्वरले त्यसको पच्चीसै आना फट्याइँ छ भन्या छन् पर्धान् बाजे । यो कोरो लाउने जमाना होइन भन्या छन् । म अनाथ आइमाईमाथि त्यसको गिर खेलाइ अचाक्ली भो भन्या छन् पर्धान् बाजे !”
“अँ ! चैन्जोहेरी..,.” पर्धान्ले भने– “तिम्रो कुरो पनि के भन्देखि बेमुनासिब छैन । तर सक्कली कुरो के भन्देखि चैन्जोहेरी तिम्रा आफन्तको कुरो भो त्यो । कुरो भन्या चैन्जोहेरी दोहोरो सुन्नुपर्छ र के भन्देखि चैन्जोहेरी निसाप भन्या दुवैतिर चित्तबुझ्दो हुनै सक्दैन ।”
“कोरो उठार त्यल्ले मेरा नाकाँ गुहु लायो पर्धान् बाजे । मैले चार जनाका मुखेन्जी मुख देखाइ नसक्नु भो । यो अत्तिचार बढ्ता भो पर्धान बाजे !”
यस्तै आपत–विपत्मा दया–दृष्टि पाइएला भनेर सारा गाउँका आइमाई उठार मैले चुनाउमा टिकस हाल्या थें पर्धान बाजे !
“अँ ! कोरो झिकाको चैन्जोहेरी मेरोसमेत राय सल्लाह लिएर हो । कुरो के भन्देखि चैन्जोहेरी यो सनातन रीत हो । धर्म–परम्परा भनेको चैन्जोहेरी हामीले मान्नैपर्छ । यसमा तिमीलाई चित्त नबुझ्ने कुरा त चैन्जोहेरी क्यै देख्दिनँ म ।”
“धर्मपरम्परा भन्दैमा अर्काको इज्जेत लिन पाइन्छ पर्धान बाजे ? यो पछ्छेपाती कुरा भएन ?” फूलमायाको धैर्यले ठाउँ छाड्यो । पर्धान बाजेका धिङ्न्याहा कुरा सुन्दा उसको टाउको दुख्यो । “अर्काको गाँस–बास हर्नु पनि धर्म हो त पर्धान बाजे ?”
“अँ ! मैले चैन्जोहेरी तिम्रो भलो चिताएर भन्या छु । अचेलभरि के भन्देखि चैन्जोहेरी गाउँमा हुल्याहाको जग्जगी छ । हुल्याहा भनेका कस्ता भने चैन्जोहेरी टाट पल्टेका । राजनीतिसँग लसपस भका । दिमाग सड्केका । जात बेचुवा, बाबु, गुरm, कानुन–धर्म चैन्जोहेरी क्यै नमान्ने । त्यस्ता उपद्रयाहासँग चैन्जोहेरी तिम्रो क्यै यसो उसो छ भन्ने यताउता सुनिन्छ नि त चैन्जोहेरी । साहु कान्छालाई गाली बेइजती गर्नु चाहिँ के भन्देखि तिम्रो ठूलो कसुर भो चैन्जोहेरी । त्यसमाथि हामी छँदाछँदै हुल्याहा गुहार्नुचाहिँ चैन्जोहेरी ठूलै अर्घेल्याइँ भो । खाँट्टी कुरो चैन्जोहेरी... अँ चैन्जोहेरी के भन्देखि चुप लाग्नुमै तिम्रो भलो देख्छु म । बासउठ्ठै सही । ठूलाबडासँग कुम जोर्नु चैन्जोहेरी जायज ठहरिन गाह्रै छ चैन्जोहेरी ।”
“यस्तै आपत–विपत्मा दया–दृष्टि पाइएला भनेर सारा गाउँका आइमाई उठार मैले चुनाउमा टिकस हाल्या थें पर्धान बाजे ! त्यो गुनको पैंचो यै भो त बाजे ? यो अचाक्ली पछ्छेपात भएन ?” रिसले भाउन्न हुँदै फूलमाया पहाडभन्दा गह्रौं टाउको समात्दै उठी । “निर्धाका वचन यसै लत्याउने हो त बाजे ?”
“अँ ! के भन्देखि,” हातको इशाराले बस्न अराउँदै पर्धानले चिप्लो स्वरमा भने– “तिम्रो भनाइ बेठीक हो भन्न त चैन्जोहेरी मेरो मुख लाग्दैन । तिम्रो गुन के भन्देखि सात जुनीमा तिरेर पनि सकिँदैन । तर कानुन भनेको चैन्जोहेरी माया मुलाहिजाभन्दा तीन बित्ता माथि हुन्छ । ऐनमा कालोलाई चैन्जोहेरी कालै नभनी धर पाइँदैन ।” उनले चिम्टाले ओल्टाइ–पल्टाई गर्दै चिलिमका निभ्न लागेका कोइला फुके । उसको अनुहार खरानीले फुस्रो भयो । अनि ओठमा नली टाँसेर चोरऔंलो घुमाउँदै भने– “मेरो ज्यानमा समेत दागा धर्ने हुल्याहासँग साँठोगाँठो जोर्नुचैं चैन्जोहेरी तिम्रो अजङ्गकै अपराध भो । त्यसैले के भन्देखि चैन्जोहेरी तिमी चुक्यौ ।”
त्यस चैन्जोहेरीको संसारमा आज उसले जीवनको ज्योति कतै देखिन ।
“जालझेललाई सरापेर चारोटा बात बोल्ने हुल्याहा भए भने साहु कान्छो जस्ता राछ्छेसचाहिँ के भए त बाजे ? दुनियाँले मानेर छानेका मान्छेले यस्तो मतलबी कुरा गर्न स्वाउँछ ?” आँखै नदेखी फूलमाया गर्जिई । उसको छाती सास फेराइको तोडले तलमाथि चल्यो । घाँटीका नसा फुले । र नाकका पोरा चले । “सुर न तालका दहीच्युरे कुरा ! कुहेको निसाप !” उसले पिच्च थुकी र ऊ आँगनमा ओर्लिई । “चाट्न पाए क्यै नचाहिने मतलबी दुनिया !”
“के भन्देखि चैन्जोहेरी हिँड्दाखेरि आँखा हेर्नुपर्छ । म नभए चैन्जोहेरी तिम्ले झ्यालखानमा कोचिन बेर थिएन । गुन भनेको चैन्जोहेरी मान्छेले बुझ्नुपर्छ ।”
फूलमायाका आँखामा कालो बादल मडारियो । ऊ सुद्धि हराएजस्ती भई । र नसा–नसामा तीखा काँडा दगुरेजस्तो भो । उसलाई संसार पीप र रगतको खोलोले भरिएको नर्कजस्तो लाग्यो । यस्तो नर्क जहाँ दयामाया छैन, जहाँ कानुन र निसाप छैन, जहाँ रmवाबासी र हत्या, काटमार र अन्तहीन कोलाहल बाहेक केही छैन । यस्तो नर्क जहाँ छलकपट र धोका बाहेक केही छैन । र त्यस नर्कमा ऊ कपट भरिएको वचन सुन्दै थिई– “के भन्देखि चैन्जोहेरी... अँ ! के भन्देखि चैन्जोहेरी निसाप भन्या दुवैतिर चित्तबुझ्दो हुनै सक्दैन ।”
त्यस चैन्जोहेरीको संसारमा आज उसले जीवनको ज्योति कतै देखिन ।
०००
हुरीको वेगको प्रहारले आँपको निकै ठूलो मक्किएको हाँगो मर्याक्क भाँचियो । तलका हाँगाहरुमा जोल्ठिँदै, सर्याकसुरुक गर्दै पत्करको थुप्रोमाथि त्यो गल्र्याम्म खसेको आवाज सुन्दा गन्जबहादुर झसङ्ग भयो । दहको छेउमा बल्छीको टाँगो समातेर निकैबेरदेखि उभिँदा उसका खुट्टा गलेछन् । मुन्टो उठाएर उसले आकाश हेर्यो । बादलका काला, फुस्रा पहाडहरु उत्तरी आकाशबाट हतारहतार उड्दै थिए । लौ आज असिना–पानी पर्ने भो । उसले दह हेर्यो । र बल्छीको अङ्कुशे वरिपरि माछाको नामनिशाना नदेख्दा उसको मन खिस्रिक्क पर्यो । अनि त्यस रित्तो मनमा नानाथरी कुरा खेल्न थाले । आँखा खोलापारि डिलमाथिको सानो छाप्रोतिर सोझिए । उसको मनमा शङ्काका लहर उठे । छाप्रो बाहिरपट्टि चिया खान बस्ने बेन्चीमा मगर कान्छो र फूलमाया सँगसँगै टाँसिएर बसेका थिए । आँखाले धोका दिएको हो कि भन्ठान्दै ऊ सतर्क भयो । मगर कान्छाले फूलमायाको कम्मरमा काउकुती लाए झैं गरी हात चलाएको देख्दा उसका आँखा फत्रक्कै गले । अझ ती दुईजना खितित्त हाँसेका सुन्दा त उसको हंसले ठाउँ छोड्ला जस्तो भो ।
“एत्तेरी लिँडा...,”
बल्छी किनारमा फ्याँकेर पिँडुलाका नसा फुलाउँदै ऊ फटाफट खोलाको डिलतिर उक्ल्यो । हिँडाइको चाल र मनको तीतो शङ्काले गर्दा उसको आत्मा छट्पटायो । खोलाको डिलमा पुगेर डाहा भरिएका आँखाले उसले छाप्रो ताक्यो– त्यहाँ कोही पनि देखिएन । सपना हो कि भनेर उसले दाहिने खुट्टाको बूढीऔंलाले भुइँ खोस्य्रो र दुई–तीनपल्ट कुम हल्लायो । अनि उसले तल्लो ओठ रगत आउन्जेल टोक्यो । बल्छी खेलाउन जाने कि छाप्रोतिर लाग्ने हो ऊ अल्मलियो । अनि नाकबाट ठ्याँस्–ठ्याँस् आवाज निकाल्दै फटाफट छाप्रोमा पुग्यो । यसो भित्र हेर्यो– फूलमाया मुख अँध्यारो पारेर निगुरो केलाइरहेकी रहिछ । उसलाई आफ्नै मानसिक अवस्थाप्रति शङ्का लाग्यो र निकै रिस उठ्यो ।
“के हो तेरो चाल् ?”शङ्का र डाह मुछिएको स्वरमा उसले सोध्यो । सोधुँ कि नसोधुँ भनेर मनमनै कुरा खेलाउँदा–खेलाउँदै जिउँदो माछो हातबाट पिलित्त चिप्ले झैं उसको बोली चिप्लिहाल्यो । उसलाई नमज्जा लाग्यो ।
“तेरै दमाहा फुलाउने चारो ।” लोग्नेको सोधाइ ठम्याउनै नपाई फूलमायाले ओठमा मधुरो मुस्कान र आँखामा मयालु भाव नचाउँदै छेड हानी ।
“हैन के हो तेरो चर्तिकला ?”
“यसरी किन कुल्र्या हो?”
मरें... मरें,” पीडा र चिन्ताको गहिराइबाट पोखिएको चित्कार वातावरण निराश बनाउँदै आकाशतिर उठ्यो ।
“लिँडे मगर तेरो को हो ?”
“तँ बौलाइस् कि क्या हो ?” फूलमाया जिल्ल परी ।
“लिँडेसँग टाँस्सिएर तँ कल्लाई जात्रा देखाउँदै थिस् ?”
“हेर अलच्छिनी बोली? फेरि लाइसकिस् ठाडो घाँटी ?”
“पातर्नी राँडी !”झम्टेर उसले स्वास्नीको चुल्ठो समात्यो । “रातदिन संसारले कुरा काट्दा पनि नचेत्ने तँ फुँडी !” उसले पूmलमायाको भुँडीमा एक लात्ती गोद्यो । फूलमाया सास फेर्न नसकेर घोप्टो पर्दै छट्पटाई । उसले घाँटीमा अर्को लात्ती थप्यो । फूलमायाको मुख भुइँमा जोतियो । अलिबेरमा बल्लतल्ल मुन्टो उठाउँदै उसले रगतमा भिजेको माटो थुकी ।
“मार्... मलाई ठहरै मार् !’ फूलमायाले अग्घोरै विरही स्वरमा भनी– “मलाई मार्दा तँलाई मज्जा हुन्छ भने मार् ! पापी गोज्याङ्ग्रा !”
“मरें... मरें,” पीडा र चिन्ताको गहिराइबाट पोखिएको चित्कार वातावरण निराश बनाउँदै आकाशतिर उठ्यो ।
अपमानको आवेगले गन्जेको फोक्सोमा भरिएको सासमा शूल बिझाएजस्तो भो । बाहिरको बेन्चमा बसेर निधारमा मुजा पार्दै उसले घोस्से मुन्टो लायो । नूर गिरेका आँखाले उसले स्वास्नीलाई पुलुक्क हेर्यो । फूलमाया निर्जीव मुढो झैं लम्पसार परेकी थिई । गन्जेलाई व्यर्थै स्वास्नीलाई पिटेछु भन्ने लाग्यो । र पछुतोले उसको चेतनालाई झ्वाप्पै छोप्यो । तर उसलाई फेरि जङ चल्यो रस्वास्नीतिर हुर्रियो । चाकमा एक लात्ती दिएपछि स्वास्नी वेदनामय स्वरमा कराई । अनि गन्जे खोलाको डिलतिर लमक–लमक लम्क्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
-
रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
-
रास्वपा भूगोलतर्फको चुनावी नतिजा: प्रदेशबाट कसले कति मत पाए ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण