फूलमाया–३
सारांश
- फूलमायाका लोग्ने गन्जेले घरबारी धितो राखेर लाहुर जाने निर्णय गर्दा फूलमाया गहिरो संकटमा पर्छिन्।
- गन्जेले समयमा पैसा नपठाएपछि र बाचाअनुसार घरबारी फिर्ता नहुँदा साहु कान्छाले फूलमायाको बास उठाउँछन्।
- अन्ततः, साहुको कठोर व्यवहार र कानुनी दाउपेचका कारण फूलमाया आफ्नो सानो झुप्रो छाडेर बिचल्लीमा पर्छिन्।
संसारको राक्षसी चलन र जीवनको डरलाग्दो दुर्गति देखेर निसासिएकी फूलमायाले भाँचिएको मन टेकाउने ठाउँ कतै देखिन । उसले खिन्न आँखाले लोग्ने मुगलान जाँदा उक्लेको परको डाँडो हेरी । त्यो डाँडो पनि सारा मानवीय भावना नष्ट भएको साहुजस्तै डरलाग्दो देखियो । अनि उसका आँखा पूर्वपट्टिको अग्लो न अग्लो डाँडोतिर उक्लिए । त्यै डाँडाको काखमा उसको सानो झुप्रो थियो । दुःख पर्दा लुकेर रूने उसको बास थियो ।
झुप्रोमुनि चानचुन तीन हलको बारी थियो । त्यो उसको प्राणको सहारा थियो । त्यो झुप्रो र त्यो बारी आफ्ना हातमा छँदा सुख–दुःखमा हाँसखेल गर्ने उसको मयालु गन्जे पनि सँगै थियो । अब त्यो झुप्रो र बारी बिरानो भो । र दुर्भाग्यले पर्दा गन्जे पनि बिरानो जस्तै भो ।
तालुमा हात राखेर झोक्राउँदै फूलमाया बसिरही । उसको बितेको जीवनका अप्ठ्यारा उकाली¬–ओराली विघ्नै डरलाग्दा थिए । “यस्तो चालले अब निर्वाह चल्दैन ।” एक दिन औडाहा मान्दै गन्जेले फूलमायासँग दुःख पोखेथ्यो– “अब सालिन्दा लालाबाला बढ्छन् । आफ्नो भन्नु त्यै जाबो तीन हलको बारी छ । त्यै पनि राक्षसको छातीजस्तो रूखोे न रूखोे ।
संसारमा मान्छे रातोदिन बढ्दो छ । अचेलको पढाइले फटाहा र अल्छीको बगाल निकै उकास्यो । कर्मले पुर्पुरोमा ज्ञानविद्ये लेखेनछ । साहुकहाँ हली बस्न पनि नपाइने जमाना आयो, बुझिस् ? बाकसमा रकम र हातमा इलम नहुनेलाई संसारै अँध्यारो भो । गल्ला आइहाल्यो । गाउँघरका तन्नेरी ठिटा मलाया र इण्डिया ओइरिए । तँ के भन्छेस् नि ?”
“घर एक्लो पर्छ । छोरो नाबालक छ । अनि यो पेटको...,”
“जिन्दगी गुजार्न कि हिम्मत चाहिन्छ कि चाहिन्छ सम्पत्तिको थैली । पहिलेको दुःख पछिको सुख राम्रो । कसका स्वास्नी एक्लै छैनन् र ? दुःखको पापी वेभारै एक्लो । मेरो किस्मतको बाटोमा किन तगारो लाउँछेस् तँ ?”
फूलमाया नरमाइलो मान्दै चुपचाप बसी ।
“मलाया जान पाए पाँचै सालमा पैसाको खोलो बग्छ । सिरूवारी ठुटेको चाल देखिनस् ? त्यस्ता गोज्याङ्ग्राले त बिटाका बिटा रूपियाँ ल्यायो भने म त... त्यै सात दस बर्खको बिछोड त हो नि । त्यसमा पनि छे मुइने छुट्टी छँदैछ । नजिक हुने त मन पो त । ठुटे गोज्याङ्ग्राको फुर्ती देख्दा मलाई त कसोकसो लाज मर्नु भो ।”
फूलमायालाई शिरमाथि आपत्तिको भुङ्रो खनिन आँटेजस्तो लाग्यो । व्यवहारको पीरमर्का र छरछिमेकीको दुष्ट हेराइ सम्झेर उसले जाँदै नजा भन्न त सकिन । र चाँडै जन्मिने पेटको बालक र नाबालक छोराको बिल्लीबाठ सम्झेर जा भन्न आँट गर्न पनि सकिन ।
“मलाई आपत्मा पारेर जाने ?”
“आपत् त गरिबको जन्मजात साथी हो मोरी ।”गन्जेले निधारमा मुजा पारेर भन्यो– “आपत् मोरो सम्झ्यो भने ठूलो हुन्छ । मिच्यो भने गल्छ । आजको आपत्को डरले भोलिको बाटो भुल्ने त ? छोरो भर घरमै जुम्रा मारेर बस्न स्वाउँछ ? पराक्रम गर्ने जात हो छोराको । देशविदेश नहेरी छोराको बुद्धि खारिँदैन । त्यसमाथि हाम्रो त वेभारको जहाजै डुबिसक्यो । भैगो ! हाम्रा छोराछोरी साहुकै नोकर होउन् भन्छेस् भने म के भनूँ ?”
फूलमायाले अँध्यारो मुख पार्दै आँसु पुछी । बल्ल मन्जुर भई भन्ने अर्थ लाउँदै गन्जे ढुक्क भयो ।
“इमान रहुन्जेल संसारमा आफन्त पाइन्छन् ।” फूलमायालाई फुल्याउँदै गन्जेले भन्यो– “सारोगाह्रो पर्दा सरसघाउ गर्ने दिदी छिन् । छरछिमेकीसँग मेल राखे दुःखमा हेर्छन् । दुई–चार महिनाको कुरो हो, अनि त खर्चबर्चको चाँजो म मिलाइदिन्छु । त्यै हो घरखर्चको दुःख म टार्ने भएँ । मायामोहको दुःख सम्झेर आत्तिनु भएन ।”
०००
“दिनभरि चारचौरास डुलें । ”झमक्क साँझ परेपछि आइपुगेको गन्जेले टुसुक्क बसेर सुस्केरा हाल्दै भन्यो– “यो पैसो भनेको ज्यानमारा जिनिस रछ । हुरूक्कै हत्ते हाल्दा पनि कसैले बाटा खर्च पत्याएन । पैसाले पैसालाई पत्याउने चलन छ । कङ्गाललाई कल्ले पत्याउने ?”
“कति चाहिन्छ ?” मसिनो स्वरमा फूलमायाले सोधी ।
“थुप्रो चाहिन्छ ! पान सौ जति । गल्लावालका मुखाँ बुजो लाउनै पर्यो । भर्ती जाने भनेपछि एक जोर लुगा हाल्नै पर्यो । बाटा खर्च जोड्नै पर्यो । खोई त्यतिले पनि नपुग्ला कि ?”
पूmलमायाले दुःखी आँखाले गन्जे र काखको चतुरेलाई पल्याक–पुलुक हेरी ।
“बरू कसैको खोरिया खनेर यतै गुजारा चलाउन पाए हुन्थ्यो । त्यत्रो सात समुद्रपारि ! मन पनि नपुग्ने बिरानो ठाउँ...,”
“आच्या ! कस्तो पानीमरूवा कुरो ? स्वर्गको रमझम छोडेर जानीजानी नर्कको हुर्मतमा जाकिने ? मालिकको खोरिया खन्ने काम त हुतिहाराको हो । छातीमा रौं र ओठमा जुँगा हुने मर्द मुगलान त के बाघको झम्टाइदेखि पनि डराउँदैन । संसार भनेको उद्योग हो, पराक्रम हो, जुद्ध हो...,”
हाँसउठ्दो कुरो के थियो भने गन्जेले जत्तिसुकै फुर्ती लाए पनि उसको छातीमा रौं र ओठमा गतिला जुँगा थिएनन् ।
“गए यै घरबारी जाला यत्रैसिति ।” आँट र हैरानी मिसिएको स्वरमा उसले भन्यो– “घरबारी साहु कान्छालाई डिक लेखिदिएर भए पनि चित्तले देख्या बाटो हिँड्नैपर्ला । म जत्तिको मान्छेले सय ठाउँ दाह्रा ङिच्याउँदा नाथे पान सौ ठाँडा नपाउनु... थुक्क चलन !”
फूलमायाको मन आफ्नै निराश तर्कनामा जेलिएको थियो । गन्जेको आँटले उसको आँट बढेन । गन्जेको मनको तापले उसको मन जलेन ।
“यता पनि नास उता पनि नास भयो भने त हाम्रो बासउट्ठै हुन्छ नि ।”
“हिक्मतीका दैव साथी । आँट कि छोराले गर्छ कि शूराले गर्छ । के यस पर्पुराँ क्यै नलेख्या होला त ? त्यस्तै हो जुद्धमा जानेले कि ज्यान फाल्छ कि मान, कि धन बक्सिसको थैलो बोक्छ ।”
साहु कान्छाको नाम सुन्नेबित्तिकै फूलमायाले झल्याँस्स साहुनी कान्छीलाई सम्झिई । छुद्री, निठुरी र कन्सुत्ले साहुनी कान्छी । त्यै साहुनी कान्छीलाई देवी थापना गर्ने त ?
“डिक नै लेख्नुपरे अल्लि गतिलो साहु खोज्न मिल्दैन ?”
“साहु पनि कैल्यै रोजी–छाडी पाइन्छ र ?”
“महाकी दुष्ट छे नि त्यो चोथाले साहुनी कान्छी ।”
“टुप्पाबाट पलाका जम्मै यस्तै हुन्छन् ।”
भोलिपल्ट बिहान साहु कान्छाका पिँढीमा पञ्च भलादमी जुटे । गम्भीर वातावरणमा लेखापढी भयो । गन्जेको मुटु डर, शङ्का र छट्पटीको बुझ्दै नबुझिने भावमा डुबेर एकनासले ढुकढुक ढुकढुक गर्यो । निकै ठूलो खतराको अक्कासे भर्याङ चढ्न आँटेजस्तो लाग्यो उसलाई । यस्तो भर्याङ, जसलाई बलियोसँग गाडिएको पनि छैन र अड्याउने भनेजस्तो टेवा पनि छैन । यस्तै हो कङ्गालले हिँड्ने बाटै धराप हुन्छ भनेर गम्दै उसले चित्त बुझायो ।
“सयकडा बीसका दरले व्याज सय ।” हातमा नोटको बिटो हल्लाउँदै बडो बादशाही स्वरमा साहु कान्छाले भन्यो– “अँ घिउ खाने कोसेली त ठीक पार्याछस् नि गन्जे ?”
“हँ बा ! जे भएको माउजीलै सुम्पिहालें नि मैले ।”
“हेर् गन्जे ! लम्बेतान कुरो म जान्दिनँ । मान्नुपर्नेको मान राख्नुपर्छ भनेको हो ।”
“खै म के भनूँ बा ? यस्सै भन्न गाह्रो पर्यो ।”
“अँ के भन्देखि चैन्जोहेरी बोको देख्याथें नि तेराँ बोको ।” ओठ चाट्दै पर्धान बाजे बोले ।
“बाजे ! त्यो त कालिका माईलाई भाक्या छु ।”
“ए... झाँक्री डाकेर यसो के भन्देखि चैन्जोहेरी एउटा कुखुराका चल्लाँ सारे त टन्टै खलास भैहाल्यो नि ।”
“दुख्ख पर्दा भाक्या हुँ बाजे । गरिपको बाचा–बन्धन हो ।”
“छोड्दे ! म लामो कुरो जान्दिनँ । लौ तँ के भन्छस् ?” साहु कान्छाले भन्यो ।
“दाँता ढुङ्गो लाग्यो कान्छा बा ! म छाँगाबाट खसें ।”
बोल–कबोलबमोजिम गन्जेले तीन सय पचास रmपियाँ बुझ्यो । सय रूपियाँ व्याजमा कट्टी भो । बाँकी पचास दसैंको कपडाको बक्यौतोमा गयो । औंलामा थुक लाउँदै नोट गन्दा गन्जेका आँखा तिरीमिरी भए ।
“कप्तान भर सुखले गरिखाको देख्न पाइयोस् गन्जे ।” काम तमाम भइसकेपछि लेखापढीको सनासो हातमा लिँदै साहु कान्छाले भन्यो ।
“आसिक लागोस् बा ! गरिप उँभै लागोस् ।”
“मेरो चैं के भन्देखि चैन्जोहेरी कुरो दोहोरो छ ।” ठट्टयाइलो र चिप्लो स्वरमा पर्धान बाजेले भने– “म त के भन्छु भने चैन्जोेहेरी साहु कान्छालाई डिकले उँभो लाओस् र चैन्जोहेरी गन्जेलाई लाहुरले उँभो लाओस् । सामाजिक कार्जेकर्ताको हैसियतले के भन्देखि चैन्जोेहेरी यस कुरामा मैले दोहोरो कल्याण देख्या छु । यो चैन्जोेहेरी मेरो सिद्धान्त हो ।”
“हो... पर्धान बाजेको कुरो किस्नजीकै वचन हो ।” ओठमा मुस्कान नचाउँदै साहु कान्छाले सही थाप्यो– “तब न पर्धान बाजे ।”
खल्तीमा सर्प बोके झैं झस्किँदै गन्जे लुरूलुरू घरतिर गयो ।
“सय रूपियाँमाथि अझ घिउ खाने बोको ? अल्लि गतिलो साहु खोजूँ भन्या थिनँ र मैले ?” फूलमाया फत्फताई ।
“भो कच्कच् नगर् । जसका हाताँ अङ्कुसे छैन त्यसका इसाराँ संसार चल्दैन भन्ने कुरा हामीले बुझ्नुपर्छ । हुनलाई डाकै हो तर भनेर के लाग्छ र ?”
आज भोलि गर्दागर्दै गन्जेको बाटो लाग्ने दिन आइहाल्यो । डाक्टरी जाँचको लागि ऊ पक्लीहवा गयो । सात दिनपछि फूलमायाले डाक्टरी जाँचमा गन्जे फेल भयो रे भन्ने सुनी । आज आउला, भोलि आउला भनेर बाटो हेर्दा–हेर्दै ऊ त विरक्तिएर मुगलान भासियो रे भन्ने खबर पो आयो । फूलमाया त्यसै–त्यसै विचल्लीमा परी । एक महिना बित्यो अनि दुई महिना, पाँच महिना अनि बाह्र महिना । गन्जे न भर्ती लाग्यो, न उसले चिठी पठायो, न ऊ आफैं आयो ।
“पीरले रनाहा लागेपछि मान्छे सिल्ली हुन्छ भन्छन् । हरे ! त्यस्तो त हुनु नपरोस् ।” गन्जे फूलमायासँग भन्थ्यो । ती वचन फूलमायाका मनमा निकै बिझाए ।
बोलकबोलको भाका श्रीपञ्चमी ह्वाङ्ग मुख बाएर आयो ।
“ज्वाइँको खैखबर के छ हँ ?” चोर बिरालो झैं फुत्त आएको साहु कान्छाले सोध्यो ।
“छैन बा... क्यै खुटपत्तो छैन ।”
“बोलकबोलको हदम्यादले त डाँडा काट्न आँट्यो छोरी, रकमकलम त पठाका होलान् नि ज्वाइँले ।”
“मरे बाँचेकै ठरठेगान छैन बा ! के को रकमकलम ?”
“बाचा–बन्धन अन्सार त घरबारी छोड्दिनुपर्ने भो ठूली ! के गर्छेस् नानी ? वेभार भनेको पापी हुन्छ । यसमा मायामोहको क्यै जोर चल्दैन ।”
“म एक्ली आइमाई बा ! उसको वेभार उही जानोस् । मर्द हो । आउला नि एक दिन । कसो छोड्ला र इमान–जमान ?”
“महाको चोट्टा निक्ल्यो रे गन्जे ।” स्वर अर्जाप्तै बडो धकलाग्दो स्वरमा साहु कान्छाले भन्यो– “रोगले खग्रास पार्या छ रे । त्यहीमाथि ठाडो घाँटी लाउन लम्बरी निक्ल्यो रे त्यो । त्यस बिइमानीपट्टि मेरो मन मरेर आयो । छुसीले न घर जहान सम्झ्यो, न इमान–जमान । लेखापढी थाहै छ तिमीलाई । भाका पुगेपछि घरबारी खाली गर्दिनुपर्छ बुझ्यौ ?”
“म एक्ली आइमाई कहाँ जाऊँ बा ?” झस्किँदै फूलमायाले सोधी– “उल्ले इमान छोडे पनि मेरो त क्यै बिराम छैन नि बा ।”
“हैन... मेरो पोइ नै होइन त्यो भन्न खोज्या हो ?”
“हँ बा ?”
“लेखापढीको कुरो बज्रभन्दा कठोर हुन्छ नानी ! अर्काले मुन्ट्याउँदै घरबाट निकाल्नुभन्दा आफ्नै सुरले थपक्क इज्जतसात घर छाडिदिनु राम्रो हुन्छ सुन्यौ ?”
हंस उडेकी फूलमायाले साहु कान्छालाई ट्वाँ परेर हेरी ।
पुग नपुग वर्ष दिनपछि गन्जेले चिठी पठायो । निकै लामो त्यस चिठीमा उसले घर छोडेदेखि आजसम्मका जम्मै हन्डर, दुःख र औडाहा सँगालेको थियो । त्यो सुन्दा फूलमायाको पिलिएको छातीमा भक्कानो फुट्यो ।
“काखको नानीलाई देख्ने रहर छ ।” गन्जेले लेखेको थियो– “यत्रो दिन चिठी पत्र नलेख्दा लोग्ने पापी रैछ भन्ठान्यौ होली । के गर्नु र भोकालाई मीठो अर्ती भन्दा भातै चाहिन्छ । मेरा चुल्हामा भात पाकेन । मेरा पुर्पुरामा पापीले क्यै लेखेनछ । साहु कान्छालाई ढोग सलाम छ भन्दिनू । र घरबारी थमौती गरिमाग्न इष्ट–मित्रसँग रोइकराइ गर्नू । जिन्दगी यस्तै रछ प्यारी ! मलाई सम्झेर नरूनू ।”
तर फूलमाया रोई । काखको नानीलाई छातीमा टाँसेर दाह्रा किट्दै मुटु मिचीमिची रोई । एउटा दुःखीले अर्को दुःखीलाई लेखेको त्यो विरहलाग्दो चिठीले फूलमायाको कमलो हृदय जताततै छोयो र ऊ रोई ।
“गन्जे ! मेरो परान् ! मेरो दुःखको साथी !”
०००
कानुनको करौंतीले एउटी अनाथ आमाको गलो रेट्न साहु कान्छाका घरमा फेरि एकबाजि पञ्च भलाद्मी जुटे ।
“बा !” बासउठ्ठाको कुरो उठेपछि अताल्लिँदै फूलमायाले बिन्ती बिसाई– “बाजेबराजुका पालादेखिको घरबास छाडेर म बेसहाराले कहाँ जाने होला बा ? ममाथि दया होस् । ज्वाइँले ढोग सलाम छ भन्दिनू भन्या छ चिठीमा । समय सालसम्म थमौती गरिमाग्नु भन्या छ ।”
“भो... त्यस बिएमानी भातेको नाउँ नबक । त्यो सड्यो । त्यो मुगलानमा भए पनि मैले घरैबाट त्यसको आन्द्राभुँडी देख्या छु । कहीँ कसैले नपत्याएर बिरानोे साहुको कमारो हुन पुगेछ त्यो अधबेस्रो । जुवा, जाँड, रण्डीबाजी.... अहो ! त्यसको बिज्याइँ बयान गरी साध्यै छैन । साहु कान्छाले छुच्चो कुरा गर्यो नभन्नू, त्यो बौलाहा फर्केर आएछ भने म कान काटेर गुहुमा हाल्छु ।”
झीरभन्दा तीखा ती वचन सुन्दै फूलमाया छट्पटाई । उसलाई त्यसैत्यसै भाउन्न होला जस्तो भयो ।
“नियम–कानुन भनेको कस्तो भने चैन्जोेहेरी लाग्ने खुकुरी जस्तो ।” धाक जमाउँदै पर्धान बाजेले भने– “खुकरीले चैन्जोहेरी कामीलाई काटे झैं कानुनले चैन्जोहेरी मलाईसमेत काट्छ । यो वेभार भनेको कस्तो भन्देखि चैन्जोहेरी बोलकबोल पूरा हुनैपर्ने । त्यसैले गर्दाहुँदी म के निक्र्यौल गर्दिन्छु भने चैन्जोहेरी कानुनले साहु कान्छालाई पछ्यायो । त्यसैले चैन्जोहेरी आफ्नो लेखान्तर सम्झेर चित्त बुझाउनुपर्यो । र बोलकबोलबमोजिम फूलमायाले साहु कान्छालाई चैन्जोहेरी खुरूक्क घरबारी सुम्पुवा गर्दिनुपर्यो ।”
“यो त म एक्ली आइमाईमाथि पर्लय भो बाजे !”
“भएन चैन्जोहेरी मैले काँ भन्या छु र ?” पर्धान बाजेले घुँडाबाट आँसु चुहाए– “म त अझ चैन्जोहेरी अचाक्ली पर्लय भो भन्छु । तर के भन्देखि चैन्जोहेरी कानुनले बाँधेको दुःखको जिन्दगानी नै पर्लय हैन र ?”
“म सरन परें बा ! मेरो बास नउखेलियोस् ।”
“हैन साहु कान्छा, के भन्देखि चैन्जोहेरी यो मर्ने जुनी हो । यसो लेखापढीको रीत मिलार चैन्जोहेरी यस आइमाईलाई अधियाँसधियाँ जे जसो गरी हुन्छ जग्गा दिए हुन्थ्यो कि ? मेरो हृदयत चैन्जोहेरी यसको गनगन सुनेर आँसुले भिज्यो ।”
“यसको भर छैन पर्धान बाजे !” नाक खुम्च्याउँदै साहु कान्छाले भन्यो– “मेरो जेथो डुब्छ ।”
“यल्लाई... यस दुर्मुखालाई आज्जै लखेट्नुपर्छ ।” साहुनी कान्छीले मुन्टो निहुराएर बाहिर निस्कँदै कठोर वचन पोखी– “यस कुरौटे बजिनीले गाउँको लच्छिन नै बिटुल्याउने भई ।”
“राँड !” बडाबडा आँखा तर्दै फूलमायाले मनमनै सरापी ।
“सीताराम ! सीताराम !! सीताराम !!!” पर्धान बाजेले लेग्रो ताने– “कुराको चैं चैन्जोहेरी बिटै मर्या देखें मैले ।”
“कोखाँ दाँत भको असत्ती संसार !” मनमा तापको ज्वाला र आँखामा आँसुको धारो लिएर मुर्मुरिँदै फूलमाया उठी र भाउन्न हुँदै हिँडी ।
सात दिनपछि बिरालाले छाउरा सारे झैं फूलमायाले आफ्ना लालाबाला चौबाटाको स्याउले बजारमा सारी ।
दयामायाको जिउँदो मूर्ति भनी नाम चलेको त्यै उपकारी साहु कान्छो सुख र चैन बाँड्न आज एकाबिहानै फूलमायाको अभागी छाप्रोमा आउँदा उसका चित्तमा चस्को नपस्ने कुरै पो के थियो र ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण