शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
अतीतबाट साभार

फूलमाया–४

शनिबार, १२ वैशाख २०८३, १४ : ००
शनिबार, १२ वैशाख २०८३

सारांश

  • साहु कान्छाले झूटा आरोप लगाउँदै फूलमायाको मुन्द्री खोसेर उसको अपमान गर्छन्।
  • गाउँलेहरूले अन्धविश्वास र कोरोको नाटकको विरोध गर्दै साहु कान्छामाथि कुटपिट गर्छन्।
  • साहु कान्छाका छोरा चक्रेले फूलमायाको छाप्रो भत्काइदिन्छन् र उनलाई गाउँ छोड्न धम्की दिन्छन्।

“म अग्घोरै अन्यायमा परें पर्धान बाजे !” असिन र पसीन गर्दै घामको झुल्कोमा अचानक आइपुगेकी फूलमायाले उत्तेजित र व्यथित स्वरमा बिन्ती चढाई– “तिम्रो घरलाई देउताको मन्दिर सम्झेर आएकी हुँ पर्धान बाजे ! म अग्घोरै अन्यायमा परें ।”

“के भो चैन्जोहेरी ?” चाँदीको टुटी भएको नलीबाट गुड्गुड्–गुड्गुड् तमाखु तान्दै उत्सुकता बेगरको स्वरमा पर्धान बाजेले सोधे ।

“साहु कान्छाले मेरो सर्वस्व स्वाहा पारे पर्धान् बाजे ! मेरो बिल्लीबाठै पारे ।”

“हड्बडाउने किन ? के भन्देखि चैन्जोहेरी जो भको साँचो बेहोरो भन न ।”

पर्धान बाजेका निधारमा एउटा तरङ्ग देखियो र त्यो तत्कालै बिलायो । उनका बाक्ला आँखीभौं दुइपल्ट तलमाथि¬ चले । अनि फूलमायाले आफ्नो बिल्लिबाठको रामकहानी विचलित स्वरमा पर्धान बाजेलाई सुनाई ।

साहु कान्छाको परम दयालु मूर्तिले फूलमायालाई आफ्नै घरमा साक्षात् दर्शन दिएको घडीदेखि उसको मनमा दुई थरी तर्कनाको डरलाग्दो टक्कर चल्यो । संसारमा फूलमायाको जीवन–धनको जरै उखेल्ने कुनै शत्रु थियो भने त्यो साहु कान्छै थियो । कसैमाथि उसको मनमा घीन र रिसको ज्वाला दन्केको थियो भने त्यो साहु कान्छैमाथि थियो । उसको अस्तित्व मेटिदिन कुनै तम्तयार भएको पनि साहु कान्छै थियो । उसको कमलो हृदयमा कसैले जुनीभर निको नहुने घाउ पारेको थियो भने त्यो साहु कान्छाकै जहानले थियो । विपत् पर्‍यो भन्दैमा फेरि दाह्रा ङिच्च्याउँदै त्यसैकहाँ दयाको भीख माग्न जाने त ? ठीक छ नजाने, तर प्राण धान्ने जुक्ति के त पूmलमाया ? ठीक छ जाने, तर दुच्छर साहुनी कान्छीका पाउको धूलो कसरी चाट्ने ? अनिकाल र कष्टले गल्दै गएका छोराछोरीका मरन्च्याँसे अनुहार एकातिर, खिसिट्युरी भरिएका साहुनी कान्छीका वचन अर्कातिर । जिन्दगीको माया एकातिर, आत्मसम्मानको भावना अर्कातिर । के जिन्दगी भनेको झुक्नु, पाउ पर्नु, नूर गिर्नु, पतीत हुनु र रुनुु मात्रै हो त ? के जिन्दगीमा उठ्नु, शिर ठाडो पार्नु, लड्नु, जित्नु, फुक्का हुनु र हाँस्नु भन्ने कुरै हुँदैन ?

फूलमायासँग मीठा सपना धेरै थिए, तर ती सपनाको खेती गर्ने मलिलो बारी थिएन । मर्नुभन्दा बौलाउनु निको— मानसिक द्वन्द्वको पल्लो टुङ्गोमा पुगेर निराशपूर्वक उसले गमी ।

“त्यै एउटा मुन्द्री नै छोडे पनि हुन्छ । नभको माल मागेर म अड्को पनि त थाप्तिनँ । हरे ! गुन सम्झे मैले तिम्लाई के गर्‍या छैन ?”

“क्यै जिलो त चाहिन्छ ठूली !” कोदो भरिसकेपछि कुटिल स्वरमा साहु कान्छाले भन्यो ।

“के बा ?” फूलमाया झस्किई ।

“जुग–जमाना यै हो । हुनु हुनामी क्वै जान्दैन । तिम्रै सजिलो हेरेर भन्या– क्यै जिलो नभई त हुँदैन ।”

“मसँग फुट्या कौडी भए यिनै सूर्जे भगवानले नाश गरुन् बा !”

“जिन्सी नै सही तर क्यै त चाहियो ।”

“छैन बा छैन, क्यै छैन ।”

“त्यै एउटा मुन्द्री नै छोडे पनि हुन्छ । नभको माल मागेर म अड्को पनि त थाप्तिनँ । हरे ! गुन सम्झे मैले तिम्लाई के गर्‍या छैन ?”

मुन्द्री ? फूलमाया छाँगाबाट खसी । मर्ने बेलामा आमाले दिएको मुन्द्री ! आमाको मायाको चिनो !

“मुखिया बा ! भन्या दिन तिर्न सकिनँ भने...,”

“म लामो कुरा जान्दिनँ । ल एक बात, कि हुन्छ कि हँुदैन ।”

“बा !” फूलमायाले सुस्केरा हाली ।

चतुरेले दुई पाथी कोदाको पोको बोक्यो ।

“जालमा फसाउनु भो बा !”

“भो कुरामा पाइन नहाल । भाकामा तिर्न सक्यौ भने तिम्रो माल तिम्रै कानमा, सकिनौ भने गरौंला सरसल्लाह ।”

आफ्नो प्यारो सन्तानलाई चिहानमा पुरेर फर्केकी आमा झैं फूलमाया रुँदै घर फर्किई ।

०००

भोलिपल्ट आधारातमा चोर पस्यो भनेर गुहार्दै साहु कान्छाका खलकले कोलाहल मच्चाए । वातावरणमा त्रास, शङ्का र खुल्दुली भरियो । मानिसहरु माझ साउतीको खासखास खुसखुस चल्न थाल्यो । झुट्टा फत्तुरमा परिएला भन्ने शङ्काले निर्बल र निर्धनहरु अड्कलेर बोल्न थाले । बाटो सुँघेर हिँड्न थाले ।

पर्सिपल्ट बिहानदेखि बेलुकासम्म फोहोर, दुर्गन्धमय र दरिद्रतापूर्ण स्याउले बजारमा मानिसको धुइरो लाग्यो । कान्छा साहुले पञ्चायत गुहार्‍यो । गाउँगाँवै जासुस छाड्यो । घरघरै चियो गर्ने परिबन्द मिलायो । उसले फूलमायालाई शङ्का गरेको छ भनी स्याउले बजारमा घोइरो–घोइरो कुरो चल्यो । बिस्तारै बिस्तारै गाउँभरि स्यालको हुइँया झैं त्यो लखकटाइको खबर फिँजियो । जीवनको एकनासेपन, डाह, अज्ञानता र पट्टाइलाग्दोपनबाट वाक्क भएका मानिसको निम्ति त्यो बडो रोमाञ्चकारी कुरा हुन गयो । अनि मानिसहरु आफूले सुनेका होहल्लालाई पहाड बनाएर बक्न थाले । सनसनीपूर्ण शङ्काको प्रवाहमा आँखा चिम्लेर बग्न थाले । फूलमायाका कान एकदम चनाखा भए । खोलाको कलकल आवाज, आँपका पातको सिर्सिर साउती र पत्करको सर्सर उडाइले समेत आफैंलाई पो फत्तुर लगाइरहेको हो कि भन्ठान्दै ऊ तर्सिई । उसको मुटु काम्यो । उसको एक्लो आत्मा छट्पटायो ।

फूलमायाले खुल्दुली भरिएका आँखाले कोरो लाउने बूढालाई हेरी । च्युँडामा पातला, खस्रा दाह्री र ओठमा चुस्स जुँगा भएको बूढो गुरुङ ।

चोरको कतै सुराकपत्तो नलाग्ने ठहरिएपछि निकोर्सिपल्ट कान्छा साहुले कोरो ल्यायो । कोराले दूधको दूध पानीको पानी छुट्याउँछ रे भन्ने हल्ला चल्यो । कोराको लौरोमा देउताका आँखा छन् रे ! मन्त्र फुकेपछि सत्ले बास गरेको लौरो भुइँबाट आफैं उठ्छ रे अनि थर्थरी काम्दै, चोर हिँडेको बाटो पहिल्याउँदै चोरीको धनमाल लुकाएको ठाउँमा पुगेर आफैं झ्याम्म गाडिन्छ रे । कोरो धामीझाँक्रीको गुरु हो रे । अच्चुक काम गर्छ रे कोराले । त्यो सब सुनेर फूलमायाले बल्ल ढुक्कको सास फेरी ।

“तिम्रै सरनमा छु परमेश्वरी कालिका माई !”

फूलमायाले खुल्दुली भरिएका आँखाले कोरो लाउने बूढालाई हेरी । च्युँडामा पातला, खस्रा दाह्री र ओठमा चुस्स जुँगा भएको बूढो गुरुङ । अनुहारमा कुनै विशेष लछ्छिन छैन । आँखामा कुनै दैवी चमक छैन । र जीउडालमा पनि कुनै नौलो बान्की छैन । हाड मासुको मामुली मान्छे । अहो ! यो अर्को जालझेल त होइन ? कोरो लाउने बूढाले उसलाई एक टकले हेर्‍यो । के ती आँखा कपट र चुक्लीको मुहान त होइनन् ? फूलमाया झस्किई ।

 दिउँसोपख कोरोको नाटक सुरु भयो । कैला आँखे विदेशीलाई देखेर जिल्लिँदै र आश्चर्य मान्दै उसको वरिपर झम्मिएका केटाकेटी झैं गाउँघरका तरुनीतन्नेरी, अधबैंसे र बूढाखाडाको लामे ताँती लाग्यो । निर्बल–निर्धनहरुका मुटुमा शङ्का र डरको ढ्याङ्ग्रो ठोकियो । कोराको लौरो बोक्ने ठिटो झाँक्री झैं काम्दै सरासर खोला किनारको मसानघाटमा पुग्यो । कोराको गुरु उसको ठीक पछाडि अनि अझ उसको पछाडि चोरको शिकार खेल्न हिँडेका मानिसको लामोताँती । लौरो बोक्ने ठिटो स्याउले बजारतिर फक्र्यो । फूलमायालाई त्यसले आफ्नै छाप्रो ताकेजस्तो लाग्यो । ताँतीको माझबाट छेउ लाग्दै, ताँतीलाई उछिन्दै ऊ पहिले घर पुगी । आफ्नो मुटुको रगतको बेग मुखतिर बग्न आँटेजस्तो भान पर्‍यो उसलाई ।

नभन्दै कोरो उसकै छाप्रोतिर सोझियो ।

छाप्रोको ढोकामा पुगेर लौरो बोक्ने ठिटो काम्दै टक्क अडियो । क्रोध र सरमले व्याकुल भएका आँखाले फूलमायाले उसलाई हेरी । सयौंशङ्कालु आँखा फूलमायाको चिन्तित अनुहारमा खनिए ।

“किन आइस् याँ ?” रिसले मुर्मुरिँदै उसले फट्कारी– “ल बिगो पत्ता ला, होइन भने निमोठ्छु तेरो घाँटी ।”

कोराको गुरुले अछेता मन्तर्दै लौरो बोक्ने ठिटामाथि छक्र्यो । ठिटो फक्र्यो । एक फन्को बजार घुम्यो र फेरि पहिलेकै ठाउँमा आएर काम्दै उभियो । फूलमाया हातमा खुर्पा लिएर काम्दै र दाह्रा किट्दै मुर्मुरिई ।

“सक्छस् भने बिगो पत्ता ला, होइन भने अर्काको इज्जेत दागेर उम्किन पाउँदैनस् ।”

लौरो बोक्ने ठिटाका आँखा झुके र उसको शिर अलिक दब्यो अनि कोराको चमत्कार त्यहीँ टुङ्ग्यो ।

“कोराले तँलाई दाग्यो ठूली !” सात–दश जना बूढाखाडा लिएर आएको साहु कान्छाले भन्यो– “हामीले खानतलासी गर्नुभन्दा तैले आफैं बिगो फर्काउनु बेस ।”

“के रे ? के रे ? के रे ?”

“लामो कुरा किन ? परिबन्दले तँ ठहरिइस् ।”

“परिबन्दले कि सबुत पर्माङ्गीले ?”

“जे भने पनि कुरो उही होइन र ?”

“अनाथ छु भन्दैमा नबोल मनपरी ।”

“तँमाथि परमेश्वरका दृष्टि परे ठूली !”

“म निर्धी आइमाईसँग जोरी नखोज ।”

“जगटा नलुछी गल्दिन यो चन्डाल्नी ।” तल्लो ओठको चोसो पसार्दै साहुनी कान्छी डुक्रिई– “पिडुँलामा सिस्नुपानी लाएपछि देख्छे सपना, तेरा चोर्नी ।”

“म वेश्ये भए तँ राछ्छेस्नी । जोवनको पसल थाप्ने रे ? तँ त अर्काको जिन्दगीको पसल थाप्छेस् । अर्काका खुन पसिनाको पसल थाप्छेस् । दुनियाँका आँत मारेर सम्पत्ति थुपारिस् । अझ लाउँछेस् फुर्ती !’

“के लाउँछेस् फुटानी ।” कुम हल्लाउँदै फूलमाया गर्जिई– “मेरो क्वै छैन भनेर हेप्या ?”

“जो चोर उसकै ठूलो स्वर । लाज हराकी लबस्तरी वेश्ये ।”

“म वेश्ये हुँ भने तँ फुँडी !”

“तँ वेश्ये होस्, तँ छाडा वेश्ये होस् । दोबाटाँ जोवनको पसल थापेर अर्काको जुठो चाट्ने तँ वेश्ये ।”

“म वेश्ये भए तँ राछ्छेस्नी । जोवनको पसल थाप्ने रे ? तँ त अर्काको जिन्दगीको पसल थाप्छेस् । अर्काका खुन पसिनाको पसल थाप्छेस् । दुनियाँका आँत मारेर सम्पत्ति थुपारिस् । अझ लाउँछेस् फुर्ती !’

“पख् ! तरो बास उठ्ठा गर्न सकिनछु भने मलाई साहुनी कान्छी नभन्नू ।”

“तेरा पाउमुनि बसिछु भने मलाई पनि फूलमाया नभन्नू ।”

चोरले साहु कान्छाका घरका झ्याल ढोका फोरेको कतै देखिएन । फूलमायाको छाप्रो उसको दोकान घरभन्दा त्यस्तै पच्चीस हात तलतिर भएर पनि अनिदोको शिकार भएकी फूलमायाले डाङ्डुङ् आवाज, मच्याक–मुचुक चालको अत्तोपत्तो पाइन । चोर साहु कान्छाका घरमा पसेको हो कि मनमा पसेको हो उसले यसै भन्न सकिन ।

साँचो कुरा जे होस्, फूलमायाको मुन्द्रीचाहिँ अब दमपच हुने भो ।

भोलिपल्ट वातावरणको रुपरङ्ग फेरियो । बिहान सबेरैदेखि स्याउले बजारमा मानिस जम्जमाउन थाले । एकान्त–दोकान्त, चोसो जोडाजोड, शङ्कालु साउती र अनौठो खलबलीले बजारलाई गाँज्यो । जताततै चोरी, फत्तुर, कोरो, सबुतप्रमाण र मानहानिको चर्चा चल्यो । आफ्नो अक्किल र पुरुषार्थ सम्झँदै सन्तुष्ट भएको साहु कान्छो पसल अघिल्तिरको कच्ची फलैंचामा प्रसन्न अनुहार लिएर बसेको थियो । मानिसको चालचाल बढ्दै गएको देखर किन किन उसको मनमा चिसो पस्यो ।

एकैछिनमा रिसले चुर भएका एक हुल मानिसले साहु कान्छालाई फलैंचामा घेरे । उसको मनमा अस्पष्ट भावनाको एउटा चिसो लहर दगुर्‍यो । र उसलाई अस्पट जस्तो, औडाहा जस्तो के–के अनुभव भयो ।

सवाल–जवाफमा चाँच्चाँडो रन्को चढ्दै गयो ।

“कि दसी–प्रमाणले चोर साबित गर्नुपर्‍यो साहु कान्छा ! कि यो नाजायज काम किन गरियो जवाफ दिनुपर्‍यो ।” फूलमायाको गाउँले इष्टले साहु कान्छालाई ध्वाँसको भाकामा भन्यो । 

“म... म... मलाई थाहा छैन बाबु !”

“गर घर खानतलासी । निकाल बिगो र पुर्‍याऊ प्रमाण । होइन भने होचाका मुखाँ घोच्न पाइँदैन ।”

“पर्धान्को मर्जी हो बाबु पर्धान्को ।”

“गर् घर खानतलासी, तेरा मुलुकमारा !” हुलको बीचबाट रिसको घैंटो पोखियो ।

“गाउँका पञ्च भलाद्मीको रोहबर हो बाबु !”

काँतर आँखा यताउति घुमाउँदै साहु कान्छाले लुरे स्वरमा भन्यो– “गाउँको राय यै छ ।”

“गाउँको राय रे जोइटिङ्ग्रे ?”हुलमा सनसनीको लहर फैलाउँदै आँपको फेदनिरबाट क्रोधले उन्मत्त भएको डाँको उल्र्यो– “तँ एक्लै गाउँ होस् ? यस माटाँ तेरो मात्रै बास छ ? यो पिर्थिवी तेरो एक्लौटी बिर्ता हो ? सक्छस् भने पुर्‍या प्रमाण ! होइन भने आज कि तेरो च्यापु छैन कि मेरो च्यापु छैन ।”

“ए विधाता ! म त चल्या चलन बमोजिम न चल्या छु ।”

“बोल्छस् धेरै ? आजको जुगमा कोरो उठार तँ अर्कालाई नाङ्गेझार पार्ने ? तँ अर्काको इज्जतमाथि दाइँ गर्ने ? तेरो कोरोले सत्–असत् छुट्याउँछ भने किन चाइयो पुलिस ? किन चाइयो पन्चेत् ? किन चाहियो सर्खार ?”

“पर्धानको विचार बमोजिम हिँड्या थें बाबु म । पर्धान् भन्या सर्खारकै कानुनको गोठालो होइन र ?”

“तेरो पर्धान् ! त्यै घुसको पोको होइन तेरो पर्धान् ? भन्, कति चटाइस् त्यल्लाई ?”

“म पर्धान्लाई अहिल्यै याँ उभ्याउन सक्छु विधाता हो ! मेरो बिराम छैन ।”

“बिराम रे ?” पछिल्तिरबाट एउटा बलियो हातले साहु कान्छाको टुप्पी निमोठ्यो र उसको दाइने कन्चटमा एक मुक्का बज्रियो ।

“आजको जुगमा यो रुढी उठार यो विघ्नव्याधि मच्चाउने तँ डाँका ।”

साहु कान्छाको मुन्टो भुइँमा जोतियो । र उसका टाउकामा लात्ती बज्रियो । हुलको बीचबाट मुन्टो छिराएर बल गर्दै आइपुगेको चतुरेले जोसको सुरमा साहुको सिंगानको लत्को चुहुँदै गरेको नाकमा एक मुड्की ठटायो । रिस र डरले कामिरहेकी फूलमाया छाप्राको बाहिरपट्टि फरिको अड्याउने चिलाउनेको खाँबोमा आड लागेर उभिई ।

“अब उप्रान्त यस्तो गर्नेछैन भनेर कान समात् ।”

“मरें बाबा मरें ! बिराएँ... बिराएँ !”

 परम् दयालु साहु कान्छामाथि मुड्की, लात्ती र गालीको वर्षा भयो । डरले कामेका उसका ओठ पहेंलिए । उसका आँखा पानी मरेजस्ता भए । विष खाएर खुट्टा फट्याक–फट्याक गर्दै रन्थनिएका झिँगाले झैं एकतमासले उसले हातखुट्टा चलायो । स्याउले बजारमा पहिले कहिल्यै नदेखिएको हाहाकार उठ्यो । अनि त्यो नाटक पनि त्यहीँ टुङ्गियो ।

सोही दिन बेलुका नाटकको अन्तिम दृश्यको पर्दा खुल्यो ।

घमासान लडाइँ थामिएपछिको बस्तीमा झैं स्याउले बजारमा सन्नाटा छाएको थियो । बाह्रमासे जुवाडेहरुको खाल आज जमेन । मादलको एकनासे ताल र तन्नेरी–तरुनीका विरहपूर्ण र उत्ताउला गीतको रन्को आज सुनिएन । फोहोरी गालीगलौजको पर्रा आज छुटेन । राँडो मगर कान्छाको विरहलाग्दो मुरलीको मधुर धुन आज बजेन । खोलाका दहहरुमा आज जलाहारी दाजुका लाइट बलेनन् । आज स्याउले बजार बरखी बारेको घर जस्तै भयो । एकदमै चकमन्न र उदास ।

अन्धकार रातको पट्टाइलाग्दो सन्नाटालाई खल्बल्याउँदै साहु कान्छाका घरतिरबाट कल्याङ–कुलुङ आवाज आयो । उसको घरबाहिर मल्याक्–मिलिक लाइट बल्यो र त्यो उज्यालो फूलमायाको छाप्रोतिर झर्‍यो ।

“निक्ली हाल् !” साहुको जेठो छोरो चक्रेको मात्तिएको डाको सुनियो– “अहिल्यै निक्लिहाल् । हाम्रा घर अगाडि तँलाई बास छैन ।”

यताउताबाट फाटफुट मान्छे आउन थाले ।

“तेरो छाप्रो म अहिल्यै सल्काइदिन्छु वेश्ये ! किन बोल्दिनस् ?”

के हुन लागेको हो भनेर डराएकी फूलमायाले उसलाई क्वाक्र्वार्ती हेरी ।

“गाउँ उठाएर अर्काको हुर्मत लिने तँ भाँड । सुनिस् ! तैंले आजै राति, अहिल्यै स्याउली बजार छोड्नुपर्छ । अर्काका करेसाँ बसेर पात्तिएकी भतुवी ।”

“मुख समालेर बोल साहु ! कसैले कसैको भात त्यस्सै खाछैन ।”

“फत्फताउँछेस् भतुई ? गाउँभरिका नाठा उरालेर पर्लय मच्चाउने तँ छुसी ।”

“जगल्ट्या त्यल्लाई ।” माथि पिँढीको डिलबाट साहुनीले हुकुम जारी गरी– “लाइदे आगो । भुत्ल्या त्यल्लाई ।”

“हुती भए तैं आइज ।” फूलमाया जङ्गिई– “आइज ! तागत भए आफैं आइज ।”

आमाको हुकुम सुनेर सन्किएको चक्रेले छाप्राको मूल खाँबो हल्लायो । उखेल्न नसकेपछि फरिकोमा लात्ती बजार्‍यो । अनि फरिको च्यातेर धुजा–धुजा पार्‍यो । उसको रिसको रन्को झन्–झन् उल्र्योे अनि उसका नसा–नसामा अन्धो आवेग उर्लियो । फरिकोको भाँटो उजाएर उसले नजिकको माटाको गाग्रो फुटायो । भुइँभरि पानीको दह जम्यो । उसले लात्ती उजाउँदा छेउको डोको पल्ट्यो अनि उसका खुट्टाले थिचिएको कुखुराको चल्लो ठहरै मर्‍यो । लामो टाँगोले घोचेर छाप्राको स्याउले छानो उसले धुजा–धुजा पार्‍यो अनि हान्निदै गएर मुक्काले डस्दा चुल्हालाई बाहिरी कोठासँग छुट्याउने बार लिउनसहित डङरङ्ग लड्यो ।

“गुहार ! गुहार !” फूलमाया चिच्याई ।

हुरीको बेग झैं हान्निदै खोलातिरबाट आएको चतुरेले चक्रेको पिँडुलो बाउँडिने गरी चिर्पटको झटारो हान्यो । मगर कान्छो अस्पष्ट स्वरमा बुद्बुदाउँदै दगुर्दै आयो । र चक्रेलाई समातेर घिस्याउँदै मास्तिर लग्यो ।

डरले थुर्कु भएर आमाको कम्मरमा टाँसिएकी नेप्टीलाई फूलमायाले छातीमा टाँसी । खोर्सानीको राग जस्तो वायु उसको छातीभरि मडारियो र रिङ्टा लागेको जीउ थाम्न नसकेर ऊ बुङ्लुङ्ग लडी ।

“भोलिका सूर्जेभरिमा तेरो बास उठ्ठा गर्न सकिनँ भने मलाई सर्किनी नभन्नू ।” माथिबाट साहुनीले धाक लडाई ।

“तेरो हुर्मत नलिई याँबाट हिँडे त गाइने ।” तलबाट चतुरेले मुखभरिको जवाफ सोझ्यायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप