सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

हत्याको आरोपमा ३ अभियुक्त पक्राउ

आइतबार, २७ वैशाख २०८३, २० : ३९
आइतबार, २७ वैशाख २०८३

मकवानपुर । हत्या आरोपमा ३ जना अभियुक्त पक्राउ परेका छन् । घटनाको १५ वर्षपछि हत्या आरोपमा ३ जनालाई प्रहरीले मकवानपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

बकैया गाउँपालिका–४ का १८ वर्षीय विकास देउजाको हत्या आरोपमा आइतबार उनीहरूलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको हो । मकवानपुरस्थित इलाका प्रहरी कार्यालय ठिंगन र जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडाका ३० वर्षीय अष्ट लामा र ५५ वर्षीय बद्री कठायत र भीमफेदी गाउँपालिका—८ का ६५ वर्षीय केदार नगरकोटी रहेका छन् । उनीहरुले २०६८ पुस ८ मा बकैया गाउँपालिका–४ का १८ वर्षीय विकास देउजाको हत्या गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुराना र थाँती रहेका मुद्दाहरुको अनुसन्धानलाई पुनः तीव्रता दिने क्रममा अभियुक्तहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक राजु कुर्मीले बताए ।

उनका अनुसार आपसी विवादका कारण घटेको उक्त घटना फाइल सुरुमा सरकारी वकिल हुँदै अदालतसम्म पुगेको थियो। तर, पोस्टमार्टम र घाउचोटको रिपोर्टका आधारमा अदालतले थप अनुसन्धान आवश्यक देखिएको भन्दै फाइल प्रहरीमा फिर्ता पठाएको उनले बताए । सोही बमोजिम प्रहरीको अनुसन्धान रहेको उक्त फाइललाई सूक्ष्म रूपमा अध्ययन गरेर अघि बढाएको उनले बताए ।

प्रहरी निरीक्षक कुर्मीले प्रहरीले पुराना फाइलहरूलाई थन्क्याएर मात्र नराखी, तिनको सफल अनुसन्धान गरी नतिजा निकाल्न सक्रियता देखाएको बताए। पक्राउ परेका व्यक्तिहरूको बयान लिने र थप कानुनी प्रक्रिया अगाडि बढाउने कार्य भइरहेको उनको भनाइ छ । उक्त विषयमा थप विवरण खुल्न अध्ययनको क्रममा रहेको उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप