ललितपुरमा चीन–नेपाल तरकारी तालिम केन्द्र स्थापना
ललितपुर । ललितपुरमा चीन चोङकिङ–नेपाल तरकारी तालिम केन्द्रको शुभारम्भ गरिएको छ। ललितपुर महानगरपालिका वडा नं. २१ खोकनामा आइतबार आयोजित एक विशेष समारोहका बिच केन्द्रको शिलान्यास गरिएको हो।
चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी) नेपाल कार्यालयको पहलमा केन्द्रसँगै २०२६ तरकारी प्राविधिक तालिम कार्यक्रम पनि सुरु गरिएको छ।
यो कार्यक्रम चीन–दक्षिण एसियाली मुलुक गरिबी निवारण तथा सहकारी विकास केन्द्रअन्तर्गतको भाइब्रेन्ट भिलेज पहलमा आधारित छ। यस परियोजनाको मुख्य उद्देश्य हरितगृह (ग्रीनहाउस) आविष्कार, जलवायु–अनुकूल कृषि र दिगो खेती प्रणालीमार्फत नेपालको तरकारी क्षेत्रलाई आधुनिकीकरण गर्नु रहेको छ। यसले खोकनालाई ग्रामीण पुनर्जागरणको एक जीवित नमुनाको रूपमा स्थापित गर्ने लक्ष्य राखेको सीएफआरडीले जनाएको छ।
समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री मधुसुदन पौडेलले कृषि मानवीय सभ्यताको केन्द्र र देशको आर्थिक विकासको बलियो आधार भएको बताए। यो आयोजनाले नेपालको तरकारी क्षेत्रलाई सुदृढ बनाउने र किसानको जीविकोपार्जनमा सुधार ल्याउने उनले विश्वास व्यक्त गरे। मन्त्री पौडेलले भने, ‘तालिम केन्द्रले किसानको प्राविधिक ज्ञान बढाउन, उत्पादकत्व वृद्धि गर्न र रोजगारीका अवसर सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। नेपालले चीनको आधुनिक कृषि अभ्यासबाट धेरै कुरा सिक्न सक्छ।’
सीएफआरडी नेपालकी कन्ट्री डाइरेक्टर जोउ झिकियाङले दिगो कृषि विकास, प्रविधि हस्तान्तरण र ग्रामीण पुनरुत्थानका लागि नेपाल–चीन सहयोगको महत्वमा जोड दिइन्। आधुनिक कृषि प्रविधि र उन्नत खेती प्रणाली अपनाएर किसानको क्षमता अभिवृद्धि गरिने उनले बताइन्। यो आयोजना ललितपुरको खोकना र दक्षिणकालीको हुडुलगायतका क्षेत्रमा कार्यान्वयन भइरहेको छ, जहाँ तरकारीको उत्पादकत्व वृद्धि, पानीको कुशल प्रयोग, एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम) र सन्तुलित मलखाद प्रयोगमा ध्यान दिइनेछ।
कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले यस्ता पहलले चीनबाट नेपालमा प्रविधि र सीप हस्तान्तरण गर्न मद्दत पुग्ने बताए। त्यस्तै, ललितपुर–२१ का वडा अध्यक्ष रवीन्द्र महर्जनले जलवायु–अनुकूल कृषि अभ्यासले खोकनाका स्थानीय किसानलाई ठुलो लाभ पुग्ने आशा व्यक्त गरे। समारोहमा नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधि, चोङकिङका चिनियाँ विज्ञ तथा प्राध्यापक र स्थानीय किसानहरूको उपस्थिति थियो।
पछिल्लो समय सीएफआरडीले नेपालभर आफ्नो उपस्थिति विस्तार गर्दै चितवनमा हाइब्रिड धान प्रदर्शन फार्म, झापामा मत्स्यपालन र पशुपालन प्रविधि जस्ता परियोजनाहरू सञ्चालन गरिरहेको छ। सन् २०१५ देखि नेपालमा कार्यरत यो चिनियाँ गैरसरकारी संस्थाले चिनियाँ विज्ञहरूमार्फत नेपाली किसानलाई प्रत्यक्ष रूपमा खेतबारीमै पुगेर तालिम र परामर्श प्रदान गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण