वित्तीय प्रणालीमा अधिक तरलता : नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप खिच्दै
सारांश
- नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज ४० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ।
- बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढेर ७७ खर्ब रुपैयाँभन्दा बढी पुगेपछि केन्द्रीय बैंकले ४२ दिनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको हो।
- बजारमा तरलताको चाप बढ्दै जाँदा ब्याजदरमा आउन सक्ने उतारचढावलाई नियन्त्रण गर्न बैंकले यो कदम चालेको हो।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि आज बुधवार ४० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ।
बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपको मात्रा निरन्तर बढेर साढे ७७ खर्ब रुपैयाँभन्दा बढी पुगेपछि केन्द्रीय बैंकले ४२ दिनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको हो।
बजारमा तरलताको चाप बढ्दै जाँदा ब्याजदरमा आउन सक्ने उतारचढावलाई नियन्त्रण गर्न बैंकले यो कदम चालेको हो। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि नियमित रूपमा निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ।
आज हुने बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। अनलाइन खरिद प्रणालीमार्फत हुने यस बोलकबोलमा ब्याजदरको निर्धारण पनि बोलकबोलकै माध्यमबाट हुनेछ। बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ।
दीर्घकालीन निक्षेप सङ्कलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेको ब्याजदरका आधारमा सबैभन्दा कम दर बोल गर्नेलाई प्राथमिकतामा राखेर आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ। आज सङ्कलन गरिने यस निक्षेपको सावाँ तथा ब्याज भुक्तानी २०८३ असार १० गते हुनेछ।
केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापनका लागि संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको निक्षेप सङ्कलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। यही व्यवस्थालाई कार्यान्वयन गर्दै केन्द्रीय बैंकले पछिल्लो समय पटक-पटक निक्षेप सङ्कलन उपकरणको प्रयोग गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
-
इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
-
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
-
सामाजिक सञ्जालमा सुनचाँदी र नगदको ‘रिल्स’ बनाउनु पर्यो महँगो, चोरले घरमै पुगेर लुटे लाखौँको सम्पत्ति
-
चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
-
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण