शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

'विपक्षी दलमा पराजयको छट्पटी देखियो, अनुशासनको पाठ पढाउनुपर्छ'

बुधबार, ३० वैशाख २०८३, २० : ४०
बुधबार, ३० वैशाख २०८३

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नीति तथा कार्यक्रममाथिको जवाफदेहिता अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सुम्पी संसदमा अनुपस्थित भएपछि बुधबार संसदमा गतिरोध उत्पन्न भएको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले प्रतिपक्षी दलको भूमिकाको आलोचना गर्दै यसलाई निन्दनीय, असंसदीय र अमर्यादित भनेका छन्।
  • सांसद सिंहले प्रतिपक्षी दल एजेन्डाविहीन रहेको र चुनावमा पराजित भएको छटपटीमा अनुशासनको पाठ सिक्नुपर्ने बताएका छन्।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा जवाफ दिनुपर्नेमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएर अनुपस्थित भएपछि बुधबार संसद्मा चर्को गतिरोध उत्पन्न भयो ।

प्रधानमन्त्रीको यस कदमलाई लिएर सत्तापक्ष र प्रतिपक्षी सांसदबिच मतान्तर बढेको छ भने प्रमुख प्रतिपक्षी दलले संसदको कामकारबाही अगाडि बढ्न दिएका छैनन् । 

यसै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले प्रतिपक्षी दलको भूमिकाको कडा आलोचना गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा व्यक्त गर्दै सिंहले संसद्मा भएको घटनालाई 'निन्दनीय, असंसदीय र अमर्यादित' भनी टिप्पणी गरेका छन् । 

सांसद सिंहले प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि जवाफ दिन आफ्नो प्रतिनिधि तोक्नु स्वाभाविक भएको र त्यसमा आपत्ति जनाउनुपर्ने कुनै कारण नरहेको बताएका छन् । उनले प्रतिपक्षले नियमावली नै मान्न नखोजेको र संसदलाई 'बन्धक' बनाउन खोजेको आरोप लगाए । सिंहका अनुसार, प्रतिपक्षी दलका माननीय सांसदहरूलाई संसदीय अभ्यास र नियमावलीबारे सिकाउनुपर्ने आवश्यकता देखिएको छ । 

सिंहले प्रतिपक्षी दल 'एजेन्डाविहीन' रहेको र 'चुनावमा भएको पराजयको छट्पटी' उनीहरूमा देखिएको टिप्पणी गरे । उनले दलका नेताहरूलाई आफ्ना सांसदहरूलाई 'अनुशासनको पाठ' पढाउनुपर्नेमा जोड दिँदै यसको परिणाम आगामी निर्वाचनमा पक्कै देखिने चेतावनीसमेत दिएका छन् । 

प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति बुधबार संसदमा जवाफ दिनुपर्ने थियो । तर, उनले उक्त जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिएर संसद्मा अनुपस्थित भएपछि अहिले उनको आलोचना भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप