शुक्लाफाँटामा ‘ग्रीन एण्ड क्लीन’ अभियान सुरु
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकालाई स्वच्छ, सुन्दर, हराभरा तथा वातावरणमैत्री नगरका रूपमा विकास गर्ने उद्देश्यले शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घले ‘ग्रीन एण्ड क्लीन शुक्लाफाँटा’ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत वातावरण संरक्षण, सरसफाइ प्रवद्र्धन तथा प्लास्टिकजन्य फोहर न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमसँगै बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको हो ।
नगरप्रमुख रणबहादुर महराले एक समारोहबिच अभियानको उद्घाटन गर्दै उद्योग वाणिज्य सङ्घको पहलमा नगरपालिकाको पूर्ण ऐक्यबद्धता रहेको बताए । उनले स्वच्छ र वातावरणमैत्री नगर निर्माणका लागि स्थानीय सरकार आवश्यक सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।
अभियानको पहिलो चरणअन्तर्गत आज झलारी बजार क्षेत्रमा जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकाय, विभिन्न सङ्घसंस्था, व्यवसायी, विद्यार्थी तथा स्थानीयवासीको सहभागितामा बृहत् सरसफाइ कार्यक्रम सञ्चालन गरिएको छ। बजार क्षेत्रका सडक, सार्वजनिकस्थल तथा खुला स्थानमा छरिएका प्लास्टिकजन्य फोहर सङ्कलन गरी उचित व्यवस्थापनका लागि नगरपालिकासँग समन्वय गरिएको छ ।
शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेशबहादुर धामीले वातावरण संरक्षण अहिलेको आवश्यकता मात्र नभई भविष्यप्रतिको दायित्वसमेत भएको बताए । उनले नगरलाई सफा र हराभरा बनाउने अभियानलाई एकदिने कार्यक्रममा सीमित नराखी दीर्घकालीन जनअभियानका रूपमा अघि बढाइएको जानकारी दिए।
उनले नगरका विभिन्न स्थानमा फोहर सङ्कलनका लागि वातावरणमैत्री बाँसबाट निर्मित डोको राख्ने कार्यसमेत सुरु गरिएको बताउँदै अभियानलाई झलारी बजारमा मात्र सीमित नराखी कलुवापुर, वन समिति क्षेत्र तथा ग्रामीण बजारसम्म विस्तार गरिने जानकारी दिए । सबै वडामा प्लास्टिकजन्य फोहर न्यूनीकरण, सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
“ग्रीन एण्ड क्लीन शुक्लाफाँटा अभियानमार्फत प्लास्टिकजन्य फोहर न्यूनीकरण गर्दै सफा, व्यवस्थित र आकर्षक नगर निर्माणको सुरुवात गरेका छौँ,” अध्यक्ष धामीले भने ।
उनका अनुसार प्लास्टिकजन्य फोहरले वातावरणीय प्रदूषण बढाउनुका साथै बजारको सौन्दर्य बिगार्ने, कृषि उत्पादनमा असर पार्ने, ढल तथा नाली अवरुद्ध गराउने, जलाधार क्षेत्र प्रदूषित बनाउने र पशुपंक्षीको स्वास्थ्यमा समेत गम्भीर असर पार्ने भएकाले यसको प्रयोग न्यूनीकरण र उचित व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक छ ।
उनले अभियानको अर्को महत्वपूर्ण पक्ष घरघरमै फोहर वर्गीकरण गर्ने बानीको विकास गर्नु रहेको बताए । त्यसका लागि कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै सङ्कलन गर्ने, पुनःप्रयोग गर्न सकिने सामग्रीको व्यवस्थापन गर्ने तथा प्लास्टिकको प्रयोग घटाउने उपायबारे नगरपालिकासँगको समन्वयमा सर्वसाधारणलाई जानकारी गराइनेछ ।
होटल व्यवसायी सङ्घ कञ्चनपुरका सदस्य रमेश रावलले प्रत्येक घरबाट फोहर छुट्याएर व्यवस्थापन गर्ने संस्कारको विकास गर्न सके नगरको सरसफाइमा ठूलो परिवर्तन आउने बताए । उनले सङ्कलित फोहर नियमित रूपमा उठाउने र वैज्ञानिक व्यवस्थापनको व्यवस्था मिलाउन आवश्यक रहेको उल्लेख गरे ।
अभियानका अगुवा विवेक रावलले वातावरण संरक्षण सरकार वा कुनै एक संस्थाको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताउँदै सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।
अभियानमा सहभागी विमल शाहले एकपटक प्रयोग हुने प्लास्टिकका झोला, बोतल र प्याकेट दशकौँसम्म नष्ट नहुने भएकाले माटो, पानी र हावामा दीर्घकालीन असर पर्ने तथा नदी–नालामार्फत समुद्रसम्म पुगेर जलचर जीवमा समेत गम्भीर प्रभाव पार्ने अध्ययनले देखाएको बताए । उनले प्लास्टिक जलाउँदा विषालु ग्यास उत्सर्जन हुने भएकाले यसको प्रयोग घटाउने, पुनःप्रयोगयोग्य सामग्री अपनाउने र उचित व्यवस्थापन गर्ने कार्य अहिलेको आवश्यकता भएको उल्लेख गरे ।
अभियानमा सहभागी जनप्रतिनिधिहरूले नगरलाई प्लास्टिकमुक्त बनाउने अभियानमा सबै नागरिकको साथ आवश्यक रहेको बताएका छन् । विद्यालय, सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान तथा सामुदायिक संस्थालाई अभियानमा जोड्दै वातावरण संरक्षणलाई सामाजिक अभियानका रूपमा विकास गरिने जनाइएको छ ।
सङ्घले आगामी दिनमा नियमित सरसफाइ कार्यक्रम, वृक्षरोपण, प्लास्टिकको प्रयोग न्यूनीकरणसम्बन्धी जनचेतनामूलक अभियान, विद्यालयस्तरीय सचेतना कार्यक्रम तथा व्यवसायीलाई वातावरणमैत्री विकल्प प्रयोग गर्न प्रेरित गर्ने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
अभियानलाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्दै स्वच्छ वातावरण, व्यवस्थित बजार र हराभरा नगर निर्माणका लागि नागरिक, स्थानीय सरकार, निजी क्षेत्र तथा सामाजिक सङ्घ संस्थाबिचको सहकार्यलाई अझ प्रभावकारी बनाइने सङ्घले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘परीक्षाको नतिजा समयमै प्रकाशन गर्नु मेरो पहिलो प्राथमिकता हो’
-
देवदहमा बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते
-
१३ वर्षीया बालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ
-
सरकार गठनको सय दिन पूराः केके भए उपलब्धि ? (हेर्नुहोस् पूर्णपाठ)
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण