पपुलिजमको आडमा सरकार अधिनायकवादतर्फ उन्मुख भयो : पोखरेल
ललितपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार सय दिनमै पूर्ण रूपमा असफल भएको दाबी गरेका छन्। शनिबार ललितपुरमा आयोजित ‘मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ गर्दै उनले पपुलिजम (लोकप्रियतावाद) को आडमा सरकार स्वेच्छाचारी र अधिनायकवादी शासनतर्फ उन्मुख भएको आरोप लगाएका हुन् ।
साथै, उनले पार्टीभित्रको आन्तरिक कलह र विभाजनका कारण एमालेबाट नयाँ पुस्तासहितका मतदाता टाढिएको र त्यसैको जगमा पपुलिजम जन्मिएको स्वीकार गरे । २०८२ सालको आम निर्वाचनपछि बनेको सरकारले आफ्नो सय दिने कार्यकालमा सय बुँदे प्रतिबद्धता पूरा गर्न नसकेको पोखरेलको भनाइ छ।
सामाजिक सञ्जाल र एल्गोरिदमको सहारामा पाएको जनसमर्थन क्षणिक हुने भन्दै उनले पपुलिजमले देशका चुनौती समाधान गर्न नसक्ने बताए। ‘आज सरकारका काम, कारबाही र गतिविधिहरू तथा विशेष गरी सरकारले सार्वजनिक गरेको सय बुँदे प्रतिबद्धतालाई आधार मानेर विश्लेषण गर्ने हो भने, सरकार आफ्ना प्रतिबद्धताहरू पूरा गर्न पूर्णतः असफल भएको छ,’ उनले भने, ‘मुलुक विधिको शासनबाट विचलित भएको छ र यतिबेला संविधान तथा लोकतन्त्रको भविष्यमाथि नै प्रश्नचिह्न खडा भएको छ।’
कार्यक्रममा महासचिव पोखरेलले नेकपा गठनका समयमा जनतामा जगाइएको आकाङ्क्षा पूरा हुन नसक्नु, पार्टीभित्रको तीव्र अन्तरसंघर्ष, नेकपाको विघटन र एमालेको विभाजनले सिर्जना गरेको निराशा नै वर्तमान पपुलिजम उदयको मुख्य कारण भएको औँल्याए। पार्टी विभाजनका क्रममा एकले अर्कालाई लगाएका आरोप–प्रत्यारोपले जनतामा नकारात्मक सन्देश गएको उनको विश्लेषण थियो।
पोखरेलले नयाँ पुस्ता मात्र नभई सामाजिक सुरक्षासँग जोडिएको पुरानो पुस्ता, आधारभूत तहका सुकुमबासी, मजदुर र लामो समय साथ दिएका प्रवासी नेपाली पनि एमालेबाट टाढिएको यथार्थ स्वीकार गरे। विशेषगरी भदौ २३ र २४ गतेका घटनालाई चित्रण गरिएको तरिकाले महिलाहरूको मानवीय संवेदनशीलतालाई उद्वेलित बनाएको र सधैँ साथ दिने आमा तथा दिदीबहिनीहरू पनि पार्टीबाट टाढिएको उनले बताए।
‘नयाँ पुस्ता पनि हामीबाट टाढिएको कुरा सत्य नै हो। सामाजिक सुरक्षासँग जोडिएको पुरानो पुस्ता पनि यस पटकको निर्वाचनमा हामीसँग रहेन,’ उनले भने, ‘यतिसम्म कि २३ गतेको घटनाका कारण आम रूपमा दिदीबहिनी र आमाहरू पनि हाम्रा साथमा रहेनन्।’
पपुलिजमको भ्रम चिर्न, संविधानको रक्षा गर्न र गुमेको जनविश्वास फर्काएर पार्टीलाई पुनः जनस्तरमा स्थापित गर्न एमालेले गाउँ गाउँमा जागरण अभियान सुरु गरेको पोखरेलले प्रस्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘परीक्षाको नतिजा समयमै प्रकाशन गर्नु मेरो पहिलो प्राथमिकता हो’
-
देवदहमा बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते
-
१३ वर्षीया बालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ
-
सरकार गठनको सय दिन पूराः केके भए उपलब्धि ? (हेर्नुहोस् पूर्णपाठ)
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण