शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नियात्रा

सगरमाथामा पाइला टेक्दा...

शनिबार, २० असार २०८३, १७ : ३०
शनिबार, २० असार २०८३

सगरमाथा आधार शिविर पुग्नुभन्दा ठीक अगाडिको एउटा समथर ठाउँ । पृष्ठभूमिमा खुम्बुको डरलाग्दो तर मनमोहक दृश्य ! तीनजना विदेशी अनुभवी पदयात्रीहरू एलेक्स (अमेरिका), भावुक स्वभावकी सोफी (फ्रान्स) र शान्त सरल स्वभावकी हिदेकी (जापान) केही बेर विश्रामका लागि रोकिएका छन् । तिनका भरिया पनि केही हलुका भारीसँगै छन् । र, गााइड आफूले जानेको कुरा धाराप्रवाह बताइरहेका छन् । 

उनीहरूका अनुहारमा हिँडाइको थकाइभन्दा पनि गन्तव्य भेट्टाउन लागेको असीम सन्तुष्टि झल्किएको देखिन्छ । म उनीहरूकै छेउमा रहस्यको क्यानभासमा पोतिएको रङ हेर्दै तिनैका गफको साक्षी बनेर हिँडिरहेको छु ।

एलेक्स (लामो सास फेर्दै)– (आँखा चिम्लेर) वाह ! सोफी, हिदेकी... के तपाईँँले पनि त्यो महसुस गर्नुभयो ? यो हावामा केही फरक छ । यो शिरको सौन्दर्य र शोभाको नजिक आइपुग्दा, हामी साँच्चै ‘रहस्यको क्यानभास’ भित्र छौँ जस्तो लाग्छ ।

सोफी (आफ्नो क्यामेराको लेन्स पुछ्दै)– बिल्कुल एलेक्स ! हाम्रो यात्रा, हाम्रो प्रत्येक पाइला, एउटा क्यानभासमा नयाँ रङ भर्ने काम जस्तै हो । मलाई राति सुत्न पनि गाह्रो भयो... तर त्यो बेचैनी होइन, आनन्द र हर्षको मीठो छटपटी थियो । यहाँ हेर्नुहोस् त, ती हिउँका टाकुराहरूले कस्तो शान्त, मन्द मुस्कान दिइरहेका छन् ! यो त जीवनमा इच्छाहरू पूरा भएको एउटा साक्षात् क्षण हो ।

हिदेकी (हातमा रहेको डायरीमा केही लेख्दै शान्त स्वरमा)– जापानमा हामी यस्ता दृश्यलाई ‘कामी’ (देवत्व) भन्छौँ । यो हिमाल होइन, यो कौतुकमय गन्तव्यको खोजीको अन्तिम प्राप्ति हो । यसको स्वरूप र संरचनामा एउटा अलौकिक शक्ति छ । यात्राका खुशी र सन्तुष्टि समग्र रूपमा यहीँ भेटिन्छन् ।

एलेक्स (हिउँले ढाकेका चुचुराहरूतिर औँल्याउँदै)– ठिक भन्यौ हिदेकी । यति उचाइमा आइपुग्दा, मलाई महसुस भइरहेको छ– मेरो आँखाको प्यास बुझ्यो र मनको चाहना पूरा भयो । हामीले भर्खरै कालापत्थरबाट फर्केका एकजना नेपाली पदयात्रीलाई भेट्यौँ, उनले पनि भनेका थिए– पागल हुनुको क्षण ! यो चिसोमा पनि एक किसिमको न्यानोपनको आभास हुनु, यो नै त्यो ठाउँको मोहनी हो ।

सोफी (भावुक हुँदै)– मलाई लाग्छ, हामी सबै यहाँ आएर कवि बन्न पुग्छौँ । शब्दहरूले पुग्दैनन् । वास्तवमा यो हेराइ र देखाइको पराकाष्ठा हो ! जुन उज्यालोको ज्योतिले प्रदीप्त भएको जीवनको कुरा उहाँले गर्नुभएको थियो, त्यो मैले महसुस गरिरहेकी छु । मेरो मनको मझेरीमा खुशीका उज्याला रङले लिपपोत गरिएको छ !

IMG_20231102_094046

हिदेकी (डायरी बन्द गरी हल्का मुस्कुराउँदै)– पेम्बा दाइले भनेका थिए रे– मान्छेको सोचाइ नै बद्लिँदोरहेछ । यो ठाउँले हामीलाई यस्तो बनाउँछ कि हामी भोक बिर्सिन्छौँ, तर हेर्नुको भोक भने झन् जागिरहन्छ । यस्ता हिमाली लस्करका लस्करले हामीलाई मोहनी लगाएका छन् ।

एलेक्स (उत्साहित हुँदै)– लौ अब उठौँ साथीहरू । हामी अन्तिम बिसौनी थलोमा पुग्नै लागेका छौँ । पेम्बा दाइले भनेको कुरा याद गर्नुहोस्– ‘हाम्रो यो ठाउँ शिरको शोभा मात्र होइन, सबैको सौन्दर्य पनि हो ।’ यो पदयात्राले हामीलाई जुन पृथक पक्ष र पाटो देखायो, त्यो संसारलाई बताउनुपर्छ । अब हामी अगाडि बढ्छौँ र यो प्राकृतिक सौन्दर्यको चुली चुचुरोलाई स्पर्श गर्छौ ।

सोफी– हो ! अगाडि बढौँ । यो यात्राको सास्ती, थकान र पीडा सबै मेटिएको छ । बाँकी छ त पदयात्राको हर्ष !

तीनजना पदयात्रीहरूले एकअर्कालाई हेरेर हाँस्दै आफ्नो झोला मिलाएर फेरि अगाडिको बाटोतिर लम्किन थाल्छन् । उनीहरूको अनुहारमा कौतुहल मेटाउन पाएको हर्ष झल्किएके म स्पष्ट देख्छु ।

केहीबेरको हिँडाइपछि तिनीहरूका गाइड प्रदीप बाटो छेउमा बिश्राम गरिरहेका रहेछन् । त्यहाँ स्थानीय भरिया तेन्जिङ, स्थानीय होटल व्यवसायी माया आमा पनि छिन् । यो सिजनमा खासै पर्यटकहरू नआएको दुखेसो उनीहरू साटिरहेका छन् । कोरोनाको कष्टकर अवस्थापछि पर्यटनक्षेत्र पनि सुस्ताएको र अझै उठ्न नसकेको गफ उनीहरूले गरिरहेका छन् ।

आफ्ना गेष्टहरू आएको देखेपछि गाइडले सबैलाई त्यही सानो होटलतिर बोलाए । तेन्जिङ र प्रदीप घामको न्यानो तापिरहेका थिए । केही चाउचाउ, बिस्कुट, चक्लेट, पानी र ठूलो थर्मसमा तातो चिया राखेर माया आमा सानोतिनो व्यापारमा व्यस्त थिइन् ।

माया– (नचिने पनि चिनेकै जस्तो गरी आत्मीय बोली र व्यवहारमा) नमस्ते ! थकाइ लाग्यो होला । तातो–तातो नेपाली चिया पिउनुहोस्, सबै सञ्चो हुन्छ । एकछिन थकाइ मार्नुस् । धेरै धपेडीमा हिँड्नु हुँदैन । तपाईँँहरूको आजको यात्रा कस्तो रह्यो ?

सोफी– धन्यवाद, आमा ! आजको बाटो कठिन भए पनि मैले यस्तो अपूर्व सौन्दर्य देखेँ कि सबै थकान बिर्सिएँ । मेरा लागि यो यात्रा एउटा कौतुकमय गन्तव्यको खोजी हो । ओरालो झरेर उकालो चढ्दाको त्यो दृश्यका क्षितिजहरू साँच्चै रहस्यका क्यानभास रहेछन् !

हिदेकी– (गाइडतिर औँल्याउँदै) प्रदीपजी मैले सुनिरहेकी थिएँ । तपाईँँले धेरै कुरा बताइसक्नुभयो । तर हामी खुशी हुँदा र दुःखी हुँदा तपाईँँहरू (गाइड, भरिया) कस्तो अनुभव गर्नुहुन्छ ? मलाई जान्ने इच्छा जाग्यो ।

प्रदीप– (मुस्कुराउँदै) तपाईँँका आँखामा खुशी देख्दा हामीलाई पनि आनन्द आउछ । तपाईँँहरू हाम्रा पाहुना मात्र होइन भगवान पनि हो । त्यसैले तपाईँँहरूको खुशी नै हाम्रो सन्तुष्टि हो । जसरी बिहान र बेलुकाको घामले हिमालका चुचुराहरूलाई सुनले जलप लगाइदिँदा, लाग्छ, प्रकृतिले नै कौतुहलमय छविमा अनावरण गरिरहेकी छ । हिमाललाई, प्रकृतिलाई श्रृङ्गार गरी खुशी पारिरेको हुन्छ । हामी पनि तपाईँँहरूका हरेक यात्रा, हरेक दृश्य, हरेक पल रमाइलो रहोस् भनेर सचेत रहन्छौँ ।

हिदेकी, एलेक्स र सोफीले एकअर्कालाई हेरे र आफ्ना गाइडलाई मायाले धाप दिँदै एकै स्वरमा भने– धन्यवाद ! तपाईँँको कुरा सही हो । हामी पनि तपाईँँले दिएको जानकारीले धन्य हुन्छौँ । खुशी हुँदै यात्रा सुखद रहेको ठान्छौँ ।

तेन्जिङ– (आफ्नो भारीलाई हेर्दै) हो त नि ! हाम्रो जीवन पनि यहाँको घाम जस्तै छ– छर्लङ्ग, पारदर्शी । हामी भरियाहरूलाई हरेक पाइलामा गाह्रो हुन्छ, तर जब पर्यटकहरूले शिरको सौन्दर्य र शोभा अर्थात् सगरमाथालाई नजिकबाट हेरेर आँखाको प्यास बुझाएको देख्छौँ नि, हाम्रो हिँडाइपछिको हर्ष त्यही हो ।

माया– (चियाको दोस्रो कप दिँदै) ठ्याक्कै भन्नुभयो, तेन्जिङ ! यहाँ आउने हरेक मान्छे जीवनलाई घाम जस्तै उज्यालो बनाउन आएका हुन्छन् । चिसो बरफ बन्दा पनि न्यानोपनको आभास किन हुन्छ ? किनभने यो ‘कला’ हो, ‘प्रकृति’ हो ! यहाँ भत्के–बिग्रेको, कुरूप–विरूपमा पनि सौन्दर्य खुलेको हुन्छ ।

हिदेकी– (आश्चर्यचकित हुँदै) तपाईँँहरू कति दार्शनिक कुरा गर्नुहुन्छ ! मैले यात्रा गर्नुअघि कस्तो होला, के देखिएला भनेर निकै सोचेकी थिएँ । तर चार हजारभन्दा माथिको उचाइमा पुगेपछि अर्कै आनन्दले रमाउन थालेँ । यहाँ एक्लै एक्लोपनको आभास हुँदैन ।

प्रदीप– हामी त बाटो देखाउने माध्यम मात्रै हौँ । यो बाटो आफैँमा एउटा खुल्दुलीहरूले खोतलखातल पार्दै प्रकृतिलाई भित्रसम्म पसेर सौन्दर्यपान गर्नुको बेग्लै मिठास हो । यहाँ धैर्य गर्न, साहस र आत्मबल मात्रै बढाउन सक्नुपर्ने हुन्छ ।

IMG_20231103_100312

मैले बुझेको र देखेकै हो, साँच्चै नै, संसारभरिका मान्छे सर्वोच्च शिखरको काखमा जीवन र प्रकृतिलाई भेट्न र बुझ्न किन आउछन् ? यही कौतुहलले सधैँ काउकुती लगाइरहने अनुभवका लागि हो । हिमालको निक्खुर सेतो दिव्यज्योतिमा प्रकृतिको मुस्कान सम्प्रेषित हुन्छ । अनि सबै आगन्तुकहरूमा हर्षका आँसुहरू थाहै नपाई बर्सिन्छन् ।

माया– त्यसैले त हामीलाई आरामदायी बास दिएर तपाईँँहरूको भावना–गङ्गाको अनन्त पदयात्रामा सहयोग गर्न पाउँदा खुशी लाग्छ । यहाँ मनको शान्ति र सुखको उदय हुन्छ, जहाँ आँखालाई शीतल–सौन्दर्यको प्रश्रय हुन्छ ।

एलेक्स (सबैको कुरा खुब ध्यानले सुनिसकेपछि)– यो यात्राले मलाई त्यो भन्दा पनि धेरै दिएको छ । यो कौतुहलमय यात्रा आफैँमा आह्लादमय रहेछ । अब मैले बुझेँ, यो ठाउँ सबैको प्यारो किन छ ?

सोफीले चियाको अन्तिम घुट्को लिइन् । सबैजना हाँस्दै आगोको न्यानोमा गफिन थाले ।

सोफी– (बिहानको घामले चम्किएको हिमालतर्फ हेर्दै) यो दृश्य! हरेक प्रहर, हरेक पल कौतुहलमय हिमाच्छादित प्रकृतिले वशीभूत बनाउँछ । यो त सदावहारजस्तो लाग्छ । हिमाल कहिल्यै बूढो हुँदैन, यसको जीवन सधैँ जवानी !

प्रदीप– एकदमै सही भन्नुभयो, सोफीजी ! तपाईँँको बोलीमा एउटा गम्भीर कुरा थियो– ‘विज्ञानले हामीलाई सोच्न सिकाउँछ, तर प्रकृति र मुस्कानले बाँच्न र हाँस्न सिकाउँछ ।’ यो बाटोमा हिँड्ने हरेक यात्रीको अनुभव यही हो । यहाँ आएपछि मान्छे सोचमग्न हुन्छ, जीवनबोध हुन्छ ।व्यर्थ समय बर्बाद भएको महसुस हुँदैन ।

तेन्जिङ– (भारीको डोरी मिलाउँदै) हो नि, यही हो हाम्रो जीवनको जीवन्त सिलसिला । हामी जति नै दुःखमा भारी बोके पनि, पर्यटकको एउटा मुस्कानमय अनुहार देख्दा मनको भारी हटेर जान्छ । हाम्रो लागि यो सेवा हो, तर त्योभन्दा बढी जीवन–धामको कुरा हो । यही खुशीले नै हाम्रो घरपरिवार धानिरहेको छ ।

तेन्जिङको कुरालाई सबैले निकै चाखले सुनिरहेका थिए । हलुका हाँसो अनुहारमा ल्याउँदै उनले फेरि आफ्नो अनुभव सुनाउन अग्रसर भए– हामी त जब्बर ज्यान भएका मान्छे हौँ । बिहान बूढाखाडादेखि तरुना–तन्नेरीहरूको उत्साही पाइला देख्दा, कति मरिहत्ते गरेर यहाँसम्म आएका छन् भन्ने बुझिन्छ । हामी भारी बोकेर पाहुनालाई खुशी पारी हाँसेको जीवन बाँचिरहेका छौँ र यो नै हाम्रो आनन्द हो ।

एलेक्स– तपाईँँको कुराले प्रकृतिको एउटा गहिरो रहस्य खोलेको छ– ‘प्रकृति कसैको होइन र पनि प्रकृति सबैको हो ।’ यो खुम्बुक्षेत्र प्रकृतिको वरदान हो, जुन कसैको व्यक्तिगत सम्पत्ति होइन, तर सबैले यसलाई माया गर्छन् । यहाँका होटल व्यवसायीहरू यही भावनामा बाह्रै महिना व्यस्त छन् । यो विशुद्ध प्रकृतिले सिँगारिएको परिवेशलाई जोगाउनु यहाँको होटलवालाको मात्र नभएर हाम्रो पनि कर्तव्य हो ।

सोफी– त्यो प्रेम मैले महसुस गरेकी छु । यहाँको चिसो तापक्रममा पनि हिमाल कठोर हुँदैन, मन निष्ठुरी हुँदैन । आत्मैबाट गहिरो मन जोडिएको यो ठाउँबाट फर्केर जाँदा पनि यसको अमर प्रेम र अमर सम्झनाहरू कहिल्यै मेटिने छैनन् । मलाई लाग्छ, यो यात्रा ज्ञान–गरिमाको प्राप्तिका निम्ति एउटा तपस्या र साधना पनि हो ।

प्रदीप– सगरमाथा शिरको शोभा मात्र होइन, सोफीजी । यो त अन्तर्राष्ट्रिय चिनारीको पृथक स्तम्भ हो । यसको विराट धरातलमा उभिएर हेर्दा हरेक यात्री जीवनबोधका गम्भीर चिन्तनमा डुब्न पुग्छ । यसका हरेक दृश्य–दर्शनमा रहस्यका विम्ब–विधानहरू लुकेका छन् ।

एलेक्स– त्यसैले त यहाँ उमेरको हिसाब हुँदैन रहेछ । आश गरेभन्दा राश पाहुनाहरू आइहाल्छन् । कहिले उकालोमा घुँइचो, कहिले ओरालोमा घुँइचो । यो खुम्बुक्षेत्र साँच्चै धरतीको स्वर्ग रहेछ ।

तेन्जिङ– हामी त भाग्यमानी छौँ, जहाँ आँसुमा पनि हाँसो छचल्किएको भेटिन्छ । पर्यटकको प्रफुल्ल मुद्रा–मनहरू देख्दा हाम्रो जिजिविषाले हामीलाई जीवित राखेको छ । हामी चुपचाप टोलाएर पनि छिनमै चञ्चल हुन्छौँ ।

माया– पाहुनाको सेवा गरी बाँचेको जीवन नै हाम्रो खुशीको स्पन्दन हो । यो कौतुहलमय पदयात्राको प्रसिद्ध गन्तव्य सधैँ यसरी नै सकारात्मक ऊर्जाले भरिपूर्ण रहिरहोस् ।

त्यहीबेला उनीहरूका अर्का भरिया पारस थोरै हतास र थकित मुद्रामा भारी बिसाएर त्यहाँ बस्न आइपुगे । ‘हिँड्न सकेन कि ? लेक लागेको त होइन नि ? भन्दै सबैले प्रश्न गरे । एक्लेक्सले झोलाबाट औषधि निकालेर खुवाए । मायाले तातो सुप ल्याएर दिइन् । तेन्जिङ, हिदेकी र सोफी नजिकैको बेन्चमा बसेर हिमाल हेर्दै थिए ।

पारस– (सुप पिउँदै) माया आमा, यहाँको सौन्दर्य त साँच्चै अदभूत छ ! तर यो यात्रा कठिन पनि त कति रहेछ ! मैले पहिलो पटक हिमालको यति नजिकबाट दर्शन गरेको । तर यो चिसो र भारीले ज्यान सिथिल भयो ।

माया– (मायालु मुस्कानका साथ) नडराउनुहोस्, बाबु ! यो ठाउँ चिसिएर बरफ बन्दा पनि न्यानोपनको आभास दिन्छ । तपाईँँलाई न्यानो दिने त यहाँको प्रकृति हो, जसको स्वभाव र स्वरूप कलामय छ । यो यात्रा हिँडाइका साथ मनलाई खुशीका उज्याला रङहरूले लिपपोत गर्ने अवसर हो ।

तेन्जिङ– (पारसलाई हेर्दै) हो त नि ! हामी जस्ता भरिया नभए विदेशी पदयात्रीहरूको अनुहारमा म त्यो कौतुहलको प्रवेश प्रस्ट कहाँ देख्न सक्नु ? यही कौतुकमय गन्तव्यको खोजी त हो यो यात्रा । हामी भरियाहरूलाई यो बाटोको हरेक उकालो थाहा छ, तर हामीलाई पनि हरेक बिहान हिमालको सुनले जलप लगाएको दृश्यले नयाँ ऊर्जा दिन्छ ।

IMG_20231103_114512

सोफी– (उत्साहित हुँदै) हेर्नुहोस् त ! मेरा लागि त्यो संसारकै सर्वोच्च उचाइ थलोमा पाइला चाल्नु भनेको यात्राका सारा सास्तीहरू मेटाउनु थियो ।

पारस– (हिमाललाई ध्यान दिएर हेर्दै) सोफीजी, तपाईँँको कुराले मेरो आत्मबल बढेको छ । मैले यति माथि आइपुगेर बुझेँ, जीवन एकप्रकारले घाम जस्तै रहेछ– छर्लङ्ग र पारदर्शी । यहाँ भ्रम, असत्य र अवसादको कुरा हुँदैन रहेछ ।

तेन्जिङ– बिल्कुल सही ! हामी नेपालीहरू सधैँ पाहुनालाई यही सन्देश दिन्छौँ– यो यात्राले तपाईँँको कौतुहल मेटाउने दृश्य–विम्बहरू मात्र दिँदैन, यसले अन्धकारका विरुद्ध उज्यालो छर्ने प्रेरणा पनि दिन्छ । हरेक पाइलामा धैर्य गर्नु, अनि त्यो प्राकृतिक सौन्दर्यको चुली चुचुरो तपाईँँको आँखाले चुम्न पाउनेछ ।

माया– त्यसैले, चिन्ता नलिनुहोस् बाबु । यहाँ संसारभरिका मान्छे यही सर्वोच्च शिखरको काखमा जीवन र प्रकृतिलाई भेट्न आएका छन् । तपाईँँको आँखाले प्यास अवश्य बुझ्ने छ । आराम गर्नुहोस्, तातो खानुहोस् र भोलिको यात्राको लागि तयार हुनुहोस् !

पारस– (हाँस्दै) धन्यवाद ! तपाईँँहरूको कुरा सुनेर मलाई महसुस भयो, मेरो यो कौतुहलमय पदयात्रा साँच्चै एउटा पृथक पक्ष र पाटो रहेछ । म अब उत्साहित छु !

पदयात्रीहरू जर्‍याकजुरुक्क उठ्दै उत्साहित मुद्रामा आफ्नो बाँकी यात्रा आधार शिविर प्रस्थानका लागि तयारी गर्न लाग्न थाल्छन् । म पनि आफूले पिएको चियाको तीन सय पचास रुपियाँ तिरेर उनीहरूकै पछि लाग्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप