बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

प्रधानमन्त्री उपस्थित नभए विरोध जारी रहन्छ : कांगेस

दुई तिहाइको आडमा प्रधानमन्त्रीले संसद कमजोर बनाएको आरोप
बिहीबार, ३१ वैशाख २०८३, ११ : ३३
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • कांग्रेस सचेतक निश्कल राईले सरकारको नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएमा विपक्षीहरूको विरोध जारी रहने बताएका छन् ।
  • सांसद राईले प्रधानमन्त्री शाह प्रश्नबाट भागेर लोकतन्त्रलाई कमजोर बनाउने काम गरिरहेको बताए ।
  • उनले कार्यकारी प्रमुखले सदन जस्तो संस्थालाई बंक गर्नु दुःखलाग्दो कुरा भएको बताए ।

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र साहले दुई तिहाइ संख्याको आडमा संसदलाई कमजोर बनाउन खोजेको आरोप लगाएको छ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा बोल्दै नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री स्वयंले संसदलाई बेवास्ता गरेर लोकतान्त्रिक मूल्य र संसदीय अभ्यासलाई कमजोर बनाइरहेको बताए।

उनले प्रधानमन्त्री संसदप्रति उत्तरदायी र जिम्मेवार नभएको भन्दै आपत्ति प्रकट गरे। सचेतक राईले सत्तापक्षका सांसद मनिष झाको अभिव्यक्तिलाई उद्धृत गर्दै संसदलाई गुरुकुल र विश्वविद्यालयको संज्ञा दिएका छन्।

तर, अहिले प्रधानमन्त्रीले नै त्यस्तो विश्वविद्यालय समान सदनलाई 'बंक' गर्न थालेको उनको तर्क छ। प्रधानमन्त्री संसद भवनबाट केही सय मिटरको दूरीमा रहेको कार्यालयमा उपस्थित हुँदाहुँदै पनि नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण विषयको छलफलमा अनुपस्थित हुनु दुःखद् भएको उनले बताए। नीति तथा कार्यक्रम देशको आगामी वर्षको प्राथमिकता र कार्ययोजना भएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीकै कारण यसमाथि पर्याप्त छलफल हुन नसकेको दाबी गरे।

राईले प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रका लागि राम्रो नभएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउनु पर्नेमा जोड दिए। उनले भने, ‘सदन एउटा चिया चौतारी होइन, यहाँ मन लागे आउने र मन लागे जाने गर्नुहुन्न। सदन त गुरुकुल र विश्वविद्यालय हुनुपर्छ। तर आज परिस्थिति यस्तो बनेको छ कि स्वयं प्रधानमन्त्रीज्यूले नै यो गुरुकुल र विश्वविद्यालयलाई बङ्क गर्न थाल्नुभएको छ।’

राईले देशको कार्यकारी प्रमुखले सदन जस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु संसदीय अभ्यासप्रतिको उदासीनता भएको बताए। कांग्रेसले प्रधानमन्त्री स्वयं उपस्थित भएर सांसदहरूका गम्भीर प्रश्नको जवाफ दिनुपर्ने माग गरेको छ।

सचेतक राईले संविधानको धारा ७६ (१०) अनुसार प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउन खोजिएको तर सरकारले दुई तिहाइको दम्भ देखाएको बताए। उनले सभामुखसँग प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन रुलिङ गर्न पुनः ध्यानाकर्षण समेत गराएका छन्। राईले थप भने, ‘हामीसँग गम्भीर प्रश्नहरू छन् र ती प्रश्न प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छौँ। तर आज दुई तिहाइ नजिकको संख्याको आडमा संसदलाई नै कमजोर बनाउने प्रयास भइरहेको छ, जुन लोकतन्त्रका लागि शुभ संकेत होइन।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप