इप्पानमा चुनावी सरगर्मी : भ्लोनको नेतृत्वमा प्यानल घोषणा
सारांश
- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ।
- वरिष्ठ उपाध्यक्ष उत्तम लामा भ्लोनको नेतृत्वमा 'इप्पान भिजन २०२९' सार्वजनिक गर्दै प्यानल घोषणा गरिएको छ।
- भ्लोनले ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार, पीपीए खुलाउन र प्रसारण लाइनको समस्या समाधानमा जोड दिएका छन्।
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ।
आगामी जेठ २९ गते हुने साधारण सभाका लागि वर्तमान उपाध्यक्ष उत्तम लामा भ्लोनको नेतृत्वमा प्यानल घोषणा गरिएको हो।
इप्पानको विधान अनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले भ्लोनले वरिष्ठ उपाध्यक्षका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। राजधानीमा आयोजित एक कार्यक्रममा उनले आगामी तीन वर्षे कार्यकालका लागि 'इप्पान भिजन २०२९' सार्वजनिक गर्दै आफ्नो टिम सार्वजनिक गरे।
भ्लोनको प्यानलबाट उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, हिम पाठक, सुसन कर्माचार्य र विक्रम विष्ट रहेका छन्। त्यस्तै, महासचिवमा टीएन आचार्य, उपमहासचिवमा कविता कँडेल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तलाई अघि सारिएको छ। सचिव पदका लागि विजयमोहन भट्टराई, कुवेरमणि नेपाल, सुमन जोशी, शङ्कर बस्याल र अविज्ञा मल्ललाई उम्मेदवार बनाइएको छ भने सदस्यहरूमा अनुप आचार्य, जगतबहादुर पोखरेल, कदम केसी, वर्णन लामिछाने, इसा श्रेष्ठ र प्रतिमा ज्ञवाली रहेका छन्।

भ्लोन नेतृत्वको टिमले सार्वजनिक गरेको 'भिजन २०२९' मा नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउँदै आर्थिक समृद्धिको मुख्य आधारका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाइएको छ। सरकारले १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र यसका लागि ५० खर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक पर्ने भन्दै निजी क्षेत्रको भूमिका निर्णायक हुने भ्लोनले बताए। उनले अहिले रोकिएको १२ हजार मेगावाटभन्दा बढीका आयोजनाहरूको विद्युत् खरिद सम्झौता (पीपीए) खुलाउन र प्रसारण लाइनको समस्या समाधान गर्न पहल गर्ने बताए।
भ्लोनले ऊर्जा क्षेत्रको तीव्र विकासका लागि नीतिगत सुधारको आवश्यकता औँल्याउँदै जलविद्युत् आयोजनाको अनुमतिपत्रको अवधि ३५ वर्षबाट बढाएर ५० वर्ष पुर्याउनुपर्ने माग अघि सारेका छन्। उनको भिजन पत्रमा ऊर्जा क्षेत्रलाई ७ प्रतिशतभन्दा कम ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने र वन, वातावरण तथा प्रशासनिक ढिलाइ अन्त्यका लागि 'एकद्वार प्रणाली' लागू गर्नुपर्ने उल्लेख छ।
भिजन २०२९ सार्वजनिक गर्दै भ्लोनले भनेका छन् ‘नेपालको कुल विद्युत् उत्पादनमा निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा माथि रहेको छ, तर पीपीए, प्रसारण लाइन र नीतिगत अस्पष्टता जस्ता चुनौतीहरू अझै कायम छन्। यी चुनौतीहरूको समाधान नगरी ऊर्जा क्षेत्रको तीव्र विकास सम्भव छैन।’
उनले नेपाललाई दक्षिण एसियाकै ऊर्जा केन्द्र बनाउने लक्ष्यका साथ भारत र बंगलादेशसँग विद्युत् निर्यातका लागि कूटनीतिक पहल गर्ने योजना समेत अघि सारेका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण