शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

वैदेशिक रोजगार विभागको नयाँ व्यवस्था:  पासवर्ड बिर्सिएर लगइन गर्न नपाउने समस्याको समाधान

शुक्रबार, ०१ जेठ २०८३, १८ : २४
शुक्रबार, ०१ जेठ २०८३

सारांश

  • वैदेशिक रोजगार विभागले अनलाइन श्रम स्वीकृति लिने प्रणालीलाई प्रयोगकर्तामैत्री बनाएको छ।
  • अब सेवाग्राहीले पासवर्ड बिर्सिएमा जन्म मिति र राहदानी जारी मिति प्रयोग गरी आफैँले रिसेट गर्न सक्नेछन्।
  • यसका साथै, गन्तव्य मुलुकको कम्पनीको नाम पनि प्रणालीमा आफैँले थप गर्न सकिने सुविधा उपलब्ध गराइएको छ।

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि अनलाइन श्रम स्वीकृति लिने प्रणालीलाई थप सहज र प्रयोगकर्तामैत्री बनाएको छ। 

विभागले शुक्रबार एक सूचना जारी गर्दै सेवाग्राहीका गुनासोहरूलाई सम्बोधन गर्न प्रणालीमा नयाँ फिचरहरू थप गरिएको जानकारी दिएको हो।

विशेष गरी पासवर्ड बिर्सिएर आफ्नो प्रोफाइल लगइन गर्न समस्या भएको भन्ने धेरै गुनासो प्राप्त भएपछि विभागले सेवाग्राही स्वयम्ले आफ्नो विवरण भरेर पासवर्ड रिसेट गर्न सक्ने व्यवस्था मिलाएको छ।

अब सेवाग्राहीले आफ्नो जन्म मिति र राहदानी जारी मिति राखेर सजिलै नयाँ पासवर्ड बनाउन सक्नेछन्। यसअघि पासवर्ड रिसेट गर्न विभागमै धाउनुपर्ने वा झन्झटिलो प्रक्रिया पुरा गर्नुपर्ने बाध्यता थियो। 

यसैगरी सेवाग्राहीको सुविधाका लागि गन्तव्य मुलुकको कम्पनीको नाम समेत प्रणालीमा आफैँले थप गर्न सकिने सुविधा उपलब्ध गराइएको छ। कम्पनीको नाम थप गर्दा आफ्नो वैदेशिक रोजगारी सम्बन्धी आधिकारिक कागजातमा भएको नाम मात्र प्रविष्ट गर्न विभागले अनुरोध गरेको छ।

विभागले आफ्नो प्रोफाइलको सुरक्षाका लागि विशेष सतर्कता अपनाउन समेत आग्रह गरेको छ।

आफ्नो राहदानीको फोटो अरू कोही कसैलाई उपलब्ध नगराउन सचेत गराउँदै विभागले व्यक्तिगत विवरणको सुरक्षामा ध्यान दिन भनेको छ। 

अनलाइन श्रम स्वीकृतिका लागि पोर्टल सञ्चालनमा रहेको र थप जानकारीका लागि विभागको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

698271519_1279750807682699_8544036907052318675_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप