योग्यता प्रमाणित गरिरहनुपर्ने भए सन् २०२७ को विश्वकप खेल्दिनँ : कोहली
सारांश
- विराट कोहलीले टोलीमा आफ्नो योग्यता प्रमाणित गरिरहनुपर्ने अवस्था आएमा आफू सन् २०२७ को एकदिवसीय विश्वकपमा नदेखिने बताएका छन्।
- उनले आफू आबद्ध रहेको वातावरणमा योगदान दिन सक्छु र त्यहाँका मानिसहरूलाई पनि मबाट योगदान पुग्छ भन्ने लागेमा खेल्ने तर योग्यता प्रमाणित गर्नुपरे नखेल्ने बताए।
- कोहलीले हालसम्म ३११ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् र १४,७९७ रन बनाएका छन्।
नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका स्टार ब्याटर विराट कोहलीले टोलीमा आफ्नो योग्यता प्रमाणित गरिरहनुपर्ने अवस्था आएमा आफू सन् २०२७ को एकदिवसीय विश्वकपमा नदेखिने बताएका छन्।
पूर्व कप्तान कोहलीलाई इतिहासकै महान् एकदिवसीय ब्याटरहरूमध्ये एक मानिन्छ। उनी सन् २०११ मा विश्वकप जित्ने भारतीय टोलीको सदस्य हुनुका साथै गत वर्षको च्याम्पियन्स ट्रफीको सफलतामा पनि मुख्य भूमिकामा थिए।
३७ वर्षीय कोहलीले भारतको टेस्ट र टी-२० टोलीबाट सन्यास लिइसकेका भए पनि एकदिवसीय टोलीमा भने उनी अझै सक्रिय छन्। आगामी विश्वकपको प्रसङ्ग चल्दा कोहलीले आरसीबी पोडकास्टसँग कुरा गर्दै भने, ‘यदि मैले आफू आबद्ध रहेको वातावरणमा योगदान दिन सक्छु र त्यहाँका मानिसहरूलाई पनि मबाट योगदान पुग्छ भन्ने लाग्छ भने म खेल्नेछु।’
उनले अगाडि थपे, ‘तर यदि मलाई मेरो योग्यता र मूल्य प्रमाणित गर्नुपर्छ जस्तो भान गराइयो भने, म त्यो स्थानमा रहने छैन।’
आफूले मैदानमा सधैँ कडा मितेनत गर्ने उल्लेख गर्दै कोहलीले भने, ‘जब म खेल्न आउँछु, टाउको निहुराएर अरू सरह वा त्योभन्दा बढी कडा मिहिनेत गर्छु र सही तरिकाले खेल खेल्छु। एकदिवसीय खेलमा ४० ओभरसम्म बाउन्ड्रीदेखि बाउन्ड्रीसम्म दौडिनुपर्छ भने पनि म विना कुनै गुनासो त्यसो गर्नेछु किनकि म सोही अनुसार तयारी गर्छु।’
आफ्नो खेलप्रतिको प्रतिबद्धता स्पष्ट पार्दै कोहलीले भने, ‘म करियरकै अन्तिम बल खेलिरहेको छु जस्तो गरी ५० ओभरको प्रत्येक बलमा फिल्डिङ गर्न तयार हुन्छु। म त्यसरी नै ब्याटिङ गर्छु, विकेटका बिचमा त्यसरी नै दौडिन्छु र टोलीका लागि सम्भव भएसम्म सबै कुरा गर्छु। यसरी काम गर्दागर्दै पनि यदि मैले आफ्नो योग्यता प्रमाणित गरिरहनुपर्ने ठाउँमा बस्नुपर्छ भने त्यो ठाउँ मेरा लागि होइन। यस दृष्टिकोणबाट म आफ्नो दिमागमा एकदमै प्रस्ट छु।’
कोहलीले हालसम्म ३११ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। ५८.७१ को औसतमा १४,७९७ रन बनाएका कोहलीभन्दा बढी रन सचिन तेन्दुलकर (१८,४२६) को मात्रै छ।
लक्ष्य पछ्याउन माहिर मानिने यी दाहिने हाते ब्याटरको औसत खेलको दोस्रो इनिङ्समा बढेर ६५.७८ पुग्छ। सन् २०२७ को विश्वकप आयोजना हुन लागेको दक्षिण अफ्रिकामा उनको प्रदर्शन अझ उत्कृष्ट छ, जहाँ उनले २० एकदिवसीय खेलमा ७६.३८ को औसतले रन बनाएका छन्।
अन्तर्वार्ताका क्रममा कोहलीले केही मानिसहरूले आफ्नो लागि परिस्थिति ‘जटिल बनाउने प्रयास गरिरहेको’ बताए पनि उनले कसैको नाम भने तोकेनन्। कोहलीले भने, ‘हेर्नुस्, यदि तपाईं आफ्नो कार्यस्थलमा जानुहुन्छ र मानिसहरूले तपाईंको क्षमतामा विश्वास गर्छौँ भन्छन्, अनि त्यसको एक हप्तापछि तपाईंको काम गर्ने तरिकामाथि नै प्रश्न उठाउन थाल्छन् भने त्यस्तो किन गरिन्छ?’
उनले आक्रोश पोख्दै अगाडि थपे, ‘कि त मलाई पहिलो दिनमै भनिदिनुस् कि म योग्य छैन वा मेरो आवश्यकता छैन। होइन भने, यदि तपाईंले म योग्य छु भन्नुभएको छ र हामी अरू केही सोचिरहेका छैनौँ भन्नुहुन्छ भने चुप लाग्नुस्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण