८० वर्षीय किर्तबहादुरलाई भैँसीगोठ नै रमाइलो
म्याग्दी । बुढ्यौलीसँगै गाला चाउरी पर्न र शरीर कुप्रन थाले पनि धवलागिरि गाउँपालिका–४ बगरका ८० वर्षीय किर्तबहादुर घर्तीलाई भैँसीगोठ छोड्न मन लागेको छैन।
समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको दोभानको चरन खर्कमा चरिरहेका भैँसीहरूको गतिविधि नियालेर बसेको अवस्थामा भेटिए । रूखबाट लडेर शरीरमा परेको चोटका कारण ठाडो उभिन गाह्रो हुन थाले पनि छ दशकदेखिको भैँसीगोठको सम्बन्धबाट किर्तबहादुरलाई टाढिन नचाहेको सुनाए।
“तन घरमा भए पनि मन भने भैँसीसँगै वनपाखा गरिरहेको हुन्छ,” किर्तबहादुरले भने, “माइला छोरालाई गोठ जिम्मा लगाए पनि गोठ बस्न छाडेको छैन् ।” बुबाआमासँगै गोठमै हुर्किएका किर्तबहादुर आठ वर्षको हुँदादेखि जङ्गल पसेका थिए ।
“अहिले विदेशमा गएको जस्तै थियो त्यसबेला गोठमा जानु भनेको,” उनले भने, “झरिबादल नभनी लेक र बेँशीका भिरपहरा, जङ्गलमा गोठ सार्ने हामीहरू हिउँदमा गाउँ नजिकको खेतबारीमा आउँदा मात्रै घरपरिवारसँग भेट हुन्थ्यो । बर्खामा तीन चार महिना कसैसँग सम्पर्क हुँदैनथ्यो ।”
पोषिलो घाँस पाइने भएकाले भैँसीहरू पाँच हजार मिटर उचाइका बुकीमा चरनका लागि आफैँ पुग्ने गरेको अनुभव किर्तबहादुरले सुनाए । स्थानीय लिमे पारकोटे जातका दुई वटाबाट सुरु भएको किर्तबहादुरको गोठमा भैँसीको सङ्ख्या २५ भन्दा कम कहिल्यै भएनन् । दुहुना भैँसी, पाडापाडी, राँगो र घिउ बेचेर छ जना छोराछोरी हुर्काएको, उनीहरूलाई पढाएको र घरव्यवहार चलाएको किर्तबहादुरले बताए।
वार्षिक १० देखि १५ वटासम्म राँगाभैँसी र २०० लिटरको हाराहारीमा घिउ बिक्री हुने गरेको थियो । बर्खामा धौलागिरि हिमालको फेदीमा रहेको कुनावनमा पुग्ने भैँसीगोठ हिउँदमा बगर गाउँ वरपरका पाखामा झर्छन् । मथेनी, मैरै र कुनावन भैँसीखर्क हुन् । परिवारका सदस्यले समय समयमा गोठमा चाहिने अन्न, नुन र तेल ल्याइदिने गर्दथे ।
टुसा, च्याउ र ढकायोको साग गोठमा धेरै पाक्ने तरकारीका परिकार हुन् । भोटे कुकुरले गोठ रुघेर सुरक्षा दिन्थ्ये । महिनौँसम्म जङ्गलमा एक्लै हुँदा रेडियो सुनेर मनोरञ्जन र सूचना तथा जानकारी लिने गरेको उनले सुनाए । चरनका लागि जङ्गल जान नसक्ने पाडापाडीलाई घाँस जुटाउन, दूध दुहुन, चरनका लागि गएका भैँसी खोज्न एक्लै भौँतारिँदा दिन बितेको पत्तै हुँदैनथ्यो।
झरीबादल र हिमपातको समय गोठालाहरूका लागि चुनौतीपूर्ण हुन्छ । लेकमा आकाश खुल्दा र घाँस प्रशस्त हुँदा नजिकका गोठालाहरू भेटघाट गरेर रमाउँछन् । “मेरो बाल्यकालमा गाईभैँसीको गोठ नहुने घरै हुँदैनथे,” किर्तबहादुरले भने, “अहिले भएका दुई/चार वटा गोठहरू पनि हामी वृद्धहरूले छाडेपछि हराउने अवस्था छ ।”
भैँसीपालनमा ६ दशक बिताएका उनले पछिल्लो समय बाझिएका गाउँबस्ती नजिकका खेतीयोग्य जमिनमा घाँस खेती गरेर व्यवस्थित रूपमा पशुपालन गरेमा काम खोज्दै विदेशमा भौँतारिनु नपर्ने सुझाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण