मदन भण्डारीको अन्तिम सम्बोधन
सारांश
- मदन भण्डारीले पोखरामा भएको नेकपा (एमाले)को तेस्रो जिल्ला अधिवेशनमा पार्टीका नीति, विचार र देशको विद्यमान परिस्थितिका बारेमा चर्चा गरेका छन् ।
- उनले पञ्चायती व्यवस्थाको अन्त्यपछि राज्यसत्तामा आएका राजनीतिक पार्टीहरूले जनताको हित गर्नुपर्ने र पार्टीहरू प्रजातान्त्रिक हुनुपर्नेमा जोड दिए ।
- भण्डारीले नेपाली कांग्रेसको आलोचना गर्दै टनकपुर लगायतका राष्ट्रिय हितका विषयमा सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् ।
नयाँ जीवन र समृद्धिको प्रतिनिधित्वपछि लामो समयदेखि अथक सङ्घर्ष गर्दै आउनु भएका कास्कीका आदरणीय दाजुभाइ, दिदीबहिनीहरू, म नेकपा (एमाले) को केन्द्रीय कमिटीको तर्फबाट र व्यक्तिगत रूपमा समेत यहाँहरूप्रति हार्दिक क्रान्तिकारी अभिवादन व्यक्त गर्दछु ।
यस समारोहका सभापति कमरेड, उपस्थित अतिथि कमरेडहरू, विभिन्न राजनैतिक पार्टीबाट यो तेस्रो जिल्ला अधिवेशनको उद्घाटन समारोहमा भाग लिन पाल्नुभएका प्रतिनिधि मित्रहरू, पत्रकार साथीहरू, यस जिल्ला अधिवेशनका प्रतिनिधि कमरेडहरू र यहाँ उपस्थित आदरणीय दाजुभाइ दिदीबहिनीहरू ।
पोखरा नगरीमा नेकपा (एमाले)को तेस्रो जिल्ला अधिवेशन हुँदै छ । यो अधिवेशनमा यत्रो ठुलो सङ्ख्यामा उपस्थित हुनुभएका यहाँहरूलाई साक्षी राखेर हामी हाम्रो पार्टीका नीति, विचारहरू, देशको विद्यमान परिस्थिति सम्बन्धमा हाम्रा सोच र तर्कहरू राखिरहेका छौँ । यो अधिवेशनले जिल्लाको भूराजनैतिक परिस्थिति, यहाँको वास्तविक समस्या, शोषण र जनताले भोग्नु परेका अप्ठेराका बारेमा चर्चा गर्ने मनसुवा राखेको र उपायहरूको खोजी गर्ने चाहना व्यक्त गरेकै हुनु पर्दछ ।
पञ्चायती व्यवस्थाको अन्त्य पश्चात् देशको राज्यसत्ता चलाउने बागडोर राजनैतिक पार्टीको हातमा आएकोछ । मुलुकको राजनैतिक पार्टीले कुन ढङ्गले मुलुकलाई नयाँ जीवन दिन सक्छ र शोषण उत्पीडनलाई कसरी कम पार्न सक्छ भन्ने कुराको पृष्ठभूमिमा राजनैतिक पार्टीका विचारहरू, सोचहरू आम जनता र राष्ट्रको हित अनुकूलका छन् कि छैनन्, ती कार्यक्रम र विचारहरू जनताको हित गर्ने खालका छन् कि छैनन् भन्ने कुरामा जनताको जागरुकता अब पहिलेभन्दा बढी हुनु पर्दछ ।
आदरणीय दाजुभाइ दिदीबहिनीहरू, राजनैतिक पार्टीको जीवनमा त्यसको जीवनशैली प्रजातान्त्रिक छ कि छैन भन्ने कुरा स्पष्ट पार्न संविधानमा राजनैतिक पार्टीहरूको अधिवेशन, सम्मेलन या सर्वोच्च निकायको आवधिक या पटक–पटक निर्वाचन हुनुपर्ने कुरा उल्लेख भएको छ । त्यसले गर्दा कतिपय पार्टीलाई कठिनाई परेको छ भने केही पार्टीको जीवनशैली नै प्रजातान्त्रिक भएको हुँदा त्यो प्रावधान त्यस्ता पार्टीको लागि अनुकूल भएको छ ।
म पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनले पारित गरेका केही कुरा यहाँहरू समक्ष राख्न चाहन्छु । महाधिवेशनपूर्व हामीले विभिन्न ठाउँबाट तपाईंहरूलाई साक्षी राखेर हाम्रो पार्टीमा आएका सोच र तर्कहरूका बारेमा छलफल गरेका थियौँ । विरोधीहरू र आलोचकहरूका कुरा सुनेका थियौँ । त्यसको तात्पर्य यही नै थियो कि हामी कुनै पनि कुरा गुपचुप राखेर कुनै निजी स्वार्थवश कुनै निर्णय लिने पक्षमा थिएनौँ । हामी यो देशका जनताको समस्या सुनिश्चित र सुस्पष्ट रूपले निरुपण गर्न चाहन्थ्यौँ । यो राष्ट्रको स्वाधीनता कायम गर्न चाहन्थ्यौँ । यी सबै कुराको निम्ति नै हाम्रो पार्टीभित्र विभिन्न सोच र विचारहरू उत्पन्न भएका थिए ।
केही महिना पहिले पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनले जनताको, कार्यकर्ताको र पार्टी समर्थकहरू तथा विरोधीको समेत सुझाव अनुसार जनताको बहुदलीय जनवाद नामको कार्यक्रम पास गरेको थियो । मेरो भनाइको तात्पर्य यो हो कि हामी हरदम व्यापक जनताको बिचमा निर्भिकतापूर्वक आफ्नो कुरा राख्न सक्छौँ । र, यसरी जनताबाट सुझाव लिन चाहन्छौँ । जब कि नेपाली कांग्रेसले आफ्नो महाधिवेशन त ग¥यो, तर कुनै कार्यक्रम पास गरेन र यो देशको समस्या, अप्ठेराहरू हल गर्ने कार्यक्रम के–कस्तो हुनुपर्छ भनी कुनै बृद्धिजीवीसँग छलफल पनि गरेन । संविधानमा स्पष्टसँग राजनैतिक पार्टीको जीवनशैली प्रजातान्त्रिक हुनुपर्छ भनिएको छ । तर कांग्रेसले संविधानको यो भनाइलाई आत्मसात् गरेन । तसर्थ म पुनः दोहो¥याउन चाहन्छु, हामी अरु कुनै पार्टीभन्दा बढी प्रजातान्त्रिक र संविधानप्रति प्रतिबद्ध छौँ ।
मैले स्टार टी.भी.मा समाचार हेरेको थिएँ, त्यहाँ एल्तसिन माफिया हो, एल्तसिन राजीनामा देउ, एल्तसिनले राष्ट्रघात गयो भनेर लाखौँ जनता सडकमा उत्रेको दृश्य देखाइएको थियो ।
यहाँहरूलाई थाहै छ, सोभियत संघ भनेको विश्वलाई थर्कमान पार्ने राष्ट्र थियो । हिजो विश्वभरका जनता र अन्य मुलुकहरू कुनै पनि कुरामा अमेरिकाको के हालत छ, रुसको के दृष्टिकोण छ भन्ने कुरा जान्न चाहन्थे, तर रुसको अहिले के हालत छ ? अहिले सोभियत युवतीहरू अमेरिकी युवाहरूलाई मन पराउँछन् भन्ने पश्चिमा समाचारपत्र र माध्यमहरू प्रचार गर्दैछन् । वास्तवमा यो लज्जाको विषय हो । पहिला रुसमा रुवलको मूल्य डलरभन्दा बढी थियो भने अहिले डलरको दाँजोमा रुवल २००० गुणा तल खसेको छ । पहिला २०० रुवल पेन्सन पाउनेले १ किलो गोलभेडाको सस किन्दा ३०० रुवल तिर्नुपर्छ । आज एल्तसिन महाराजले रुसी जनतालाई स्वर्गीय राज्यको अनुभूति दिलाउन ल्याएको शासनले के गरेको छ ? आज एल्तसिनले ल्याएको पुँजीवादी व्यवस्था उल्टिन्छ कि भनेर खरबौँ डलर खर्च गरिएको छ । बाहिरबाट थुपारिएको डलरले जनताको आँसु पुछ्न खोजिएको छ, तर त्यस देशका नागरिकहरू चुप लागेर बसेको होइन, जागरुक बनेर उठेका छन् र एल्तसिन महाराजको पतन अवश्यंभावी छ ।
प्रिय कमरेडहरू, हामी पहाड फोरेर पारीपट्टी गई पानीमाथि एउटा डुंगामा बस्दा त्यहाँ बस्नमा कसैलाई पनि पक्षपात गर्दैनौँ वा हामीले देउराली पारी चौतारीमा बसेर सबैलाई बराबरी बाँड्छौँ अर्थात् नयाँ जनवादी व्यवस्थामा पनि बहुदलीयता र जनताको राजनैतिक स्वतन्त्रता दिन्छौँ भन्दैमा हामीले एउटा खुड्किलो पारै नगरीकन, लडाइँ नलडिकन खुट्टा लुलो पारेको भन्ने आरोप हामीलाई लगाइन थालेको छ । मलाई लाग्छ, यो बुझेर हैन, नबुझिकन फैलाइएको भ्रान्ति हो । हाम्रो पार्टीले बहुदलीय जनवादलाई छोडिएको भए, चुनाव बहिष्कार गरेको भए, संसदीय गतिविधिमा भाग लिन्नँ भनेर भनेको भए दन्दनाएर आन्दोलन हुन्थ्यो भन्ने कसै–कसैलाई मात्र लागेको हुनसक्छ ।
कमरेडहरू, आन्दोलन कसैको मुख हेरेर हुँदैन । उदाहरणको निम्ति क. मोहन विक्रम सिंहले नेतृत्त्व गर्नुभएको मसाल समूहले संसदीय व्यवस्था बहिष्कार गर्छु भनेको छ, तर वहाँहरूले भनेजस्तो क्रान्ति किन हुन सकेको छैन ? यत्रो वर्षसम्म क्रान्तिको कुरा गरेर पनि किन क्रान्ति सुरुवात हुँदैन ? कतै हामी मार्क्सवादको सिर्जनात्मक अध्ययन र प्रयोग नगरीकन मात्र कठमुल्लावादी भएकाले त यस्तो भएको होइन ? सोच्नु पर्ने आजको ज्वलन्त सवाल भनेको यही नै हो ।
नेकपा (एमाले)ले प्रतिपक्षमा रहेर केही काम गरेको छ । यद्यपि त्यो सन्तोष गर्ने खालको नहुन पनि सक्छ, तर यतिकै आधारमा गर्नुपर्ने जति काम पनि गरेनौँ भनेर हामीले लम्पसार पर्नुपर्ने विगार पनि पार्टीले गरेको छैन । बरु प्रतिपक्षले के गर्न सक्छ र उसको के भूमिका हुन्छ भन्ने बारेमा जनताको बिचमा छलफल हुनु आवश्यक छ ।
गिरिजाले अहिले जे जसरी सरकार चलाउनु भएको छ, त्यो आन्तरिक र बाहिरी दुवै तरिकाले फेल भएको छ । उहाँले राष्ट्रिय हितमा आघात गर्ने र प्रजातन्त्रलाई समेत आघात पार्ने काम गर्नुभएको छ । टनकपुरको सवालमा मात्र हैन, सिङ्गो नेपालको जलस्रोतको सवालमा उहाँले गर्नुभएको ज्यादति यसको नमूना हो । हाम्रो राष्ट्रवादी अडानलाई लिएर गिरिजा र गिरिजा पन्थीहरू एमाले विकास विरोधी भन्ने प्रचार गरिरहेका छन् ।
टनकपुरका सवालमा गिरिजाले जबर्जस्ती गर्न खोज्दा गणेशमानजीले पत्र लेख्नुभयो, त्यसनिम्ति उहाँलाई धन्यवाद दिनैपर्छ । गिरिजाले गरेको राष्ट्र र प्रजातन्त्रमाथिका घातलाई क्षमा दिन सकिन्न । यो सरकारलाई फाल्नैपर्छ, गणेशमानजीले पनि सरकार फेर्नुपर्छ भन्नु भएकोमा धन्यवाद दिन चाहन्छु । गणेशमानजी र गिरिजाबिचको युद्धमा पनि गणेशमानतिर ढल्कनु भएका कृष्णप्रसाद भट्टराईलाई पनि धन्यवाद दिनैपर्छ । राष्ट्रहित गर्ने, जनताको हित गर्ने र मुलुकको निम्ति योगदान गर्नेहरूप्रति विनाकुनै पूर्वाग्रह हाम्रो सम्मान छ, आदरभाव छ । त्यस्ता व्यक्तित्वहरूलाई उपयोग गर्नैपर्छ ।
(मदन भण्डारीले ०५० जेठ २ गते एमाले कास्की जिल्ला अधिवेशनलाई गरेको सम्बोधन । सौजन्य : मदन भण्डारी संकलित रचनाहरू भाग–१)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण