मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
घरजग्गा कारोबारमा सुधार

जग्गा किनबेच बढ्यो, नयाँ ऋण लिनेभन्दा तिर्ने धेरै

उपत्यकाबाहिर मोफसलमा बढी आकर्षण
आइतबार, ०३ जेठ २०८३, १७ : ००
आइतबार, ०३ जेठ २०८३

सारांश

  • गत वर्षको वैशाखको तुलनामा यस वर्षको वैशाखमा देशभर घरजग्गा कारोबारमा १७.७० प्रतिशतले वृद्धि भएको छ।
  • यस वर्ष जग्गाको किनबेचमा १२.३४ प्रतिशतले वृद्धि भएको छ, जसको मुख्य कारण आर्थिक शिथिलता कम हुनु, बैंकमा तरलता सहज हुनु, ब्याजदर घट्नु र सरकारको खुकुलो कित्ताकाट नीति हो।
  • घरजग्गा कारोबार बढे पनि नयाँ ऋण लिने क्रम नबढेको तर बैंकको ऋण तिरेर जग्गा फुकुवा गर्ने दर भने २०.१५ प्रतिशतले बढेको छ।

काठमाडौँ । लामो समयदेखि मन्दीको सामना गरिरहेको नेपालको घरजग्गा कारोबारमा सुधारको संकेत देखिएको छ। देशभरका भूमि प्रशासन कार्यालयहरूको तथ्यांकले गत वर्षको वैशाख महिनाको तुलनामा यस वर्षको वैशाखमा समग्र घरजग्गा कारोबारमा उत्साहजनक वृद्धि देखाएको हो।

गत वर्षको वैशाख महिनामा देशभर कुल १ लाख ४४ हजार मात्र कारोबार भएकोमा यस वर्षको सोही अवधिमा उक्त संख्या बढेर १ लाख ६९ हजार पुगेको छ। समग्रमा देशभरका मालपोत कार्यालयहरूको सेवा प्रवाह र कुल कारोबारमा करिब १७.७० प्रतिशतले वृद्धि भएको छ।

घरजग्गा कारोबारको प्रमुख सूचक लिखत पारित अर्थात् जग्गाको किनबेच हो। यस वर्ष लिखत पारितको संख्यामा पनि उल्लेखनीय सुधार आएको छ। गत वर्षको वैशाख महिनामा देशभर ५२ हजार ४१५ वटा लिखत पारित भएकोमा यस वर्ष सोही अवधिमा ५८ हजार ८८६ वटा लिखत पारित भएका छन्।

यो तथ्यांकलाई हेर्दा वास्तविक जग्गाको किनबेचमा १२.३४ प्रतिशतले वृद्धि भएको छ। आर्थिक शिथिलता कम हुँदै गएको, बैंक तथा वित्तीय संस्थामा तरलता सहज रहेको, ब्याजदरमा पनि कमी आएको र सरकारले कित्ताकाटमा केही खुकुलो नीति लिएका कारण लगानीकर्ता तथा सर्वसाधारण पुनः घरजग्गा खरिदबिक्रीमा आकर्षित हुन थालेका हुन्।

  • मोफसलमा बढी कारोबार, सबैभन्दा धेरै दाङमा

यस वर्षको वैशाखमा संघीय राजधानी काठमाडौं उपत्यकाभन्दा बाहिरका मोफसलका मुख्य सहरहरूमा घरजग्गा किनबेचको लहर बढी चलेको छ।

वास्तविक खरिदबिक्रीमा सबैभन्दा ठूलो वृद्धि दाङ जिल्लामा देखिएको छ। दाङको तुलसीपुर र घोराही मालपोत कार्यालयमा अघिल्लो वर्षको तुलनामा किनबेच ह्वात्तै बढेको छ। त्यसैगरी सुदूरपश्चिम प्रदेशको प्रमुख सहर कैलालीको धनगढी, कोशी प्रदेशको झापास्थित भद्रपुर र लुम्बिनी प्रदेशको रुपन्देहीस्थित बुटवलमा पनि घरजग्गा कारोबारमा उच्च वृद्धि भएको छ।

काठमाडौं उपत्यकाभित्र भने भक्तपुर र ललितपुरको लगनखेलमा खरिदबिक्रीको आकर्षण सबैभन्दा धेरै बढेको तथ्यांकले देखाएको छ।

  • ऋण प्रवाहमा देखिएन सुधार

कारोबार रकम बढे पनि घरजग्गा धितोमा लिइने ऋणमा भने अपेक्षित सुधार आएको छैन। यो अवधिमा रोक्काभन्दा फुकुवा गर्नेको संख्या धेरै हुनुले यस्तो अवस्थालाई इंगित गरेको हो।

गत वर्ष ३५ हजार ८६५ वटा रोक्का भएकोमा यस वर्ष ३५ हजार ९९४ वटा रोक्का भएका छन्। यसले मानिसहरूले नयाँ ऋण लिने क्रम धेरै नबढाएको देखाउँछ। तर, बैंकको ऋण तिरेर जग्गा फुकुवा गर्ने दर भने २०.१५ प्रतिशतले बढेको छ। गत वर्ष ३० हजार १०१ वटा फुकुवा भएकोमा यस वर्ष बढेर ३६ हजार १६९ वटा पुगेका छन्।

  • जेनजी आन्दोलनले स्रेस्ता अद्यावधिकमा चाप

किनबेच र आर्थिक कारोबारबाहेक मालपोत कार्यालयहरूमा हुने प्रशासनिक र स्रेस्ता अद्यावधिकका काममा पनि यस वर्ष अत्यधिक चाप देखिएको छ। विशेषगरी जग्गाको विवरण सच्याउने अर्थात् संशोधन गर्ने काममा १०२.४४ प्रतिशतको उच्च वृद्धि भएको छ।

गत वर्ष देशभर ९ हजार ८८४ वटा मात्र संशोधन भएकोमा यस वर्ष बढेर २० हजार १० पुगेको छ। त्यसैगरी हाल साविक गर्ने प्रक्रिया पनि ४०.२५ प्रतिशतले बढेको छ भने प्रतिलिपि निकाल्ने काममा पनि २८.९४ प्रतिशतले वृद्धि भएको छ।

गत वर्ष जेनजी आन्दोलनमा क्षति पुगेका कारण यस्तै प्रशासनिक कामले गर्दा कुल कारोबारको संख्यामा उछाल आएको छ। बाँकेको नेपालगन्ज र काठमाडौंको कलंकी मालपोत कार्यालय यसका मुख्य उदाहरण हुन्।

नेपालगन्जमा गत वर्ष संशोधनका काम जम्मा ५८ वटा मात्र भएकोमा यस वर्ष ४ हजार ८३४ वटा भएका छन्। त्यसैगरी कलंकीमा पनि गत वर्ष १०१ संशोधन भएकोमा यस वर्ष २ हजार ७२७ पुगेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप