बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय ब्राण्ड एक्युरको ‘ट्राइब’ अब बुढानीलकण्ठमा

आइतबार, ०३ जेठ २०८३, २१ : ०६
आइतबार, ०३ जेठ २०८३

सारांश

  • विश्वप्रसिद्ध होटल समूह 'एक्युर' अन्तर्गतको आधुनिक लाइफस्टाइल ब्राण्ड 'ट्राइब' अब काठमाडौंको बुढानीलकण्ठमा सञ्चालनमा आउने भएको छ।
  • दक्षिण एशियामै पहिलो पटक नेपालमा भित्रिन लागेको यो ब्राण्डलाई होटल सब्रिना लिमिटेडले साझेदारीमा विकास गर्न लागेको हो।
  • सन् २०२९ सम्ममा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको यस होटलमा १०० भन्दा बढी कोठासहित अन्तर्राष्ट्रिय स्तरको रेष्टुरेन्ट, बार, स्वीमिङ पुल, स्पा, फिटनेस सेन्टर र इभेन्ट स्पेस रहनेछ।

काठमाडौँ । विश्वप्रसिद्ध होटल समूह 'एक्युर' अन्तर्गतको आधुनिक लाइफस्टाइल ब्राण्ड ‘ट्राइब’ अब काठमाडौंको बुढानीलकण्ठमा सञ्चालनमा आउने भएको छ। 

दक्षिण एशियामै पहिलो पटक नेपालमा भित्रिन लागेको यो ब्राण्डलाई होटल सब्रिना लिमिटेडले साझेदारीमा विकास गर्न लागेको हो।

यस परियोजनाका लागि होटल सब्रिना लिमिटेड र एक्युर समूहबीच होटल निर्माण तथा सञ्चालनसम्बन्धी औपचारिक सम्झौतामा हस्ताक्षर भइसकेको छ। सन् २०२९ सम्ममा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको यस होटलको नेतृत्व होटल सब्रिना लिमिटेडका अध्यक्ष निराजन थापाले गरिरहेका छन्।

नेपालको पर्यटन क्षेत्रलाई विश्वस्तरीय बनाउने उद्देश्यका साथ यो परियोजना अघि बढाइएको अध्यक्ष थापाले बताए। 'नेपाललाई गुणस्तरीय पर्यटनको केन्द्र बनाउनुपर्छ भन्ने उद्देश्यले हामीले ट्राइबजस्तो अन्तर्राष्ट्रिय ब्राण्ड ल्याएका हौँ,' अध्यक्ष थापाले भने, 'अहिलेका पर्यटकहरू केवल बस्ने होटल होइन, नयाँ अनुभव खोजिरहेका छन्। आधुनिक डिजाइन र अन्तर्राष्ट्रिय स्तरको सेवा चाहने नयाँ पुस्तालाई लक्षित गर्दै हामीले यो अवधारणा ल्याएका हौँ।'
परियोजनामा होटल सब्रिनाका संचालकहरूको सक्रिय भूमिका रहेको छ। होटलकी निर्देशक स्मृति पालिखेले नेपालको आर्थिक विकासका लागि पर्यटन क्षेत्रमा निजी क्षेत्रको लगानी अपरिहार्य रहेको बताइन्। 

उनले भनिन्, 'नेपालमा अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार विकास गर्न सके पर्यटकको बसाइ अवधि र खर्च दुवै बढाउन सकिन्छ। अब केवल पर्यटक भित्र्याउने मात्र होइन, उनीहरूलाई गुणस्तरीय अनुभव दिने समय आएको छ।'
त्यस्तै, अर्की निर्देशक सन्जिता गुरुङ थापाले बदलिँदो पर्यटकीय चाहनालाई सम्बोधन गर्न आधुनिक आतिथ्य सेवामा लगानी गरिएको बताइन्। 
निर्माण सम्पन्न भएपछि होटलमा १०० भन्दा बढी आधुनिक कोठाहरू रहनेछन्। साथै, जहाँ अन्तर्राष्ट्रिय स्तरको रेष्टुरेन्ट, विशेष बार, स्वीमिङ पुल, स्पा, फिटनेस सेन्टर र करिब ८०० वर्गमिटर क्षमताको इभेन्ट स्पेस रहने जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप